शिक्षक नियुक्तिको गाईजात्रा

कान्तिपुर संवाददाता

शिक्षक सेवा आयोगले गतवर्ष असोजमा लिएको परीक्षाबाट यस वर्षको जेठमा माध्यमिक तहका लागि शिक्षक सिफारिस गरेको दुई महिना बितिसकेको छ  । केन्द्रले निकै समय लगाएर शिक्षक नियुक्तिका लागि जसोतसो जिल्लासम्म पुर्‍याए पनि नियुक्तिको टुङ्गो छैन  ।

नियुक्ति गर्न नसकिने भनी इकाइहरूले शिक्षकलाई पुनः केन्द्रमै फर्काइरहेका छन् भने केन्द्रले कहिले यो जिल्ला त कहिले त्यो जिल्ला कुदाएर गाईजात्रा गरिरहेको छ । जम्मा ५०३ संख्या माग भएकोमा आयोगले १,०९७ जना सिफारिस गर्दा नियुक्तिमा समस्या भएको भन्नु झुट हो । अस्थायी शिक्षकको ७५ प्रतिशत दरबन्दीबाट बाँकी २५ प्रतिशत खोइ ? अस्थायी विज्ञापन अन्तर्गत १ नं. र २ नं. विज्ञापनबाट धेरै अनुत्तीर्ण अस्थायी शिक्षकको दरबन्दी खोइ ? परीक्षा अघिनै ‘गोल्डेन ह्यान्डसेक’ लिने अस्थायी शिक्षकको दरबन्दी कता गए ? दुई वर्षसम्ममा अवकाश भएका शिक्षकको दरबन्दी खोइ ? देशभरि सयौं दरबन्दी खाली छन्, तर आयोगले सबैलाई भ्रममा राखिरहेको छ । खास कुरा के देखिन्छ भने सुगम जिल्लाहरूमा थोरै दरबन्दीमा शिक्षक सिफारिस भए भने दुर्गममा धेरै गरिएको छ । धेरै शिक्षक तराईका जिल्लामा सरुवा भए वा पछि सरुवा गराउन दरबन्दी लुकाइएको छ । पछि ती सुगम जिल्लामा सरुवा गर्दा द्रव्यको चलखेल गर्न पाइन्छ, आफ्ना मान्छेलाई सुगममा ल्याउन पनि पाइन्छ । शिक्षा मन्त्रालय कडा रूपमा प्रस्तुत हुने हो भने समस्या तत्काल समाधान हुनसक्छ ।
– डिल्लीप्रसाद दाहाल, दमक–१०, झापा

प्रकाशित : श्रावण २१, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्

हचुवामा विश्वविद्यालय नखोलौँ

कान्तिपुर संवाददाता

साउन १९ गते कान्तिपुरमा प्रकाशित मेरो लेखमा ‘विश्वविद्यालय थपेर मात्र हुँदैन, यो झन् बरबादीको बाटो हो’ भन्ने वाक्यांशबारे म केही कुरा अझ प्रस्ट्याउन चाहन्छु  । नेपालमा अहिले विश्वविद्यालय जाने उमेरका केटाकेटीहरूमध्ये १४.९ प्रतिशतले मात्र उच्चशिक्षा हासिल गरिरहेका छन्, जो निम्नमध्यम आय भएका देशको दाँजोमा धेरै कम हो  ।

यसैले नेपालमा थप विश्वविद्यालय जरुर चाहिन्छ । तर हचुवा किसिमले खोल्ने, राजनीतिक अखडा बनाउने, पर्याप्त स्रोतसाधन नदिने आदि खालका विश्वविद्यालय आउनु भनेकोचाहिँ बरबादीको बाटो नै हो ।
– केदारभक्त माथेमा, सानेपा, ललितपुर

प्रकाशित : श्रावण २१, २०७६ १२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्