कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आवेग मिश्रित कूटनीति

काठमाडौँ — स्वीट्जरल्यान्डको डाभोसमा सञ्चालित वल्र्ड इकोनोमिक फोरममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी भित्र्याउन सहभागी राष्ट्रहरूसँग आह्वान गरिरहेका बेला सत्तारुढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामाथि अमेरिकाले साम्राज्यवादी चरित्र देखाएको, आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनी आलोचना गर्दै कडा वक्तव्य निकालेपछि कूटनीतिक हलचल उत्कर्षमा पुगेको हो ।

धेरै परराष्ट्रविदले सन् १९४७ देखि कूटनीतिक सम्बन्ध रहेको अमेरिकालाई आवेग मिश्रित अभिव्यक्ति दिनु, भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको पक्षमा उभिनु उचित नभएको विचार व्यक्त गरिरहँदा बिहीबारको ‘दाहाल वक्तव्यमा शव्द चिप्लिएको’ खबरले उक्त कुरालाई थप पुष्टि गरेको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार प्रधानमन्त्रीले भेट दिएको बेला उक्त कुरा बताएका हुन् ।


बुधबार राति नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ साक्षात्कारमा पनि आफू नभएको बेला हतारमा संवेदनशील विषयमा वक्तव्य दिनु उचित नभएको प्रधानमन्त्रीले व्यक्त गरेका छन् । बिहीबारै प्रधानमन्त्रीको अवधारणाबारे पत्रकारहरूले भरतपुर विमानस्थलमा दाहालको प्रतिक्रिया माग्दा ‘व्यक्तिले के भने भन्दा पनि पार्टी, सरकारले मेरै वक्तव्यलाई आधिकारिक मानिसकेको’ धारणा दोहोर्‍याएपछि सबै स्तव्ध बनेका छन् । नेतृत्व बीचको समझदारीबाट सत्तापक्ष र प्रतिपक्षले सल्लाह गरेर एउटै स्वरमा कूटनीतिक भाषा उपयोगमा ल्याउने व्यवस्था नभएसम्म मुलुकको गरिमा, अस्तित्व धरापमा परिरहनेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

भेनेजुएलाको घटनालाई लिएर नेकपाका दुई अध्यक्षबीच वाकयुद्ध प्रारम्भ भएको छ । ओली प्रचण्डको शब्द चिप्लिएर त्यस्तो भएको बताउँदै छन् भने प्रचण्ड आफ्नो विज्ञप्ति पूर्ण ठिक भएको र पार्टी र सरकारको विज्ञप्तिले पनि त्यसलाई सही प्रमाणित गरेको दाबी गर्दै छन् । दुबैको कुराले आमजनता रणभुल्लमा छन् । नेपाल टेलिभिजनको ‘जनतासँंग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले आफू नेपालमै रहेको भए त्यस्तो विज्ञप्ति आउँदैन थियो समेत भन्न भ्याए । अर्थात प्रचण्डले विज्ञप्ति जारी गर्दा ओलीसँंग कुनै रायसल्लाह लिएका रहेनछन् भन्ने यसले पुष्टि गरेको छ । जुन संयुक्त अध्यक्ष प्रणालीको विफलता हो । यस्तै चाल हो भने भोलि कुनै पनि देशको मामिलामा दुई अध्यक्षको दुईथरी धारणा आउन सक्छ, अनि आम जनताले कसलाई विश्वास गर्ने ? कसलाई आधिकारिक मान्ने ? विज्ञप्ति एक दिन ढिलो हुँदैमा आकाश नै गिरिहाल्ने अवस्था थिएन । अनि अमेरिकाको नाम नलिएर पनि विज्ञप्ति जारी गर्न सकिन्थ्यो, कूटनीतिक पारामा । तर विज्ञप्तिको भाषा अलि चर्को थियो । गैरकूटनीतिक थियो । कूटनीतिक सम्बन्ध नरहेको भेनेजुएलाबारे नबोल्दा पनि हुन्थ्यो । सबै देशले बोलेका छैनन् पनि ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

नेकपा अध्यक्ष पुष्पकमल दाहालको धारणाले तरंगित नेपाल–अमेरिका सम्बन्धबारे प्रधानमन्त्री ओलीले शब्द चिप्लिएको भनेका छन् । यिनको यो भनाइलाई अमेरिकाले स्वीकारिदेओस् । यसले नै हाम्रो भलाइ हुनेछ । अन्यथा दहालको भनाइलाई अमेरिकाले नजिकबाट अध्ययन गरिरहेको अनुमान लगाउन सकिने अवस्था सिर्जना हुँदै गइरहेको छ । पछिल्लो समय प्रधानमन्त्री उपस्थित कूटनीतिक नियोगका पदाधिकारीहरूको बैठकमा उपस्थित नहुनु र नेपालका राजदूतलाई बोलाएरै धारण माग गर्नु कूटनीतिक हिसाबले चानचुने कुरा नभएको परराष्ट्रविज्ञहरूले बताइरहेका छन् । अमेरिकासँगको हाम्रो यात्रा लामो छ । भेनेजुएलामा हाम्रो दूतावास पनि छैन । यस्तो देशबारे उतर्सिएर कतै–कतै हामीले मूल्य चुकाउनुपर्ने त होइन भन्ने मानसिकता बढ्दै गइरहेको छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : माघ २६, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?