२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विवादको घेरामा प्रधानन्यायाधीश

काठमाडौँ — सार्वजनिक पदमा बसेपछि मानिसहरू कहिलेकाहीं विवादमा पर्छन् । कहिलेकाहीं चाहेर नचाहेर पनि अप्रिय निर्णय लिनुपर्ने हुन्छ । तर आफ्नो नितान्त व्यक्तिगत कारणले सदासर्वदा विवादमा परिरहनु, जानीजानी विवादास्पद बनिरहनु राम्रो होइन ।

विवादको घेरामा प्रधानन्यायाधीश

तर विडम्बना प्रधानन्यायाधीश गोपाल पराजुली सधैं विवादमै परिरहेका छन् । नेपालको इतिहासमै यति धेरै विवादास्पद प्रधानन्यायाधीश यसअघि सम्भवत: थिएनन् । उनी किन सधैं विवादमा आउन चाहन्छन् ? उनका कारणले नेपालको न्यायालयका विषयमा आम जनमानसमा जुन नकारात्मक छवि प्रस्तुत भएको छ, त्यो दु:खद छ । एउटा व्यक्तिका कारण पूरै संस्थाको छवि नै धुमिल हुनु पक्कै राम्रो होइन । न्यायालयप्रतिको विश्वासलाई कायम राखिराख्न पनि वर्तमान प्रधानन्यायाधीशले विवाद उठिरहेको सन्दर्भमा आफूलाई न्यायकर्मबाट अलग राख्नुपर्छ र आफूमाथिको निष्पक्ष अनुसन्धान अगाडि बढ्ने वातावरण तयार गर्नुपर्छ ।

– गोपाल देवकोटा

गोकर्णेश्वर–८, काठमाडौं

***

चार थरी नागरिकता प्रधानन्यायाधीश गोपाल पराजुलीका ४ थरी जन्ममिति फेला परेको खबर सुन्दा अचम्म लाग्यो । देशका प्रधानन्यायाधीशले नै कानुनको खिल्ली उडाएको यो एक उदाहरण मात्रै हो । यसरी न्यायालयको विश्वासमै प्रश्नचिह्न खडा गर्ने गरी किर्ते कागज बनाउने जोकोहीलाई पनि कारबाही गर्नुपर्छ । यो देशका तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाप्रति जनविश्वास कायम हुन सक्दैन भने कसरी हुन्छ समृद्ध नेपाल ?

– नवीनकुमार देवकोटा

पञ्चदेवल–विनाय–२, अछाम

***

कान्तिपुर दैनिकले ‘प्रधानन्यायाधीशका ४ थरी जन्ममिति’ शीर्षक राखेर सनसनीपूर्ण समाचार शनिबार प्रकाशित गर्‍यो । सर्वसाधारणले कानुनको पालना नगरे पालना गर्न बाध्य पार्ने, कानुनत: विवादित तमाम विषयमा तथ्यगत व्याख्या गरिदिने र कोही अन्यायमा परे तत्कालै न्याय दिलाइदिने एक मात्र निकाय सर्वोच्च अदालतकै नेतृत्वकर्ताले कानुन उल्लंघन गरेको खबर बाहिर आउनु लज्जाजनक विषय हो । सर्वप्रथमत: तमाम जनाताको आस्थाको धरोहरका रूपमा रहेको सर्वोच्च अदालतबारे केही समयअघिदेखि पत्रपत्रिका आएका समाचारमा सार्वजनिक भएका स्वयम् प्रधानन्यायाधीशकै थरीथरीका जन्ममितिबारे सत्यतथ्य के हो, खुलाइदिनुपर्ने हो सर्वोच्च अदालतले । धेरै सार्वजनिक चर्चापरिचर्चा भएका विषयमा सप्रमाण खण्डन गर्नु वा बरु खुलस्त स्पष्टीकरण दिनु तथा गल्ती र कमजोरी सुधार्नुको बदला शक्ति र पदीय आडमा जनताको अजेय शक्तिलाई कमजोर ठान्नु अक्षम्य भूल हुन्छ भन्ने कुरा प्रधानन्यायाधीशले नबुझ्नुभएको पक्कै होइन । सही सूचना माग्ने जनताको अधिकारलाई नै गलत साबित गराउन खोजिएको हो कि ? ‘सत्यमेव जयते’ भनेझैं समयान्तरले सत्यलाई खुला मैदानमा ल्याउने नै छ । कुनै एउटा मान्छेका फरकफरक दुइटा नागरिकता र सरकारी निकायमै दर्ज भएका चारवटा जन्ममितिबारे केही निरुपण गरी बोलिदनुपर्ने भएको खण्डमा कस्तो निर्णय हुन्थ्यो होला उहाँहरूको न्यायिक निकायबाट ?

– श्यामसुन्दर कुइँकेल

हाँडीगाउँ, काठमाडौं

***

सत्यमेव जयते भनेर आँखामा पट्टी बाँधेर हातमा तराजु बोकेको मूर्ति देखिन्छ अदालत परिसरमा । कानुनअनुसार अपराधीलाई कारबाही होस्, मेरो र तेरो भनेर अदालतले निर्णय नगरोस् भनेरै आँखामा पट्टी बाँधिएको हो भन्ने सुनेको छु । अदालतको फैसला निष्पक्ष हुन्छ भन्ने विश्वास जनमानसमा छ । तर अदालतको फैसलामै प्रश्न उठाउनुपर्ने अवस्था आएको छ । जोसँग पैसा र शक्ति छ, उसैका पक्षमा कानुनी फैसला हुने रहेछ भन्ने केही मुद्दाले देखाएका छन् । न्यायालय राजनीतिक भर्तीकेन्द्रजस्तो पनि बनेको छ । आम नागरिकले कसरी विश्वास गर्ने न्यायालयलाई ? न्यायका लागि अब कहाँ जाने ? न्यायालयको साख गिर्दो छ । योग्यताभन्दा पार्टीको भागबन्डामा न्यायाधीश नियुक्ति हुन थालेपछि न्यायालय कसरी स्वतन्त्र रहिरहन सक्छ ?

– पुरुषोत्तम घिमिरे

जोरपाटी, काठमाडौं

प्रकाशित : माघ २८, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?