२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

झन्झटिलो वैदेशिक रोजगार

मंगलबार प्रकाशित सम्पादकीयमा वैदेशिक रोजगारीका निम्ति खाडी मुलुकमा घरेलु कामदारका रूपमा गएर वर्षौं घर फिर्न नपाएका महिलाका पीडा उल्लेख भएको पाएँ  ।

वैदेशिक रोजगार सम्बन्धमा सरकारी निर्णय अदूरदर्शी र अपरिपक्व रहेकाले इजरायलको आकर्षक रोजगारी गुमाउनुपरेको पीडा एकातिर छ भने खाडीमा घरेलु कामदारलाई कहिले उमेरको हद त कहिले जोखिमको बहाना बनाएर प्रतिबन्ध लगाइँदै आएको छ । सरकारको यस्ता अपरिपक्व निर्णयका कारण हजारौं नेपाली महिला दलालको सहारा लिएर बिना श्रमस्वीकृति जोखिम मोली भारतीय विमानस्थल प्रयोग गर्दै वैदेशिक रोजगारनिम्ति गइरहेका छन् । आमाबावु तथा परिवारका सदस्यको मृत्युमा काजकिरिया निम्ति स्वदेश आएपछि लगत्तै काममा फर्किनुपर्ने घरेलु कामदारको पीडा बुझेर अविलम्ब ‘रिइन्ट्री’ खोल्नु बुद्धिमानी हुनेछ ।


यस अघि मलेसियाको रोजगारीमा जाने भिसा प्राप्त भएका कामदारको बिना गृहकार्य अन्तिम स्वीकृति रोकेर सरकारले आफ्नो कमजोरी प्रस्तुत गरिसकेको छ । जसका कारण झन्डै ७ हजार कामदारमध्ये श्रमस्वीकृति रोकेर ३ हजार कामदारको भिसा अवधि सकिएपछि पुनः अन्तिम श्रमस्वीकृति खोलिएको यो तितो अनुभवले आगामी दिनमा जनताप्रति पूर्वाग्रही नबनी सुझबुझपूर्ण निर्णय गर्दै कामदारलाई सहज बाटो खोलिदिनु बुद्धिमानी हुनेछ ।


कसैको बहकाव र झुट सूचनाको सहारामा मात्रै टेकेर सरकारले आफ्ना कदम यसरी नै चालिरहने र आफ्नो कुनै नीति नहुने हो भने जनताले अझ धेरै दुःख पाउनेछन् । अवैध रूपमा भारतको विमानस्थल प्रयोग गर्दै दैनिकजसो सयौं युवती घरेलु कामदारका लागि खाडी जाने कार्य आफैंमा जोखिमपूर्ण छ । सम्बन्धित निकायले अविलम्ब उचित ऐन–कानुन बनाएर नेपालबाटै वैदेशिक रोजगारीमा जाने वातावरण बनाउन पहल होस् ।
– यज्ञराज न्यौपाने, पेप्सिकोला, काठमाडौं

प्रकाशित : असार २५, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?