असन्तुलनको दुई तिहाइ

हाम्रो जस्तो भूअवस्थिति भएको मुलुकमा बाह्यसहित आन्तरिक सन्तुलन मिलाउन सक्ने राजनेता आवश्यक हुन्छ  । बेला–बेला यस्तो अभाव खड्किन्छ र अहिले पनि त्यस्तै अभाव खड्किएको छ  ।

राजनेता त्यो हो, जो निर्वाचित भएपछि सबैको नेता बन्न सक्छ । आम नेपालीलाई केपी ओलीले प्रथम प्रधानमन्त्रीत्वकालमा देखाएको राष्ट्रिय अडानबाट राजनेता बन्लान् कि भन्ने लागेको थियो । त्यसैको भरमा संसदमा दुई तिहाइ पुर्‍याएका नेताले यति चाँडै जनतालाई निराश पार्लान् भन्ने लागेकै थिएन । दुई दिनअघि सर्वदलीय बैठक बोलाएर जुन नाटक गरे, त्यो पनि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको बाघपञ्जा देखाउन हो कि जस्तो लाग्यो । होइन भने केही गर्न र आम जनमानसको मन जित्न नेकपाकै दुई तिहाइ छ, साधारणको हितमा काम गर्दा कसैको चाप्लुसी गर्नु नपर्ने हो ।


आफ्नो पार्टीभित्र रडाको छ, शीर्ष नेताहरूको मानमर्दन गरेर, विचारको मन्थन गर्न सक्ने युवा पुस्तालाई बेवास्ता गरेर, गुटैगुटको भ्वाङ पारेर कुन सर्वसम्मति खोजेका हुन् ओलीले ? आफ्नै दल व्यवस्थापन गर्न नसक्ने नेताले सर्वदलीय बैठकको नाटक किन मञ्चन गरेका हुन् भनी प्रायः सबैलाई थाहा छ । पुरानो माओवादी र शेरबहादुर देउवालाई साइजमा ल्याउने असली उपाय निकालेको प्रस्टै छ । यो तिकडम पनि द्वन्द्व पीडितलाई बेइमानी गर्ने निकम्मा खेलमात्रै हो । नेताहरूमा नियत खराब भयपछि न समस्या सुल्झिन्छ, न देशले फड्को मार्छ । अरु साना र नयाँ दलहरू पनि यस्ता चलखेलतिर ध्यानै नदिने अनि वैकल्पिक शक्तिको धाक दिने । राजनीतिक बेइमानीले देश तहस–नहस हुने भएकाले आमजनता त्रसित छन् ।
– केदारनाथ त्रिपाठी, बूढानीलकण्ठ, काठमाडौं

प्रकाशित : भाद्र ६, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?