कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोला प्रथाबाट कर्मचारी छनोट

धनकुटा — प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रूपमा कर्मचारी खटाउने उद्देश्यले गोला प्रथा विधि अपनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय रोहवरमा बिहीबार गोलाबाट मतदान केन्द्रमा खटाइने कर्मचारीको टुंगो लगाएको हो ।

गोला प्रथाबाट कर्मचारी छनोट

यसअघिका चुनावमा कर्मचारी खटाउँदा विभेद गरिएको गुनासो आएपछि आयोगले निष्पक्ष विधिका रूपमा गोला प्रथा गराउने निर्देशन गरेको थियो । दोस्रो चरणमा हुने निर्वाचनका लागि आगामी १८ गतेसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जनाए ।

‘विगतमा कर्मचारी खटाइँदा विभिन्न दबाब आउने गथ्र्यो,’ उनले भने, ‘अब त्यसको अन्त्यका लागि गोलाप्रथा वैज्ञानिक विधि प्रभावकारी बन्ने छ ।’ गोलाबाट छनोट गर्दा गुनासो अन्त्य हुने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको भनाइ छ । जिल्लामा कुल १ सय ५३ मतदान केन्द्र कायम गरिएको छ । उक्त केन्द्रमा १ हजार २ सय १४ कर्मचारी खटाइने छन् । मतदान केन्द्रमा खटाइने कर्मचारीलाई आगामी १३ देखि १५ गतेसम्म प्रशिक्षण दिइने निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाका सात स्थानीय तहमध्ये ३ नगरपालिकामा उपसचिव र ४ गाउँपालिकामा अधिकृत तथा नायब सुब्बा तहका कर्मचारी मतदान अधिकृतका रूपमा खटाइने रेग्मीले जानकारी दिए ।
परिचयपत्र वितरण सुरु
संखुवासभा– आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि संखुवासभाका साढे ८ हजार मतदातालाई परिचयपत्र वितरण सुरु गरिएको छ । स्थानीय तहको निर्वाचनमा छुटेका नयाँ मतदातालाई प्रत्येक मतदानस्थलबाट शुक्रबार परिचयपत्र वितरण थालिएको हो । १ सय ३ मतदानस्थलबाट मतदान अधिकृतमार्फत परिचयपत्र वितरण सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको चुनावपछि मतदाता नामावलीमा नाम समावेश भएका ८ हजार ५ सय ७८ ले परिचयपत्र पाउने निर्वाचन अधिकृत ऋषि दाहालले बताए ।
चुनावी सुरक्षामा ध्यान
विराटनगर– निर्वाचनविरोधी गतिविधि निस्तेज पार्न सरकारले निर्देशन दिएसँगै प्रदेश नम्बर १ अन्तर्गतका जिल्लामा प्रहरी–प्रशासनले विशेष निगरानी गर्न थालेको छ । केही जिल्लामा निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि यस्तो निगरानी बढाइएको हो ।
केही दिनअघि सम्पन्न प्रदेशस्तरीय सुरक्षा बैठकमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए । बैठकका सहभागी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतले अब पनि नरम भएर अघि बढ्ने हो भने निर्वाचन गराउन कठिन हुने भन्दै ध्यानाकर्षण गराएपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको थियो ।
पछिल्लो समय निर्वाचन विरोधमा रहेको नेकपा माओवादी विप्लव समूहको गतिविधि मुख्य चुनौतीका रूपमा देखिएको सुरक्षा अधिकारीले बताए । यो समूहका कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गर्ने र चुनावी कार्यक्रम बिथोल्ने गतिविधि बढाएपछि त्यसैअनुसारको सुरक्षा रणनीति बनाएर अघि बढ्ने बैठकमा निधो गरिएको छ ।
यसअघि निगरानीमात्रै गरिएकामा आइतबारदेखि उक्त समूहका कार्यकर्तालाई ‘जहाँ देख्यो त्यहीँ पक्राउ गर्ने’ रणनीति सुरक्षा निकायले लिएको छ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक पशुपति उपाध्यायका अनुसार पहाडी क्षेत्रको भौगोलिक विकटता अनि साधनस्रोतको कमी 
भए पनि भएका स्रोतलाई अधिकतम प्रयोग गरी सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न प्रदेश १ का विभिन्न जिल्लामा गरी ७० भन्दा बढी विप्लव समूहका कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतीय सुरक्षा निकायसँग समन्वय गरी सूक्ष्म निगरानी गरिने भएको छ । सीमा क्षेत्रबाट आपराधिक समूहको प्रवेश हुन सक्ने अनि साना हतियार भित्रने क्रम बढेको भन्दै यसलाई पनि सुरक्षा चुनौतीका रूपमा लिई निगरानी गरिने भएको छ ।
प्रदेश नम्बर १ मा हाल १० हजार ८ सय ८१ नेपाल प्रहरीको दरबन्दी छ । ८ सयभन्दा बढी खाली छन् । यो प्रदेशमा सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ भारतसँग जोडिएका छन् । ताप्लेजुङ चीनसँग पनि जोडिन्छ । खासगरी राजमार्ग दक्षिणका क्षेत्र बढी संवेदनशील छन् ।
प्रदेश नम्बर १ का १४ जिल्लामा २९ लाख ९३ हजार ६ सय ६९ मतदाता छन् । यो प्रदेशमा २८ प्रतिनिधि र ५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । पूर्वका जिल्लामा १ हजार ८ सय ६२ मतदानस्थल र ३ हजार ७ सय ४३ मतदान केन्द्र छन् ।

प्रकाशित : मंसिर ९, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?