१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खानेपानी आयोजनाहरूमा बजेट अभाव

६६ आयोजना प्रभावित
अगन्धर तिवारी

पर्वत — ३ वर्षमा सम्पन्न हुने गरी वाहाकी शालिग्राम खानेपानी आयोजनाको काम रोकिएको छ । पर्याप्त बजेट निकासा नभएकाले काम रोकिएको हो ।

खानेपानी आयोजनाहरूमा बजेट अभाव

वाहाकी र शालिग्रामका २५० परिवारलाई १ वर्षभित्र घरघरै धारा पुर्‍याउने लक्ष्यसहित ३ करोड ६६ लाख ७२ हजार स्टिमेट गरिएको आयोजना अन्योलमै छ । यो वर्ष २० लाख मात्रै बजेट आएकाले काम अघि बढाउने अन्योल भएपछि रोकिएको सम्बद्ध कर्मचारीहरू बताउँछन् ।

शालिग्राम ५, हनुमानडाँडा बस्तीमा पुस्तौंदेखिको खानेपानी समस्या समाधान गर्ने लक्ष्यसाथ सुरु भएको आयोजना रोकिँदा स्थानीय पनि अन्योलमा छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले हुवासमा सुरु गरेको हुवास–छहरा खानेपानी आयोजनाको हालत पनि उस्तै छ । ७ हजार ९ सय ११ जनसंख्यालाई घरघरै धारा पुर्‍याउने लक्ष्यसहित सुरु आयोजनाको ३ वर्ष बित्यो । आयोजना सम्पन्न गर्न ७ करोड ९० लाख ४० हजार १ सय ८० रुपैयाँको स्टिमेट छ । तर, हालसम्म ५० लाख मात्रै बजेट विनियोजन भएको डिभिजन कार्यालयका इन्जिनियर शिवशंकर साहले बताए ।

आयोजनाको आधा समय बित्दा पनि हालसम्म २ दशमलव ७६ प्रतिशत मात्रै प्रगति भएको डिभिजन खानेपानी कार्यालयले जनाएको छ । वार्षिक तथा क्रमागत साना–ठूला गरी पर्वतमा चालु वर्ष ६६ खानेपानी आयोजना निर्माणाधीन छन् । ६६ वटै आयोजनाको बजेट हिसाब गर्दा करिब साढे २ अर्ब पुग्छ । तर, मन्त्रालयबाट आउने बजेट बर्सेनि ५ प्रतिशतभन्दा बढ्न सकेको छैन । सबै आयोजनाको सम्पन्न मिति बढीमा ०७५/७६ सम्म छ ।

आयोजनाहरूको लागत स्टिमेटअनुसार काम हुन बर्सेनि कम्तीमा ५० करोड बजेट आवश्यक पर्नेमा चालु वर्ष साढे ११ करोड मात्रै अख्तियारी आएको डिभिजन प्रमुख प्रेम डोटेल बताउँछन् । ‘यो वर्ष आवश्यक बजेटको ५ प्रतिशत मात्रै बजेट छ,’ डिभिजन प्रमुख डोटेलले भने, ‘हामीले सबै काम स्पिडमा गर्छौं भनेर भएन । सबै आयोजनामा पाइप पठाएका छौं । बाँकी काम बजेटकै कारण स्पिडमा गर्न सकिएको छैन ।’

जिल्लाका अधिकांश र ठूला आयोजनाको निर्माण सम्झौता गरेका ठेकेदार गिरिजा तिवारीले आफू करोडौं नोक्सानीमा काम गर्न बाध्य भएको दाबी गर्छन् । ‘काम रोकौं, मजदुर फिर्ता पठाउनुपर्छ,’ उनले भने, ‘नरोकौं, बजेटै निकासा हुँदैन ।’ जिल्लाभर ३ सय बढी कामदार परिचालन गरेकाले काम रोक्दा उनीहरूलाई फिर्ता पठाउनुपर्ने उनले बताए ।

सञ्चालित अधिकांश आयोजनाहरू उपभोक्ताको सहलगानीमा सञ्चालित छन् । प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत हुन आउने श्रमदान र मर्मतसंहार कोषमा १ प्रतिशत नगद जम्मा गर्नुपर्छ । सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सकेका छन् । घरघरै पानी पाउने आशामा श्रमदान र मर्मतसम्हार कोष जम्मा गरेका वाहाकी शालिग्राम खानेपानी आयोजनाका उपभोक्ताहरूले पानीको आसैआसमा पुस्ता बित्ने भन्दै निराश छन् । ‘पुस्तौंदेखिको कष्टबाट मुक्ति पाउने खुसीमा सबैले श्रमदान र घरलौरी पैसा बुझाइसक्यौं,’ शालिग्रामका टीकाराम भट्टराईले भने, ‘हाम्रो जोडबलले केही लागेन ।’

प्रकाशित : फाल्गुन २५, २०७३ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?