१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

तटस्थता नगुमाओस्

काठमाडौँ — नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएलामाथि अमेरिकी कदमप्रति जारी गरेको व्यक्तव्यलाई अमेरिकाले चासोसाथ लिएको प्रस्ट देखियो ।

तटस्थता नगुमाओस्

शुक्रबार सरकारले आफ्नो धारणा साथै लगानी सम्मेलनबारे नेपालस्थित कूटनीतिक निकायका प्रमुखहरूको ब्रिफिङमा अमेरिकी राजदूत ‍र्‍यान्डी बेरी आएनन् । वासिंटन डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा बोलाएर नेपाली राजदूत अर्जुन कार्कीलाई सरकार र प्रचण्डको समान धारणा हो वा होइन भनी सोध्नुले हाम्रो तटस्थ कूटनीतिमा प्रश्न उठेको छ ।


अध्यक्ष दाहालको विज्ञप्ति बेमौकाको बाजा हो । हिजो सिरियामा नरसंहार हुँदा मौन बसे । म्यानमारमा लाखौं लखेटिए, चुपचाप बसे । श्रीलंकामा राजनीतिक उथलपुथल भयो, देखेको नदेखेझैं गरे । कतारमा अन्य अरबियन मुलुकले आर्थिक नाकाबन्दी गर्दा केही बोलेनन् । आफ्नै देशको लिम्पियाधुरामा भारत र चीनले मनोमानी गरे । आवाज निकालेनन् तर कहाँ कहाँको आदानप्रदान केही नहुने ल्याटिन अमेरिकी देशबारे अमेरिकाको कदमलाई लिएर कडा निन्दा गरे, जुन हाम्रो आवश्यकता थिएन । दाहालको विज्ञप्ति हतपतको काम लतपत भनेझैँ हो । नेपालजस्तो राष्ट्रिय ढुकुटी अरूबाट लिएर भर्नुपर्ने मुलुकले विश्वशक्ति अमेरिकी कदमबारे मौन बसेकै उत्तम हुन्थ्यो । अमेरिका विश्वशक्ति मात्र नभएर नेपालको ठूलो दातृ राष्ट्रसमेत हो । यसले गर्दा सरकार र नेकपा अध्यक्ष प्रचण्डको विज्ञप्तिले अमेरिकी सहयोग घट्न सक्ने देखिन्छ । नेपाललाई दिने भन्सार शुल्कलगायत अन्य क्षेत्रमा ठूलो घाटा बेहोर्नुपर्ने हुन सक्छ । सरकार भ्रमण वर्ष २०२० मनाउन अघि सरिरहँदा धेरै पर्यटक आउने अमेरिकासँगको यस्तो सम्बन्ध रहनु राम्रो होइन । यसले न त हाम्रो लक्ष्य भेट्न सक्छ न छवि राम्रो बन्न । अमेरिकाबाट पाउने सहयोगमा सरकारले कूटनीतिक पहल नगरे‘ब्रेक’ लाग्ने सम्भाना छ । भेनेजुएलाबारे दाहालको विज्ञप्ति आएपछि सरकारको धारणा अमेरिकाले माग्यो । उसलाई आशा थियो दाहालको भन्दा सरकारको बेग्लै धारणा आउँछ र सम्बन्ध यथावतै रहन्छ तर सरकारले पनि दाहालकै विचारलाई अनुमोदन गर्ने तवरले धारणा बनायो । यता सरकारमा रहनेले दाहालको विपरीत जाँदा सत्तामा गडबड हुने देखेर आफ्नो फाइदा हेर्दा देशलाई नोक्सान हुँदै छ । अहिले लगानी सम्मेलन गरिए अमेरिका सामेल नहुन सक्छ । लगानी सम्मेलन भनेजस्तो नहुन सक्छ । यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ । कोही एक पार्टी अध्यक्षलाई जोगाउँदा देशलाई नोक्सान नहोस् । वर्षौंपछिको अमेरिकी विदेशमन्त्रीले नेपाली विदेशमन्त्रीलाई निमन्त्रणा गरेर भेटेलगत्तै यस्ता कदम चाल्नाले उपलब्धि केही हुनेछैन । सत्ताधारीले तुुजुक देखाउने होइन । शान्त र सौम्यभावले परिस्थितिको आकलन गरोस् । सरकारले कूटनीतिक तवरबाट नेपाल–अमेरिका सम्बन्ध पहिलेकै अवस्थामा ल्याउन पहल गरोस् ।
–समय अधिकारी, सिनाम, ताप्लेजुङ

नेपालको राजदूतावाससमेत नभएको दक्षिणी अमेरिकी राष्ट्र भेनेजुएलाको वर्तमान राजनीतिक परिस्थितिबारे वक्तव्य दिएर विवादित बन्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार त्यसको पुस्ट्याइँमा जारी गरेको अर्को वक्तव्यले नेपाल–अमेरिका सम्बन्धलाई असर पार्लाजस्तो छ । अध्यक्ष दाहालको पहिलो वक्तव्यलगत्तै अमेरिकाले नेपालको सरकारी धारणा मागेकामा दाहालकै धारणासँग मिल्ने गरी मंगलबार आएको सरकारी वक्तव्यले पनि अमेरिकालाई रुष्ट बनाएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा बोकेको सरकारले समृद्ध अमेरिकासँग सम्बन्ध बिगारेर विदेशी लगानी आकर्षित गर्ने कुन बाटो अवलम्बन गर्ने हो ? हेर्न बाँकी छ ।
–महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : माघ २०, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?