आँखा भएका धृतराष्ट्रहरूको थलो

त्रिभुवन विश्वविद्यालय पदाधिकारीले हिलामा कार्पेट ओछ्याएर कुलपति तथा प्रधानमन्त्रीलाई स्वागत गरेको प्रसंगलाई त्रिविमा मौलाएको विपरीतधर्मी संस्कारसँग दाँज्न सकिन्छ  ।

आँखा भएका धृतराष्ट्रहरूको थलो

त्रिविसँग बर्सेनि सयौँ इन्जिनियर उत्पादन गर्ने इन्जिनियरिङ अध्ययन संस्थान र उल्लेख्य आंगिक क्याम्पसहरू छन् । यति हुँदाहुँदै पनि आफ्नै नयाँ भवनको आँगन हिलाम्य भएको थाहा नपाएर उसले विश्वविद्यालय भनेको ‘आँखा भएको धृतराष्ट्र’ हरूको जमात समेटेर बसेको संस्था रहेछ भन्ने देखाएको छ ।


नयाँ भवनको डिजाइनमा भवन परिसरमा ढुँगा छाप्ने वा पानी तर्काउने सुविधा संलग्न गरिएको थिएन ? थिएन भने प्रधानमन्त्री जस्तो सर्वोच्च कार्यकारीको भ्रमण कार्यक्रम तय भएपछि अग्रिम स्थलगत निरीक्षण गरी सम्भाव्य जोखिमको पूर्वानुमान किन गरिएन ? प्रधानमन्त्रीको सचिवालयमा कार्यरत कर्मचारी वा सल्लाहकारहरूको काम के हो ? त्रिविले पनि यो कार्यक्रम सम्पन्न गर्न कसैलाई जिम्मा दिएको हुनुपर्छ । के त्यो पनि राजनीतिक आस्थाका आधारमा कुनै नक्कली डिग्रीधारीलाई दिइएको थियो ? हैन भने यो लापरबाही हुनुको कारण के हो ?
–नवराज खतिवडा, पुल्चोक, ललितपुर

असार २७ गते प्रकाशित ‘विश्वविद्यालय र विद्यावारिधि’ लेखले हाम्रो शैक्षिक क्षेत्र र संस्थामा प्रदूषित अभ्यासलाई पाठकसामु छर्लंग पारेको छ । त्रिभुवन विश्वविद्यालयमा हुनेगरेको हेलचेक्र्याइँ र अस्वस्थ प्रतिस्पर्धाको वास्तविकता दिनानुदिन पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियामार्फत छताछुल्ल भएको छ । लेखकले विद्यावारिधि, यसको उद्देश्य, प्रक्रिया, आवश्यकता र सम्बन्धित विश्वविद्यालय, समाज राष्ट्र र सम्पूर्ण विश्वका लागि उपादेयताबारे उठान गर्नुभएको समस्या र समाधानका उपाय मननयोग्य छ । विद्यावारिधि अनुसन्धानात्मक विधिमा आधारित छ र हुनुपर्छ तर हामीकहाँ नामको अगाडि डा. लेखेर समाजमा नाक फुलाउन मात्रै भएको छ यो डिग्री । गहन अध्ययन, अनुसन्धान गरी त्यसबाट प्राप्त नतिजा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुनु त परको कुरा, यहाँ त पर्याप्त समय, सन्दर्भसामग्री पनि केलाइँदैन । यसमा विद्यावारिधि गर्ने र गराउने दुवैका कमजोरी देखिन्छन् । शिक्षाको डिग्री ज्ञान र विवेकलाई मापन गर्ने हुनुपर्छ, जसले सम्पूर्ण मानव जगत्लाई कुनै न कुनै किसिमले फाइदा पुर्‍याउन सकोस् न कि फगत झुटा मान र सानका लागि मात्रै ।
–राजन अधिकारी, बुढानीलकण्ठ, काठमाडौं

भ्रष्टाचार र बेथितिले गाँजिएर उच्च शिक्षा ‘बाँदरको पुच्छर लौरो न हतियार’को अवस्थामा आइपुगेको छ । पुरानो र अग्रणी त्रिभुवन विश्वविद्यालय बन्द नै गरिदिए हुन्छ । पास भएको विद्यार्थीलाई अंक घटाएर फेल र फेल भएको विद्यार्थीलाई अंक थपेर गोल्ड मेडल दिने संसारमा कुन विश्वविद्यालय होला ? पासलाई फेल र फेललाई पास गरेको प्रमाणसहित सेवा आयोगका अध्यक्षसहित तीन जनालाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । सम्बन्धन दिलाउन घूस लिनेदिने भइरहेछ ।


यस्ता विश्वविद्यालयबाट शिक्षा ग्रहण गरी विश्व बजारमा जाँदा हाम्रा मानिसलाई हेर्ने दृष्टिकोण कस्तो होला ? कक्षाकोठामा रहेर विद्यार्थीलाई ज्ञान दिन्छु भनेर नोकरी सुरु गरेका धेरै प्राध्यापकले कक्षाकोठाको मुख पनि देखेका छैनन् । समाजले मान्नुपर्ने बौद्धिक जमात प्राध्यापकहरू, कक्षाकोठामा छिर्न नरुचाउने तर साम, दाम, दण्ड, भेद जसरी हुन्छ प्रशासनिक नेतृत्वमा बस्न र राजनीतिक नियुक्ति लिन मात्र किन रुचाउँछन् ? केही लोभीपापी प्राध्यापक र अदूरदर्शी राजनीतिक नेतृत्वका कारण त्रिवि रसातलमा पुग्यो । अझ नसोच्ने हो भने बन्द गरिदिए हुन्छ ।
–नारायण कोइराला, मैतीदेवी, काठमाडौं

प्रकाशित : असार २९, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?