बालुवाटार व्यक्तिको नाममा

काठमाडौँ — ‘प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिका नाममा’ भनी प्रकाशित समाचार पढेपछि कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने लोकोक्तिको याद आयो  । एउटाका नाममा लिखत दर्ता भएका तर बसोबास गर्ने व्यक्ति अन्य भएका भन्ने जनगुनासा राजधानी वा जिल्ला–जिल्लामा छयापछ्याप्ती सुनिने गरेका भए पनि बडो टिठलाग्दो तितो तर सत्य कुराबारे यो समाचार पढेपछि यथार्थ खुलस्त भयो  ।

कहिलेकाहीं सरकारी निकायमा रहने तालुकदार अड्डाका माथिल्लो तहका कर्मचारीलाई लाग्दो हो, कान्तिपुरले कसरी यस्ता सूचना प्राप्त गर्छ ? ठेगानै लगाइदिने पो हुने कि भनेर रिस पनि उठ्दो हो र चर्चा पनि चल्दो हो । देशकै कार्यकारी प्रमुख विराजमान हुने थलो बालुवाटारकै वरिपरि १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्दा न कारबाही गर्न जिम्मेवारी पाएका अख्तियार लगायतका उच्च निकायले बोलेका छन्, न त्यहाँ केही महिना वा वर्षका लागि भए पनि कार्यकारी बन्ने शौभाग्य पाउनेहरूले नै फचुँ’ गर्ने साहस गरेका छन् ।
– श्यामसुन्दर कुइँकेल, हाडीगाउँ, काठमाडौं

......

‘प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिका नाममा’ समाचारले राष्ट्रकै बेइज्जती भएको छ । यसबाट सबैभन्दा बढी अनियमितता हुने, घुस खाने/ख्वाउने कार्यालय मालपोत/नापी भएको कुरा फेरि प्रस्ट भएको छ । त्यस बाहेक सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफ्त गरिएका जग्गाको हिनामिना सम्बन्धी छानबिन समितिले बुझाएको प्रतिवेदनमा कारबाहीका लागि सरकारी अधिकारीको नामै तोकेर सिफारिस गर्दा पनि त्यसको बेवास्ता गर्नुले देशव्यापी रूपमा रहेका भूमाफिया र जग्गा अतिक्रमणकारीहरूको प्रभाव कम होला भन्ने आशा गर्न सकिँदैन । राष्ट्रिय बेइज्जतीबाट मुक्ति पाउन सरकार आफैंले बनाएका नीति–नियमको पालना गर्नुपर्‍यो । व्यवस्था गरिएका सुशासनका कुरा केही भए पनि लागू हुनुपर्‍यो । अनि देखाउनकै लागि भए पनि भ्रष्टाचार र अनियमितता गर्ने उच्च पदाधिकारीहरूले सजाय पाउनुपर्‍यो ।
– कमला राजभण्डारी, सिर्जनानगर, भक्तपुर

प्रकाशित : चैत्र २७, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?