किन तिर्ने कर ?

कान्तिपुर संवाददाता

राज्य सञ्चालनका लागि जनताबाट कर असुल्ने सुरुवात धेरै अघिदेखि भएको देखिन्छ  । जनताले तिरेको करले राज्यका संयन्त्र चल्छन्  ।

सेवा उपभोग गरे बापत आम्दानीको केही हिस्सा कर तिर्नु नागरिकको दायित्व पनि हो । सरकारले जनताबाट लिएको कर जनताकै कल्याणमा खर्च गर्नुपर्ने हुन्छ । गाँस, बास, शिक्षा, स्वास्थ्य, यातायात र मनोरञ्जनात्मक क्षेत्रमा राज्यले लगानी गर्नुपर्छ । यद्यपि जनताले कर तिरेको करको कुनै उपयोगिता भएको देखिँदैन । सेवा–सुविधा उपलब्ध नगराउने तर गरिब जनतालाई करको दायरामा ल्याउने नीतिले जनता पीडित हुनुपरेको छ । तीन तहको राज्यको अवधारणा बनेको छ । संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरू चयन भएका छन् । तर गाउँ–गाउँमा सिंहदरबार भनिएको भए पनि सेवा प्रवाहमा अन्योल छ ।


जनप्रतिनिधि सुविधामोहले ग्रसित छन् । नानाथरीको कर लगाउने तर जनताले पाउने सेवासुविधामा वास्ता नगर्ने परिपाटीले हामीले अवलम्बन गरेको पद्धतिको स्थायित्वमा असर गर्दैन र ? फेरि राजनीतिक आग्रह र पूर्वाग्रहले पनि स्थानीय तहले प्रदान गर्ने सेवामा प्रभाव पार्ने गरेको छ । वित्तीय अनुशासनलाई ख्याल नगरी आफूखुसी राज्यस्रोत खर्च गर्ने र आफू निकटकालाई योजना पार्ने तौरतरिकाले स्थानीय तहको गरिमालाई घटाएको मात्रै छैन, उनीहरूको विश्वसनीयता पनि गुमेको छ । पसिना काढेर तिरेको करबाट न्यूनतम सुविधा पनि नपाउने हो भने किन तिर्ने कर ?
– भोला दुलाल, टोखा नपा–१, झोर, काठमाडौं

प्रकाशित : भाद्र ५, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

हल्लै–हल्लाको समाचार

कान्तिपुर संवाददाता

बुधबार प्रकाशित सम्पादकीय र मूर्धन्य पत्रकार किशोर नेपालको लेख पढ्दा हामी सर्वसाधारण मात्र होइन, विद्वान पत्रकार तथा सबैभन्दा ठूलो राष्ट्रिय दैनिक पनि हल्लैमा चलेको हो कि जस्तो लाग्यो  ।

हुन त यो प्रतिक्रिया नराम्रो लागेर अर्थात केपी कमरेडलाई जस्तै विरोध असह्य पनि हुनसक्छ । म जस्ता अनेकन उत्सुकहरूको मतलाई उजगर नगर्न पनि सक्छ, तर सत्य त विस्तारै बाहिरिहाल्छ नि ।

हल्लै–हल्लामा रवि लामिछानेको पक्राउ, हल्लैमा सामाजिक सञ्जालमा विकृत पोस्ट, हल्लैमा सरकारी छानबिन सुरु यी सबै दृश्यबाट हामी कोही पनि परिपक्व रहेनछौं भन्ने देखिन्छ । सरकारले केही महिनाअघि सूचना विधेयक ल्याउन खोज्दा हामीसहित मिडिया हाउस र पार्टीहरू त्यस विधेयकप्रति यति धेरै खनियौं कि विधेयक सम्पूर्ण रूपमा कामै नलाग्ने थियो । विधेयकमा ‘यो–यो ठिक छ, योचाहिँ सच्याउनुपर्छ’ भनी अपुग बुँदा थपी गलत गर्ने गल्छेडालाई बन्द गर्ने कदम चालेको हुँदो हो त यस्ता प्रवृत्ति विकास हुने कमै सम्भावना हुने थियो । बगाउँछ भनेर पानीको मुहानै बन्द गरिदिने हो भने झन् विकराल स्थिति पैदा हुन्छ ।


पत्रकार किशोर नेपाल प्रचण्डको विगतका अत्यन्तै असहज व्यवहारको वास्तै नगरी नेपाली राजनीतिमा ऊ मात्रै निर्विकल्प हिरोजस्तै बताउनुहुन्थ्यो । गिरिजाबाबुलाई पाताल पुर्‍याउँदै शेरबहादुर देउवालाई पनि सुरुमा उहाँले हिरो नै ठान्नुहुन्थ्यो । तर देउवाकै पालादेखि
आर्थिक विकृति सुरु भयो । सरकार र नेतामात्र होइन, हामी जनता र मिडिया पनि सच्चिन जरुरी छ ।
– केदारनाथ त्रिपाठी, बूढानीलकण्ठ, काठमाडौं

प्रकाशित : भाद्र ५, २०७६ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्