स्वर्गभूमिलाई मृत्युभूमि नबनाऔँ

चुरेको महाविनाश भई मन विक्षिप्त हुने देशभक्तहरूको एउटा भनाइ छ, ‘पूर्व–पश्चिम राजमार्ग अहिलेको स्थानभन्दा २० किलोमिटर दक्षिणमा बनाइएको भए चुरेको वनक्षेत्र मासिने थिएन  । ’ यतिबेला सो भनाइ सान्दर्भिक सावित भएको छ  ।

भारतीय सीमा नजिकवाट सो सडक निर्माण हुँदा पहाडबाट झर्नेहरूको वनमाथिको पहुँच न्यून हुने, मिश्रित वस्तीबाट तराईमा विकासको गति बढ्ने, सामाजिक सद्भाव भड्काउनेहरू निरुत्साहित हुने, भारतीय सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नहुने सन्दर्भ नकार्न सकिंँदैन– जुन कुरा अब कल्पनामात्र बनेको छ । अब चुरे विनाशका कारण तराई क्षेत्र मरुभूमिमा परिणत हुने खतरा बढेको छ भने पूर्व–पश्चिम राजमार्गबाट यात्रा गर्दा चुरेको कुरूप दृश्यबाट मन खिन्न नपार्ने कोही देखिंँदैनन् । यता केही वर्षदेखि हिमाल, पहाड, तराई सर्वत्र प्राकृतिक विनाशको होडबाजी चलेको छ । मुलुकको पहिचान मेटिनेगरी विध्वंस मच्चिँंदा सत्ताधारीहरू यसलाई समृद्धिको संज्ञा दिन चुकेका छैनन् । बीपी राजमार्गको प्राकृतिक संरचनामा आँच नआओस् भनी जापानले इन्च–इन्चको माटो परीक्षण गरी नदी छेउको चट्टान नभत्काइकनै सुन्दर र घुमाउरो सडक बनाएको छ । स्वीट्जरल्यान्डले जिरीलाई स्वर्गको टुक्रा ठानेर डोजर प्रयोग नगरी लामोसाँघु–जिरी सडक तयार गरेको हो । अहिले सो जैविक सडक खण्डहरमा परिणत भएको, खाडीचौर–चरिकोट खण्डमा मच्चिएको विध्वंस एवं जनताको दुःखकष्टमाथि त्यहाँको नेतृत्व बुझ पचाएर बसेको छ । यस्तै किसिमका विनाशकारी गतिविधिले मुलुकको पहिचान, गरिमा मेटिन लाग्दा पनि संघीय एवं प्रादेशिक सरकार तमासा हेरेर बसिरहेको छ, स्वर्गभूमिलाई योजनाविहीन शैलीमा मृत्युको थलोमा परिणत गरिँदैछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र ७, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?