१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जनआक्रोशको पराकाष्ठा

बिहीबार प्रकाशित ‘राज्यप्रति आक्रोश पोख्दा’ समाचार पढ्दा लाग्छ, सागर मैनाली एक प्रतिनिधि पात्रमात्र हुन्  । यस्ता नागरिक यो समाजमा धेरै छन्  ।

तर सरकारको निरङ्कुशतापूर्ण व्यवहारका कारण खुल्न सकिरहेका छैनन् । तथापि भित्रभित्रै पिल्सिएका जनता धेरै छन् । जो मुटु दह्रो पारेर सार्वजनिक हुन्छ, उसलाई सरकारको आदेश अनुसार प्रहरी हिरासतमा पुर्‍याइन्छ । जनताको आवाज सुन्नै नचाहने, सरकारको आलोचना सुन्न नसक्ने नेतृत्वको कमजोरी हो । नेताहरूको भाषण चर्को हुने गर्छ, तर पनि जनताको पीडा बीसको उन्नाइस हुँदैन । उल्टै बढोत्तरी हुँदै गएको छ । जनताको पीडा बुझ्ने राजनीतिक दल नेपालमा नभएको उनको आक्रोशमा झल्किन्छ ।


नेताले जनतालाई गाली गर्दाचाहिँ सहेरै बस्नुपर्ने तर जनताले नेतालाई गाली गर्दाचाहिँ खोरमै जाकिनुपर्ने ? सागर मात्रै होइन, योभन्दा पहिले पनि यस्तै प्रसङ्गमा अन्य साधारण नागरिक पक्राउ नपरेका होइनन्, ती सबैलाई गालीगलौज तथा साइबर अपराधको मुद्दा लागेको थियो । संघीयता कार्यान्वयनमा आएसँगै बनेको यो सरकार गठनपछि जनआक्रोश व्यापक रूपमा बढेको पाइन्छ । तर सरकारले त्यसलाई निरुत्साहित गर्ने बाटो खोजेको पाइँदैन । उल्टै बलेको आगोमा घ्यु थप्ने काम सरकारबाट भइरहेको छ । वाक् स्वतन्त्रतामा यो सरकारले प्रतिबन्ध लगाएको छ । आफ्ना पक्षमा सकारात्मक प्रतिक्रियामात्रै सुन्न रुचाउँछ, नकारात्मक प्रतिक्रिया सुन्ने मनसाय राख्दैन । घर–घरमा ग्यासको पाइप जोडिदिन्छु, सिलिन्डरका डल्ला बोकेर हिँड्ने दिन गए भन्ने ओलीले आजसम्म किन केही लछारपाटो लगाउन सकेनन्, माओवादीले केका लागि युद्ध लड्यो र आज के गर्दैछ ? यस्ता खाले प्रश्न सागरको मात्रै होइन, धेरै सर्वसाधारणको मनमा नउब्जेका होइनन् । कसैले बाहिर प्रस्फुटन गरे, कसैले मनमै गुम्स्याएर राखिरहेका छन् । सागरले जनआक्रोशको प्रतिनिधित्व गरेका छन् ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : भाद्र ६, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?