अरुण खोलाको जाम

कान्तिपुर संवाददाता

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरूण खोलाको पुल जीर्ण भइसकेको थियो, कुनै पनि बेला भत्कन सक्थ्यो  ।

आखिरी त्यही भयो, एक दिन पुलमा गाडीले ठक्कर दिँदा एकातिर थोरै भासियो अनि सुरु भयो जाम । सयौं गाडी दुवैतिर रोकिए । जेनतेन एक दिन लगाएर डाइर्भसन त तयार भयो तर गाडीको जाम खुलाउने प्रयास भएको पटक्कै देखिएन । अरूण खोला छेउछाउका प्रहरी जाम खुलाउने प्रयास गर्दा गर्दा थाकिसकेका थिए । एकातिरको जाम चोरमारसम्म थियो भने अर्कातिरको दाउन्नेसम्म । सडकका दुवैतर्फ गाडीको ताँतीले गर्दा पैदल हिंड्न पनि गाह्रो थियो । घना जंगलबीच गाडी रोकिँदा पानीसम्म खान पाइएन । महिला, केटाकेटी र वृद्धवृद्धाका आँखा रसाइरहेका थिए । घना जंगल भएकाले मोबाइलको टावरले पनि काम गरेको थिएन, जसले गर्दा आफन्तहरूलाई फोन गरेर आफ्नो अवस्था पनि भन्न सकेका थिएनन् । आफन्तलाई पनि मानसिक पीडा कति भयो होला, सहजै अनुमान गर्न सक्छौं । जनतालाई सुख दिने सपना बाँड्ने सरकारले कमसेकम भविष्यमा यस्ता घटना नहोऊन् भन्न राजमार्गका जीर्ण पुलको समयमा मर्मत गराओस् । जाम भइहाले पनि सक्दो जनशक्ति प्रयोग गरी जाम तुरुन्तै खुलाओस् । जाम भइरहेको छ भने पूर्वसूचना समयमै प्रसारण गरोस् । जनताले सधैंभरि यस्ता कुरामा कति दुःख पाउने ?
– प्रकाश सुवेदी, भरतपुर–८, चितवन

प्रकाशित : भाद्र १, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

सीके राउतको हाउगुजी

कान्तिपुर संवाददाता

केही दिनयता सीके राउत सप्तरी क्षेत्र नं. १ बाट सांसदको उम्मेदवारमा उठ्दै छन् भन्ने कुराले व्यापक चर्चा पाएको छ  ।

त्यस क्षेत्रका निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएपछि रिक्त हुन आएको सिटमा राउत उठ्ने अडकल भइरहेको छ । उम्मेदवारी दिन पाउनु राउतको संवैधानिक अधिकार हो । विजय र पराजय आफ्नो ठाउँमा छ ।


स्वतन्त्र मधेसको सस्तो लोकप्रियतावादी नारा लगाएर चर्चामा आएका राउतले तब थाहा पाउलान् नारा दिन सजिलो छ, व्यवहारमा उतार्न गाह्रो छ । हेरौं, राउतका हकमा के हुन्छ ? मधेसप्रति राज्यले विभेद र शोषण गरेको कुरा साँचो हो र यसविरुद्ध लड्न सीके राउतजस्ता व्यक्ति सांसदमा पुग्न आवश्यक पनि छ । विद्वत्ता, योग्यता र क्षमता रचनात्मक काममा लगाउनुपर्छ, नकि विध्वंसमा । ठूलो जनधनको क्षति पुर्‍याएर, विखण्डनमा लागेर विदेशीको सहयोग दया र दासतामा बस्नुभन्दा जे जस्तो भए पनि नेपाल आमाको काखमा रमाएर स्वतन्त्रको अनुभूति किन नगर्ने ?
– रामनारायण देव, राजविराज, सप्तरी

प्रकाशित : भाद्र १, २०७६ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्