केटा र केटी आआफ्नै ठाउँमा
‘केटाले जस्तै केटीले गर्न किन नहुने ?’ लेखमा म अलि सहमत हुन सकिन । पुरुषहरूले गर्दै आएकै कामकारबाही महिलाहरूले गर्नु आवश्यक छैन ।
जति पनि महिला सम्बन्धी घटनाहरू घटेका छन्, गलत संस्कार र संस्कृतिको सिको गरेरै भएका हुन् । संस्कृति सुहाउँदो पोसाकमा आफ्नो बाटो हिँडे कसले कसलाई छुने वा जिस्क्याउने हिम्मत गर्छ र ? बस्ने नेपालमा, संस्कृति अवलम्बन गर्ने पश्चिमको ! अझ मन मिलुन्जेल लिभिङ टुगेदर, नमिले बलात्कारको आरोप ! यो कहाँसम्मको न्याय हो ? जन्मघरबाट कर्मघर वा भनौँ पतिको घरमा गएदेखि नै महिलाको शासन सुरु हुन्छ ।
लेखकले उठाएको घटनाप्रति म संवेदनशील छु । यस्ता प्रतिनिधि नभएका होइनन् । तर सबैलाई एउटै तराजुमा राखेर तौलिनचाहिँ नमिल्ला । महिलाहरू पहिलाको तुलनामा धेरै सचेत र सक्षम छन् । उनीहरूको उन्नयनका लागि सबैको सहयोग त्यतिकै अपरिहार्य हुन्छ । तर महिला अधिकारका नाममा सार्वजनिक बसमा आरक्षण सिट सङ्ख्या तोकिदिँदा चार महिलाले मात्र बस्न पाउने भए । अरू सिटमा अरूहरूकै बर्चस्व भयो । पहिला–पहिला गर्भवती, ज्येष्ठ नागरिक वा महिला देख्ने बित्तिकै सिट छोडिदिन्थे, अरू यात्रुले । अचेल अन्कनाउने गर्छन् ।
– लक्ष्मण प्रधान, मीनभवन, काठमाडौँ