१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

शान्ति लुकाऊँ कहाँ !

शान्ति प्रक्रियाको डेढ दशक बितिसक्दा पनि मुलुकमा कुनै न कुनै रूपमा हजारौंको ज्यान गएको छ  । सरकार भने गम्भीर देखिँदैन  ।

शान्ति लुकाऊँ कहाँ !

नागरिकको जीवन विगतभन्दा सस्तो भइसकेको छ । कहिले बलात्कार, कहिले बालक हत्या, कहिले दाइजो प्रथा, कहिले प्राकृतिक प्रकोप, कहिले दुर्घटना त कहिले आमहत्या जस्ता हिंसात्मक घटना समाचारका प्रमुख शीर्षक बन्दै आएका छन् । समाजमा यतिसम्म अराजकता छ कि चार हजार रुपैयाँ तिर्न नसक्दा आफ्नै साथीलाई क्रूरतापूर्वक हत्या गरिएको छ ।


कान्तिपुरमा ‘दुई परिवारको संहार’ पढ्दा समाजमा हिंसाले जरा गाडेको प्रतित भयो । सरकार आफ्ना नागरिकको सुरक्षामा गम्भीर देखिँदैन । जबकि सरकारले नागरिकबाट लिएको कर संसारकै महंँगो मध्येको छ । त्यस अनुसार अरु सुविधा त पर जाओस्, जीउधनको सुरक्षा पनि छैन । कस्तो असफल छ, सरकार । आफ्नै नागरिकको सुरक्षा दिन सक्दैन । खुकुरी बोकेर निर्धक्क परिवारै सखाप पार्ने आँट अपराधीहरूले कसरी गर्नसकेको हो ? कानुन र सुरक्षा निकायमा कुन कमजोरी छ ? सरकारले पत्ता लगाएर सच्याउनुपर्छ । सरकारले ठूला कुरा गरेर यस्ता घटनाबाट पन्छिन मिल्दैन । धेरै ठाउँमा अनुसन्धानकै नाममा हजारौं नागरिकलाई पीडित बनाइएको छ । हाम्रो अनुसन्धानमा भएको कमजोरीले एउटा दोषी पता लगाउन कैयौं निर्दोषलाई दुःख दिन्छ । सरकारले नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । पाँचथरको मिक्लाजुड– ३ मा भएको हृदयविदारक घटनाको दोषी पता लगाई कडा कारबाही गर्नुपर्छ ।
– राजेश विद्रोही, लहान, सिरहा

पाँचथरको हत्या सम्बन्धी समाचार सुन्दा–पढ्दा आङ नै सिरिङ्ग भयो । कल्पनै गर्नै नसकिने निकै दुःखदायी उक्त घटनाले पुरै देशलाई मर्माहत बनाएको छ । देश शोकमा डुबेको छ । नेपाली समाजमा चिन्ता र त्रास थपेको छ । अनेक शङ्का–उपशङ्काहरू फैलिएको छ । देशमा शिक्षाको स्तर बढ्दै गएको भनिए पनि समाजमा यस्ता खाले डरलाग्दा विकृति, विसंगतिका घटनाहरू बढ्दैछन् । लुटपाट, बलात्कार, हत्या, हिंसाको भयावह स्थिति देखापर्दैछ । मानिसहरूले क्रूरताको हद पार गर्दैछन् । दानवीय प्रवृत्ति हावी हुँदैछ । भावनामा बहकिने विक्षिप्तहरूको जमात बढ्दो छ । समाजमा हिजोआज विचलन बढ्दै गएको देखिन्छ । माया, प्रेम, मोह, लोभ, इर्ष्या, काम, क्रोधजस्ता संवेगहरूलाई आवश्यक नियन्त्रणमा राखिनुपर्ने हो, तर नियन्त्रण गुमाएर बरालिँदैछ, समाज ।


पाँचथर हत्याकाण्ड अति नै हिंस्रक घटना हो । यसको शब्दमा जतिसुकै र निन्दा र घृणा गरे पनि कमै हुन्छ । मानसिक सन्तुलन गुमाएका मान्छेबाट मात्रै यस्तो घटना हुनसक्छ । दुनियाँकै सबैभन्दा चेतनशील प्राणी भएर पनि यो हदसम्मको कुकृत्य मानिसले गर्न सक्छ ? हाम्रो समाज हिजोआज कता जाँदैछ ? अपराधीले पनि आत्महत्या गरेको हो भने यो घटना कता जानेछ ? यसले समाजमा कस्तो खाले सन्देश प्रवाह गरिरहेको छ ? पक्कै पनि यस घटनाले प्रशासन र सरकार, मनोविद र हरेक नेपालीलाई गम्भीरतार्पूवक सोच्न बाध्य पारेको हुनुपर्छ ।


सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले घटनास्थल २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले घटना घटाएको अनुमान गरेको छ । उनी मात्रै यस घटनाका दोषी हुन् वा उनको साथमा अरु पनि कोही थिए वा अरु कसैले यस घटना घटायो भन्नेबारे सत्य–तथ्य बाहिर आएको छैन । यस्तो जघन्य अपराधको अनुसन्धान त्यो शवसँंगै कदापि बन्द हुनुहुँदैन । घटनाको सम्पूर्ण तहको छानबिन हुनैपर्छ ।
– सन्तोष सिम्खडा,भीमसेन थापा गापा–२, गोर्खा

प्रकाशित : जेष्ठ ९, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?