राम्रो काममा बाधा

‘डोजरले भत्काएको बार स्थानीयले उठाए’ समाचारले हामी नेपालीको सोच, दृष्टिकोण र बानी–ब्यहोराको आदि–अन्त्य छर्लंग्याएको छ  । यसअघि भूकम्पपीडित, भूमिहीनहरूको निम्ति नमुना बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रशंसा नगर्ने कोही भेटिएको थिएन  ।

त्यागी भावना बोकेर मुलुकभित्र नयाँ काम गर्ने उत्कट इच्छा राख्दै फाउन्डेसनका जोडीले चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्न थाल्दा पहिलो गाँसमै ढुंगा लाग्न पुग्यो । गत बुधबार रंगशालामा बनाएको बार स्थानीय बासिन्दाले भत्काएपछि चितवनवासी एवं क्रिकेटप्रेमी स्तब्ध बने । हुन त पश्चिमपट्टि अस्थायी बार लगाऊने क्रममा विवाद बढ्दै जाँदा स्थानीय बासिन्दा त्रुद्ध भएपछि असहज परिस्थिति सिर्जना भएको र भत्काउने १८ जनालाई छानी–छानी प्रहरीले गिरफ्तार पनि गरिसकेको छ ।


घटनाका मुख्य नाइके भनी चिनिएका नेकपाका स्थानीय कार्यकर्ता प्रकाश कँडेल घटना भएको १२ घण्टापछि पक्राउ परे । देश–विदेश सबैतिरबाट ठूलो समर्थन प्राप्त गरी काममा अहोरात्र खटिएका धुर्मुस–सुन्तली बार भत्काइएपछि निधार छाम्न बाध्य थिए, फउन्डेसनले काम स्थगित गरिसकेको थियो । तथापि निर्माण कार्यलाई अगाडि बढाउने विषयमा शुक्रबार टोल विकास समितिका प्रतिनिधिबीच सहमति भएसँगै सांसद, पार्टी प्रतिनिधि लगायतको बाक्लो उपस्थितिमा भत्काएको बार ठड्याएपछि रंगशाला बन्ने आशा फेरि पलाएको छ । यो प्रकरणले आफू पनि केही नगर्ने र अरूलाई पनि गर्न नदिने, विध्वंस मच्चाउने तत्त्व मुलुकभर छरिएर रहेको यथार्थ उजागर गरेको छ । राजनीतिको आडमा ताण्डव मच्चाऊनेहरूले राम्रो काम गरेको देखिनसहने, क्रोध र आत्रोशमा वशीभूत भई पटक–पटक टाउको ठड्याउन सक्ने संकेत पनि यसले दिएको छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

धुर्मुस–सुन्तलीको अगुवाइमा बन्दै गरेको क्रिकेट रंगशालाको काममा अवरोधको समाचार केही दिनदेखि चर्चामा छ । उक्त रंगशालाको बार तथा पर्खाल डोजर लगाएर एकाएक भत्काएसँगै आएको धुर्मुस–सुन्तलीको प्रतिक्रिया सुन्दा यसमा केही स्थानीय बासिन्दा र राजनीतिको आडमा स्वार्थ उठाउन खोज्नेहरूको संलग्नता रहेछ भन्ने बुझिन्छ । रंगशालाजस्तो आफैंमा गौरवको आयोजना निर्माणको काम सरकारले गर्नुपर्ने हो, क्रिकेटको सफलताको पथमा लम्किरहेको हाम्रो देशलाई बलियो र अन्तर्राष्ट्रियस्तरको मैदानको आवश्यकता पूरा गर्ने हो भने । यहाँ त एक व्यक्तिले सुरु गरेको राम्रो कामको पनि नबुझिकन विरोध हुन्छ । साँच्चै स्थानीय बासिन्दालाई बाटोको समस्या भयो अथवा जग्गा मिच्न गएको भए, छलफलबाट समाधान निकाल्न सकिन्छ नकि तोडफोडमा उत्रेर ।
– कृष्ण बर्तौला, मकवानपुर, हाल ः युएई

प्रकाशित : जेष्ठ २०, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?