विद्युतीय सवारी साधन

कान्तिपुर संवाददाता

विद्युतीय सवारी साधनबारे संसारभर नै बहस चलिरहेको छ  । डिजेल–पेट्रोलबाट उब्जिने धुवाँले पूरै विश्वलाई दूषित बनाइरहेको छ  ।

जलवायु परिवर्तनको एउटा कारक पेट्रोलियम पदार्थ पनि भएकाले कैयौं राष्ट्रले आउने दिनमा छिट्टै डिजेल–पेट्रोलका गाडीलाई पूर्णरूपले विस्थापित गर्दै विद्युतीय सवारी साधन चलाउने कार्ययोजना बनाइसकेका छन् । अहिले सानामात्रै होइन, तारबेगर चल्ने ठूला विद्युतीय बस नै कताकति सञ्चालनमा आइसकेका छन् । तर हाम्रो सरकार यसबारे सोचेजति जागरुक हुनसके जस्तो लाग्दैन । विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेसन लगायतका पूर्वाधारको निर्माण र यसको दिगो सञ्चालनमा सरकारी भूमिका कस्तो हुने भन्ने निश्चित हुनसकेको छैन । डिजेल–पेट्रोल हाम्रा उत्पादन नभएकाले यिनको आयातमा वर्षेनि अर्बौं रकम बाहिरिने गरेको छ, जुन व्यापार घाटाको प्रमुख कारक पनि हो । विद्युतीय सवारी साधनलाई आक्रामक किसिमले प्रबर्द्धन गर्नसके त्यस्तो रकम बगाउने बाध्यता घट्दै जान्थ्यो । यसका लागि सरकारले विद्युत उत्पादनलाई पनि अति प्राथमिकता दिनुपर्छ । भोलिका दिनमा देशैभरि सबै किसिमका सवारी साधन विद्युतबाटै सञ्चालन गर्नसके देशको आर्थिक अवस्था पक्कै पनि सबल हुँदै जान्छ ।
– रामकृष्ण बराल, जोरपाटी– २, काठमाडौं

प्रकाशित : भाद्र २, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

दाहालको बोली

कान्तिपुर संवाददाता

‘कुरा गर्‍यो कुरैको दुःख’ भनेजस्तो पुष्पकमल दाहालको जति कुरा गरे पनि कहिल्यै नटुङ्गिने भयो  । उनी दिनमा जति बोल्छन्, उति नै बोली फेरिरहन्छन्  ।

आफ्नो शक्ति क्षीण हुँदै गएपछि मनमा अनेक तर्कना खेल्नु स्वाभाविकै हो । कस्तूरीले आफ्नै नाभीबाट निस्केको बास्ना खोज्न अनेकतिर दौडिन्छ भनेझैं दाहाल पनि आफ्नै कारण शक्ति क्षीण भएको थाहा पाउन नसक्दा घरी यता घरी उता भौँतारिने गरेका छन् । कहिले पार्टी एकता गरेर नयाँ रेकर्ड कायम राखेको भन्दै प्रफुल्लित हुन्छन् त कहिले आफ्नै हात जगन्नाथमा चलेको पार्टी अर्कालाई लगेर बुझाउँदा आफू जिम्मेवारीविहीन जस्तो भएर बस्नुपरेको महसुस गर्छन् र भन्छन्— पार्टी एकता नगरेको भए केही विकल्प रहने थिए कि ? दाहालका लागि विकल्प जहिल्यै बाँकी छन् । उनले धेरै विकल्पको प्रयोग गर्दै नेपालको राजनीतिलाई हात लिएका छन् ।


जतिबेला उनी सशस्त्र युद्ध छोडेर संसदीय राजनीतिको मूलधारमा आए, त्यो बेलैदेखि नेपालको राजनीति उनको मात्रै छाया बनेको छ । चाहे उनको दल सानो हैसियतमा होस् या सबैभन्दा ठूलो, २०६३ यता अहिलेसम्मको मात्रै इतिहास हेर्ने हो भने संविधानसभा र संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई दाहालले विकल्पका रूपमा प्रयोग गरे । कति ठाउँमा उनी सफल भए भने कति ठाउँमा उनी आफैँ ब्याक हुनुपर्ने अवस्था पनि आयो । अहिले एमालेसँग मिलेर नेकपा गठन गरेकोमा उनलाई पछुतो भइरहेको छ । अब उनका लागि अर्को विकल्प पनि छ— पूर्वएमाले कित्तालाई छोड्ने, माओवादी केन्द्रकै हैसियतमा फर्किएर पूर्वमाओवादीबाट छुट्टिएका सबैलाई एकठाउँ मिलाउने र पुनः एकपटक माओवादीको सङ्गठन बलियो बनाई अगाडि बढ्ने । यो उनका लागि अन्तिम विकल्प हुनसक्छ । उनले अहिलेसम्म जति विकल्प प्रयोग गरे, तिनबाट उनले जशभन्दा अपजश बढी पाए । अबका दिनमा उनले आफ्ना सबै पूर्वमित्रलाई एकठाउँ पारेर अगाडि बढ्नसके राम्रै होला ।
सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : भाद्र २, २०७६ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्