खुलामञ्च खोइ ?

४ वर्ष अघिको विनाशकारी भूकम्पपश्चात थोरै भए पनि समाजमा खुला ठाउँको महत्त्वबारे चर्चा भएको थियो  । त्यसयता सार्वजनिक जग्गा अतिक्रमण ह्वात्तै बढेको छ  ।

खुलामञ्च खोइ ?

राजधानीको मुटुमा अवस्थित खुलामञ्च नै भूमाफियाको निसाना बन्दा पनि काठमाडौं महानगरपालिका के हेरेर बसेको होला ? प्रधानमन्त्री निवास बालुवाटार भित्रकै जग्गा पनि भूमाफियाले व्यक्तिका नाममा ल्याइसके । यसमा सर्वहाराको कुरा गरेर कहिल्यै नथाक्ने नेकपाकै महासचिव मुछिँदा पनि कारबाही भइरहेको छैन । खुलामञ्चमा टहरा बनाएर व्यापारिक प्रयोगमा ल्याइसकेको छ । एक वर्षअघि काठमाडौंको पुरानो बसपार्कमा बन्ने भ्युटावरको निर्माण सामग्रीसहित सवारी साधन राख्ने अनुमति पाएको जमिनमा अहिले रातारात व्यापारिक प्रयोजनका ४० भन्दा बढी टहरा निर्माण भएका छन् । केही टहरामा व्यापार सुरु भइसक्दा समेत महानगर बेखबर भएको बताइरहेछ । यो महानगरपालिकाको गैरजिम्मेवारीको पराकाष्ठा नै हो । खुलामञ्च सुरक्षित हुनुपर्छ । आम मानिसले प्रयोग गर्न पाउनुपर्छ । ए, महानगरका पदाधिकारीहरू हो, मलाई देखाइदेऊ, खै कहाँ छ, हामीले सास फेर्ने खुलामञ्च ?
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं
िि
िखुलामञ्च चारैतिर खुल्ला भएको, कतैतिरबाट पनि घाम नछेकिने खाले जमिन हो । राजधानीको अहिलेको अस्तव्यस्त निर्माण प्रक्रिया हेर्दा मध्यकालीन अराजकता र मनपरीतन्त्रको चरम नमुनाजस्तो लाग्छ । रत्नपार्कदेखि त्रिपुरेश्वरसम्म, भद्रकालीदेखि माइती घरसम्म कुनै बेला एकछत्र फैलिएको टुँडिखेल अर्थात् खुलामञ्च अहिले मरिचझैं चाउरिँदै र च्यापिँदै गएको छ । खुलै रहनुपर्ने खुलामञ्च अहिले राज्य संरक्षित भूमाफियाहरूले आफ्नै सम्पत्तिजसरी प्रयोग गरिरहेका छन् । सहिद गेटभन्दा तल्लो भाग पनि सेनाले कब्जा गर्नु न्यायोचित देखिँदैन । राज्यको सुरक्षार्थ रहेको सेनाले तल्लो टुँडिखेलमै मिनी सिंहदरबार बनाई रजगज देखाउनु कति सान्दर्भिक होला ? यो जनगुनासो रहेको छ । खुलामञ्च कसले अतिक्रमण गरेको हो ? यसको नसनाता कोसँग जोडिएको छ ? कान्तिपुरले विस्तृत समाचार ल्याउने प्रतीक्षामा छु । निर्माण कार्य गर्न अनुमति दिने निकाय कुन हो ? त्यसको नैतिक जिम्मेवारी कसले लिने ? कोही तयार छैनन् । तर सबै काम भइरहेको छ । यो के भएको हो मुलुकमा ? सम्बन्धित वडा, महानगरपालिका र केन्द्रीय सरकार नै बेखबर ? कसरी सम्भव हुन्छ यो ? यसमा केही खेल भइरहेको छ, बुझ्न सकिन्छ ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं
िि
िशुक्रबार कान्तिपुरमा ‘खुलामञ्च कब्जा’ पढेपछि दिक्क लाग्यो । त्यस्तो हर्कत गर्नेहरूलाई एकछिन छिःछिः गरेँ । यो सबै माफियाले गरिरहेछ । अहिले देशै माफियाहरूले चलाइरहेका छन् । पैसा र पावर हुनुपर्छ । जे पनि हुन्छ । संविधान, ऐन, कानुन त कागजी दस्तावेज मात्र हुन् ।
यहाँ कसैलाई शान्तिपूर्वक रात गुजार्ने एकबित्ता जग्गा छैन । कतै जग्गाकै खेती भइरहेको छ । काठमाडौंको खुलामञ्च धरी भूमाफियाले कब्जा गरिसके । महानगर र वडा कार्यालय अझै गैरजिम्मेवार अभिव्यक्ति दिएर बसेको छ । सरकारको नजर पुगेको छैन । कसको नजर पुग्नुपर्ने हो ? कसले आएर बोलिदिने हो ? सरकार तालमा ताल सुरमा सुर मिलाएर हिँडिरहेको छ । यो कस्तो सरकार हो ? कसको सरकार हो ? जहाँतहीँ माफियाहरूकै विगविगी छ । उनीहरूकै बोली बिक्छ । सरकारकै मिलेमतोमा भइरहेको माफियागिरी कार्यलाई अब जनताले रोक्नुपर्छ । प्रतिवाद गर्नुपर्छ । सरकारले गर्न नसक्ने काम जनताले गर्नुपर्छ । नगरे देश गुमाउनुपर्छ । यसका लागि जनता सडकमा आउनुपर्छ ।
– राजेश विद्रोही, लहान, सिरहा

प्रकाशित : वैशाख १४, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?