व्यवस्था फेरियो, सोच फेरिएन
कसैले सोचेका थिएनन्, यति सजिलै देशमा लोकतान्त्रिक गणतन्त्र आउँछ भनेर । २०६२/६३ सालको जनआन्दोलनले २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रलाई पाखा लगाइदियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । दलहरूले जति अहमता, जति घमन्ड गरे पनि यति सजिलै गणतन्त्र आउँछ भनेर कसैले कल्पना गरेका थिएनन् । राजा ज्ञानेन्द्रले पनि जनताको गणतन्त्रप्रतिको चाहनालाई साथ दिए । सुरुक्क नारायणहिटी राजदरबार, श्रीपेच, राजदण्ड सबै त्यागिदिए । अनि मुलुकमा सजिलै गणतन्त्र आयो ।
लोकतान्त्रिक संविधान पनि बन्यो । स्थानीय, संघीय ससद र प्रदेश संसदसम्म गठन भए । तीनै तहका सरकार बने । तर लोकतान्त्रिक गणतन्त्रको फल उपभोग गर्न जनताले पाएका छैनन् । जनतालाई करमाथि कर थोपरिएको छ । विकास खर्चको नाममा नेताहरू पैसा असुलिरहेका छन् । १ वर्षमा सकिन पर्ने काम १० वर्षमा सक्दा पनि ठेकेदारलाई कारबाही हुँदैन । असली लोकतान्त्रिक गणतन्त्र भनेको यही हो ? जसले जे गरे नि हुने ? नेतालाई मस्ती जनतालाई सास्ती कहिलेसम्म हो ? व्यवस्था त फेरियो, तर नेताको नियत र सोचाइ फेरिएन । संस्कार फेरिएन । आफू ‘माथि’ जनतालाई ‘तल’को ठान्ने प्रवृत्ति फेरिएन । बिचौलिया संस्कृतिले राजनीति दुर्गन्धित बन्यो । जनता दिन–प्रतिदिन निराश बन्दैछन् । गणतन्त्रलाई नेताहरूले कमाइखाने भाँडो बनाए । विलासितामा रमाउने नेताहरूले आफ्नो कर्तव्य भुले । भोगविलासमा लिप्त भए । गणतन्त्रसँगै राम्रा संस्कार बस्नुपर्थ्यो, त्यसो हुन सकेन । यो नै हाम्रो दुर्भाग्य भयो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं