विश्वविद्यालयको उपकुलपति कस्तो हुनुपर्छ ?

कान्तिपुर संवाददाता

भदौ ५ मा हाम्रा सातवटा विश्वविद्यालयका उपकुलपतिको पदावधि सकिँदैछ  । राजनीतिक भागबन्डाभन्दा बाहिर बसेरका नयाँ जोश र जाँगरका सक्षम व्यक्तिलाई उक्त पदमा नियुक्ति गर्नुको साटो फेरि पनि दलीय भागबन्डाको कसरत सुरु भएको छ  ।

पुरानै सोच र प्रवृत्ति भएका व्यक्तिहरू यी विश्वविद्यालयको विकासमा नयाँपन देखाउन असमर्थ भैसके । त्यो हामीले देखिसक्यौं, भोगिसक्यौं । सरकारले उपकुलपति चयन गर्न शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । आकांक्षी व्यक्तिहरूले भने राजनीतिक दलसम्बद्ध नेताकोमा दौडधुप तीव्र पारेको देखिँदैछ । यहाँ काम गर्ने सक्षम व्यक्तिभन्दा चाकडी बढी गर्नेको कदर भैरहेको देखिन्छ । यस पटक विश्वविद्यालयमा त्यस्तो नहोस् । सधैं भागबन्डामै महत्त्वपूर्ण संस्था चलाउने हो भने प्रतिभाशाली र नयाँपन पस्कने सोच राख्ने व्यक्तिले कहिले स्थान पाउने ? भागबन्डामा नियुक्ति खानेले जहिल्यै दलकै सोझो गरेको देखिन्छ । विश्वविद्यालय
बनाउन चिन्तन गरेको देखिँदैन ।
कुनै राजनीतिक आस्था भएको व्यक्ति उपकुलपतिमा आउनै हुँदैन भन्ने कदापि होइन । उनीहरू स्वच्छ छवि भएका, इमानदार र सक्षम भने हुनुपर्छ । विश्वविद्यालय कुनै राजनीतिक दलको भ्रातृ संस्था होइनन् । जनताको करबाट सञ्चालित सार्वजनिक संस्था हुन् । यी संस्थाहरू भताभुङ्ग हुँदा आम नागरिकको मन दुख्छ । विगतमा राजनीतिक नियुक्तिको चलन चल्यो होला । तर नराम्रो कामलाई निरन्तरता किन दिने ? अबबाट केही नयाँ र राम्रो काम थाल्दा हुँदैन र ?
– सुन्दर शर्मा, उपप्राध्यापक


विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीमा नियुक्तिमा राजनीतिक हस्तक्षेप नहोस् भन्ने सबैको चाहना छ । विश्वविद्यालयको अभिभावक उपकुलपति भएकाले उक्त पदको नियुक्तिमा सरकार गम्भीर हुनुपर्छ । देशलाई शिक्षा क्षेत्रका विकृतिहरूलाई पहिचान गरी निर्मूल गर्न सक्ने उपकुलपति चाहिएको छ । औद्योगिक क्रान्ति ४.० को चुनौतीहरू बुझेको र र भोलिको शिक्षा कस्तो हुनुपर्छ, जानेको दूरदृष्टि भएको व्यक्ति उपकुलपति बनाइनुपर्छ । उपकुलपति तथा अरु पदाधिकारी छनोट गर्दा अन्य देशका प्रख्यात विश्वविद्यालयहरूमा हुने प्रक्रियालाई अवलम्बन गर्नुपर्छ । ‘बोर्ड अफ ट्रस्टी’ बनाएर छनोट प्रक्रिया अघि बढाउनुपर्छ । राजनीतिक हस्तक्षेपबाट बचाउन बोर्ड अफ ट्रस्टी सक्षम हुनुपर्छ । यसको भूमिकाबारे उच्चशिक्षा आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा पनि प्रस्ट उल्लेख छ ।
– प्रा.मनिष पोखरेल, काठमाडौं विश्वविद्यालय, धुलिखेल

प्रकाशित : भाद्र ३, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्

अरुण खोलामा जामले सास्ती :  एक बोतल पानीको १००, चाउचाउ ७५ रुपैयाँ 

नारायण शर्मा

नवलपरासी — सडक जामको फाइदा उठाउँदै अरुण खोला आसपासमा स्थानीयले यात्रुबाट एक बोतल पानीको १०० र चाउचाउको ७५ रुपैयाँ लिन थालेका छन् । बिस्कुट ५० रुपैयाँ सम्ममा बेच्न थालेका छन् । 

अरुण खोलाको पुलमा क्षति पुगे पछि बनाएको डाइभर्सनमा भएको जामका कारण पूर्व र पश्चिमतिर गाडिको लाइन हुँदै आएको छ। महेन्द्रराजमार्गमा सडकको दुवैतर्फ बाक्लो जंगल छ। जंगलमा अन्य पसल नभएका कारण यात्रु चर्को मूल्य तिर्न बाध्य भएका हुन।

एकतर्फी सडक खुल्दा पनि ४ घण्टासम्म जाम हुँदै आएको छ। बजार नभएका कारण स्थानीयले जंगलमा जाममा परेका यात्रुबाट पानी, चाउचाउ जस्ता अत्यावश्यक वस्तुको अचाक्ली मूल्य लिने गरेका छन्। ‘एक बाेतल पानीको एक सय तिरे,’ झापा दमकबाट नेपालगञ्ज हिँडेका विक्रम पराजुलीले भने, ‘यस्तो चरम मूल्य लिँदापनि कसैको चासो छैन।’
पूर्व मेची र पश्चिम महाकाली पुग्न यहाँबाट बराबर दुरी पर्दछ। दुवैतर्फ जाने यात्रुको चाप सडकमा उत्तिकै छ। घण्टौ जाममा परेका कारण र नजिकमा किनमेलको पसल नभएका कारण जसले जति भन्छ त्यति मूल्य तिर्नुपर्ने बाध्यता रहेको मकवानपुरकी अजिता तमाङले गुनासो गरिन्। ‘पानी छैन, छहारी छैन। चर्को घाममा बसभित्र बस्दा निकै सकस हुने गरेको छ,’ उनले भनिन्, ‘जति मूल्य भने पनि तिर्नु पर्ने अवस्था छ।’

उवासंघले थाल्यो समान बेच्न
चोरमारामा रहेको उद्योग वाणिज्य संघले यात्रुले चर्को मूल्यमा अत्यावश्यकीय समान खरिद गर्न बाध्य भएको जानकारी पाएपछि सानो गाडिमा चाउचाउ, बिस्कुट, पानी र चकलेटको बिक्रि सुरु गरेको छ।

सोमवारबाट यात्रुको असुविधालाई ध्यानमा राखेर उद्योग वाणिज्य संघ मध्यबिन्दु नगरपालिकाको कार्यालयले सुपथ मूल्यमा अत्यावश्यक वस्तु बेच्न सुरु गरेको हो।

उवासंघका अध्यक्ष केदार पराजुलीले बजारको दर रेटमै ग्राहकलाई जाममा परेको स्थानमै समान दिने उद्देश्यले ३ जना कर्मचारी खटाएर बिक्रि गर्न थालेको बताए। अध्यक्ष पराजुलीले जाममा परेका यात्रुलाई पानी प्रति बोतल १० रुपैयाँ, चाउचाउ १५ र बिस्कुट १० मा उपलब्ध गराउँदै आएकाे दाबी गरेकाे छ।

छैन अनुगमन
बजार अनुगमनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय भने हजारौ यात्रुले जंगल बीचको राजमार्गमा एकसातादेखि चर्को मूल्यमा पानी खरिद गर्न बाध्य हुदाँ समेत बेखबर छ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले बढी मूल्यमा बिक्रि गरिएको भन्ने जानकारी नै आफूलाई नभएको बताए। ‘अब अहिल्यै अनुगमन थालेर बढी मूल्य नलिने ब्यवस्था मिलाउँछु,’ उनले भने।

एकतर्फी खुले पनि घण्टौं जाम
अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडकमा आएको बाढीले रोकिएको यातायात एकतर्फी खुलेको छ।

खोलमा पानीको सतह घटेपछि यातायात एकतर्फी खुलाइएको हो। डाइभर्सन बनाएको कच्ची सडक भन्दा माथिबाट पानीको भेल बगेका कारण सोमबार दिनभर यातायात अवरुद्ध भएको थियो।

अहिले राजमार्गमा लामो जाम बनेको छ। देशभरीकै ‘लाइफलाइन’ सडक भएका कारण महेन्द्र राजमार्गमा सवारी चाप अत्यधिक हुने गरेको छ।
सडक डिभिजन कार्यालयले २ वटा डोजर लगाएर दोहोरो आवगमन हुने गरि डाइभर्सन बनाउदै गरेको छ। डिभिजन सडक कार्यालय बुटवलले पानी रोकिएकाले मंगलबार साँझसम्म दोहोरो यातायात संचालन हुने गरि काम भइरहेको जानकारी दिएको छ।

वर्षात् हुनासाथ खोलामा पानी बढ्ने बित्तिकै यातायात बन्द हुने र पानी घटेपछि पुनःसुचारु हुने गरि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एकसाता अघि अरुणखोला पुलमा गाडि ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिन लगाएर वैकल्पिक सडक बनाएर आवागमन खुलाइएको थियो।

भाँचिएको पुल टेका लगाएर माथि उठाउने र सोझ्याउने काम पनि भइरहेको छ। सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले दुई साताभित्र पुलबाटै यातायात संचालन हुने गरि काम भइरहेको जानकारी दिए।

‘पुलको भाग माथि उचालेर सोझ्याउने र केही नयाँ सापो राखेर पुल सोझ्याउने काम भइरहेका छ,’ उनले भने, ‘भदौ १५ गतेसम्म पुलबाटै यातायात चल्न सक्ने बनाउँछौ।’

प्रकाशित : भाद्र ३, २०७६ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्