मध्यस्थकर्ता कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — १. कांग्रेसले आफू सरकारमा रहँदा शिक्षा तथा स्वास्थ्यमा निजीकरण ऐन ल्याएको र उसैका पालामा पूर्वाधार नपुर्‍याइ सम्बन्धन दिएको हुँदा पानीमाथिको ओभानो नभई उसले आफ्नो खारिएको अनुभवलाई उपयोग गरी मिलनविन्दु खोज्न अग्रसरता देखाउनुुपर्छ ।


२. बौद्धिक समुदायले पनि डा. केसीसित सती जाने सोच राख्नुहुन्न भने डा. केसीले पनि हठ छाडी अहिलेसम्म सम्बन्धन दिइएका र अब दिनुपर्ने सम्बन्धनका आवश्यक मापदण्ड परिपालना गर्न भूमिका खेल्नुपर्छ ।
३. राज्य हाँक्नेहरूले पनि व्यक्तिले गरेको अनशनका बलमा संसद् र सरकार पछि नहट्ने जस्ता अभिव्यक्ति दिनु हुन्न। अब के गर्दा ५० औं दशकसम्म काम लाग्ने शिक्षा नीति बनाउन सकिन्छ भनी विज्ञहरूसँग परामर्श गर्नुपर्छ ।
४. १० वर्ष नयाँ कलेजले थप सम्बन्धन नपाउँदा विगतमा सम्बन्धन पाएका कलेजहरूले सिर्जना गरेको सिन्डिकेट अकल्पनीय हुने र यहाँ नपाए विदेश जाने लहरतिर पनि ध्यान पुर्‍याउनु जरुरी छ साथै राज्यले खर्च गरी पढाएका जनशक्तिलाई दुर्गम र पिछडिएका क्षेत्रमा कम्तीमा ५ वर्षसम्म सेवा गर्न पठाउने नीतिलाई बदलेर २ वर्षमात्रै गर्ने केसीको अडान उचित छैन ।
५. एउटा विश्वविद्यालयले ५ भन्दा बढी सम्बन्धज दिन नपाइने भन्ने नीति घातक छ ।
६. चाहे ओली, प्रचण्ड, देउवा हुन् वा डा. केसी कसैलाई पनि देवत्वकरण नगरी सबैले तथ्यमै आधारित रही कर्म गर्नु अपेक्षित छ ।
७. सरकारले पूर्वाधार नपुगेका कलेजलाई पुगेको भनी सिफारिस गरी ककसले राज्यमाथि घात गरे त्यस्तालाई कारबाही गर्नुपर्छ । तिनै हुन्, विकृति ल्याउने जड, जुन विकृतिको शृङ्खला अद्यापि छ भन्ने पुष्टि विराटनगरको एक मेडिकल कलेजको बिरामी बेड संख्याबारे दिइएको फर्जी सिफारिसबाट सहजै खुल्छ ।
८. निकासका निम्ति सरकार पनि डा. केसीका मागप्रति लचिलो बन्ने र केसी पक्ष पनि मिलनविन्दुमा आई
सार्वभौम संसद्माथि विश्वास गरी समाधान निकाल्नु उपयुक्त हुन सक्छ ।
– धनपति कोइराला
कावासोती, नवलपुर

प्रकाशित : श्रावण १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

कति दिनमा काजकिरिया ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार प्रकाशित किरण विकको ‘१३ दिने संस्कारका विकार’मा प्रकट विचार समय–सापेक्ष छ । मृत्यु संस्कार ३–५ दिनमा सक्नु नै सबैभन्दा उत्तम हुने धारणा निश्चय नै अवलम्बनीय छ । कान्तिपुरले विगत केही समययता संस्कार सुधारका पक्षमा कलम चलाउनेलाई स्थान दिएकोमा साधुवाद !

आफन्तजनको किरियामा बढी समय र अधिक खर्च लगाई स्वास्थ्य बिगारी संस्कार सम्पन्न गर्नु लोकाचार र अन्धानुकरण हो । आधुनिक विज्ञानसम्मत जमानामा रूढिवादको औचित्य पुष्टि हुँदैन । १९९७ सालअघि नै अमर सहिद शुक्रराज शास्त्रीको अगुवाइमा गठित आर्यसमाजको मलामी गुठीले वैदिक विधि अनुसार ३ दिनमा शुद्धि हुने अभियान चलाएको थियो । तर निरंकुश राणाशासनको व्यवहार र तत्कालीन सामाजिक परिवेशका कारण यसले व्यापकता पाएन ।


विवेक सिर्जनशील प्रकाशनले २०७१ सालमा प्रकाशनमा ल्याएको ‘संस्कार’ पुस्तकमा सुधारका पक्षधरले संस्कारका नाममा व्याप्त विकृति र विसङ्गतिलाई उजागर गर्दै सुधारका लागि महत्त्वपूर्ण अभिमत प्रकट गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान यो विषयमा गोष्ठीमै सीमित छ । मृत्यु संस्कार सुधारको सङ्कल्पमा ३ दिने विकल्पको खोजीमा अग्रसर संस्कार सुधार समाज नेपालले २०७३ सालमा ‘५ दिने अत्यपद्धति’ प्रकाशमा ल्याएको छ र ५ दिनमा शास्त्रसम्मत तवरमा काजकिरिया सम्पन्न गर्न सकिने विधि बताएको छ । यसलाई राष्ट्रकवि माधव घिमिरे, आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेल, संस्कृतिविद वीणा पौड्यालले स्वागत र समर्थन जनाएका छन् । नेपाल आर्य समाजका केन्द्रीय अध्यक्ष कमलाकान्त आत्रेय पोखरेलले त ३ दिनमै शुद्धि हुने वेद अनुकूल प्रावधान गरिएको भए झन् राम्रो हुने थियो भन्ने विचार व्यक्त गरेका छन् । अत: समयानुकूल संस्कार सुधारको पक्षमा सार्थक अभियान चलाउन समाजका प्रबुद्ध, चेतनशील वर्ग र सञ्चारकर्मीहरू अग्रसर हुनु उपयोगी सिद्ध हुनेछ ।
– विदुर केसी
नागार्जुन–१०, स्युचाटार, काठमाडौं
***


किरण विकको सोमबार प्रकाशित ‘१३ दिने संस्कारका विकार’ पढ्दा उदेक लाग्यो । संस्कारलाई पुरातनको संज्ञा दिने उनलाई यसबारे कत्ति पनि ज्ञान रहेनछ । लेखमा खालि आधुनिक समाजमा मृत्यु संस्कार लामो भयो, अव्यावहारिक भयो मात्रै भनिएको छ । यहाँ प्रचण्डको प्रसङ्ग त कोट्याइएको छ, तर किन स्पष्ट छैन । प्रचण्डले त कुनै पनि संस्कार गर्दैनन्, गरेका छैनन् । उसो भने अरूले पनि नगर्ने त ? कति युक्तिसंगत छन्, लेखकका तर्क ? १३ दिनसम्म १ छाक शुद्ध खाएर बस्नु लेखकका लागि कसरी अव्यावहारिक भएछ ? अनि धेरै रुने कुरा मृत्यु संस्कारले कतै रुनुपर्छ भनेको छ र ? १३ दिनको महत्त्वको प्रसङ्ग पनि अमिल्दो छ ।


आफ्ना पितृ उद्धारको लागि धर्मशास्त्र अनुसार १३ दिन काजकिरिया नगर्ने के छोरो ? कित अहिलेका धर्मग्रन्थभन्दा श्रेष्ठ र सर्वग्राह्य ग्रन्थ प्रतिपादन गर्नुपर्‍यो, होइन भने धर्मग्रन्थमा भएका विधि–विधानमाथि बेकारका टिप्पणी गर्नुको कुनै तुक छैन । हाम्रो धर्म सहज छ । कसैलाई जबर्जस्ती यसो गर्नैपर्छ भनेको छैन । प्रचण्डले गरेनन् के भो त ? उनलाई किन गरिनस् भनेर कसैले नत्थी लगाएको छ र ? सामान्य आलोचना त हुन्छ नै, त्यो तहको मान्छेले समाजको प्रचलनमा तलमाथि गर्दा । कुन आधारमा समाज विकासको अवरोध गर्‍यो, १३ दिने मृत्यु संस्कारले ?
– शिवप्रसाद घिमिरे
नेपाल वेदविद्याश्रम, सं.मा.वि., वनकाली, गौशाला, काठमाडौं

प्रकाशित : श्रावण १, २०७५ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्