बन्दको नाटक
काठमाडौँ — हरेक राजनीतिक आन्दोलनमा विद्यार्थीलाई ताकिन्छ । वार्षिक परीक्षा नजिकिँदै गर्दा लाखौं विद्यार्थीले एउटा पार्टीको बन्दका कारण पढ्न पाएनन् ।
हतियारसहित पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन दबाब दिने उद्देश्यले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द) को भ्रातृ संगठन अखिल क्रान्तिकारीले देशभर शैक्षिक हडताल गर्यो । मुलुकभरका ८० लाख विद्यार्थीको पढाइमा प्रत्यक्ष बाधा पुग्यो । तर सरकारलाई यसले छोएन ।
आफ्ना कार्यकर्ता रिहाइ गर्ने माग गर्दै विद्यार्थीको पढाइलाई असर गर्नेगरी राजनीति गर्नुभन्दा संसद् अवरुद्ध गरुन्, सिंहदरबार बन्द गरुन्, बालुवाटार बन्द गरुन्, शीतल निवासमा धर्ना दिउन्, ताकि सरकारले उनीहरूका माग चाँडो सम्बोधन गरोस् । मन्त्रीका गाडी आवत–जावतमा रोक लगाएर बन्द गर, सार्वजनिक यातायात चल्न देऊ, चिल्ला कारमा हिँड्नेलाई रोक, गरिबका साइकल चल्न देऊ, सक्छौ भने ती महल बन्द गर, रेस्टुरेन्ट बन्द गर, अनि सामान्य बजार र गरिब जनताले खाने होटल चल्न देऊ । अनि साथ दिन्छौं हामी बन्दलाई । जायज मागसहित गरिएको बन्दले जोसँग माग गरेको हो, उसैलाई असर परोस् । सोझासाझा नेपालीलाई दु:ख दिने बन्द हामीलाई सह्य हुँदैन ।
चालु शैक्षिक सत्रमा अखिल क्रान्तिकारीले ६ पटक शिक्षण संस्था बन्द गरिसक्यो । परिणाम, के पायो ? विद्यार्थीको पढाइ बिगारेर राष्ट्रका लागि राजनीति गर्ने कति महान हो ? विद्यालय बन्द गराउन धम्की दिने काम कतिको जायज हो ? विद्यालय शान्ति क्षेत्र घोषणा गर्ने सरकारले किन सुरक्षा दिन सक्दैन विद्यालयलाई ? सुरक्षा सुनिश्चित नभएकै कारण बन्द आह्वान गरिने बित्तिकै बन्द गर्नुपर्ने अवस्था हुनु शैक्षिक क्षेत्रको विडम्बना हो ।
सरकारले २०६८ सालमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्यो । त्यसपछि विद्यालयमा कति बन्द भए ? कति हडताल भए ? त्यसको तथ्याङ्क सरकारसँग नहोला । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे अनुसार विद्यालयमा बन्द, हडताल लगायत गतिविधि गर्न पाइँदैन । तर हरेक वर्ष बन्द, हड्ताल भोग्नु परिरहेको छ । राजनीतिक कुरालाई लिएर विद्यालय बन्द गराउनु मुर्खता सिवाय केही होइन । बन्द, हड्ताल निरुत्साहित गर्न अब सरकारले विशेष कदम नचाली हुन्न ।
– नवीन देवकोटा, पञ्चदेवल विनायक–२, अछाम