१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्कुलमा राजनीति

काठमाडौँ — मुलुकभर सञ्चालित शिशु कक्षादेखि विश्वविद्यालयसम्मको पठन–पाठनमा सुधार, हुनुपर्ने आवाज बुद्धिजीवीहरूले उठाउँदै आएका छन्  । मुलुकको प्राज्ञिक स्थल मानिएका विश्वविद्यालयहरूमा पटक–पटक हुने तालाबन्दी, हंगामा, तोडफोड लामो समयदेखि जग हँसाइको विषय बन्दै आएको छ  ।

स्कुलमा राजनीति

अधिकांश सामुदायिक विद्यालय राजनीतिक अतिवादले थलिएका, कतिपय शिक्षक अध्यापनभन्दा नेताको झोला बोकेर स्वार्थसिद्धिमा तल्लिन हुने गरेका, विद्यालयको अवस्था नाजुक हुँदा पनि जिम्मेवार नदेखिनु गैरजिम्मेवारीको पराकाष्ठा नै हो ।


बिहीबार प्रकाशित ‘फेल भए शिक्षकलाई कारबाही’ खबर पढेपछि भने शिक्षाप्रेमीमाझ नौलो तरंग थपिएको हुनुपर्छ । संघीय संसद्को ८ सदस्यीय उपसमितिले पठन–पाठनमा शिक्षक सबैभन्दा बढी जिम्मेवार हुने ठहर गर्दै परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्नुपर्ने, एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्का एवं थप कारबाही हुनुपर्ने, तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी’ र ‘ई’ ग्रेड ल्याए सम्बन्धित विषयशिक्षकलाई सेवामुक्त गर्नुपर्ने, प्रधानाध्यापकलाई पदबाट घटुवा गरिनुपर्ने, ९० प्रतिशतभन्दा बढी विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याए थप बजेटको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ । प्रत्येक शिक्षकले अनिवार्य शिक्षण अनुमतिपत्र लिई ५–५ वर्षमा नवीकरण गराउनुपर्ने, प्रधानाध्यापकलाई प्रत्येक ५ वर्षभित्र अन्य विद्यालयमा सरुवा गरिनुपर्ने, प्रत्येक शिक्षकलाई बेलाबखत छोटो अवधिको तालिम दिनुपर्ने, ३५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था गरिनुपर्नेजस्ता सरकारलाई दिएको सुझावलाई शिक्षा सुधारको नयाँ कदम मान्नुपर्छ । उपसमितिका अधिकांश सुझाव निजामती सेवा ऐनसँग मिल्दाजुल्दा देखिन्छन् । सुझाव हुबहु लागू भएमा सबै शिक्षक उत्साहित, जिम्मेवार र प्रतिस्पर्धी बन्न अग्रसर रहने, विद्यालयमा ‘टिम स्पिरिट’ को संस्कार अभिवृद्धि हुने आशा राख्न सकिन्छ । कुरूप राजनीतिले डढेलो लगाइसकेको, कोही कसैसँग नडराउने, अनुशासनहीन बन्ने, असन्तुष्टि पोख्न प्रधानाध्यापकको कठालो समात्न पनि पछि नपर्ने शैक्षिक बेथितिबीच नियम र आदर्शवादी सिद्धान्त लागू हुन सक्ला र ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र १६, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?