पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न 'सिएमआर जर्नालिज्म एकेडेमी' सुरू- अन्य - कान्तिपुर समाचार

पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न 'सिएमआर जर्नालिज्म एकेडेमी' सुरू

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली पत्रकारहरूको डिजिटल र विषयगत क्षमता वृद्धि गर्ने उद्देश्यले 'सिएमआर नेपाल जर्नालिजम एकेडेमी' सुरु गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा एकेडेमी स्थापना गरेको हो ।


एकेडेमी उद्घाटन कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले नेपाली पत्रकारका लागि आगामी माघ महिनादेखि मोवाइल जर्नालिज्म, पोडकाष्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिटरेसी,डेटा जर्नालिज्म लगायतमा तालिम दिने जानकारी दिए ।नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले नेपाली पत्रकारहरुमा क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सले स्वतन्त्र पत्रकारिता नभएको ठाउँमा लोकतन्त्र नहुने बताए । उहाँले मिथ्या सूचना समाजका लागि नै घातक हुने बताउँदै त्यसलाई न्यूनीकरण गर्नेतर्फ पनि एकेडेमीको भूमिका हुनुपर्ने धारणा व्यक्त गरे ।

इन्टरलिङ्क एकेडेमीका प्रबन्ध निर्देशक भेर्नर एगर्टले एकेडेमीले दिने तालिमबाट नेपाली पत्रकारहरुको क्षमता बढ्नुका साथै पत्रकारिताको व्यवसायिकतामा सुधार हुने विश्वास व्यक्त गरे ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले नेपाली मिडियाको अनुसन्धानमा सक्रिय हुँदै आएको सेन्टर फर मिडिया रिसर्च नेपालले एकेडेमी सञ्चालन गरेर नेपाली पत्रकारलाई प्राविधिक र व्यवहारिक रुपमा सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । सेन्टर फर मिडिया रिसर्च नेपालले एकदशकदेखि मिडियाका विभिन्न विषयमा अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा मन्दिरका मूर्तिसहितका धातु चोरी गर्ने पक्राउ

आश गुरुङ

लमजुङ — मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्दै आएको गिरोहमध्ये ३ जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । डीएसपी प्रकाश श्रीमलका अनुसार बेंसीसहर नगरपालिका ११ घर भई हाल वडा नं. ८, बेंसीसहर बस्ने २४ वर्षीय राजु परियार, बेंसीसहर नगरपालिका ८ का २० वर्षीय विनोद तामाङ र रौतहत घर भइ हाल बेंसीसहर नगरपालिका ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिश्वर राउतलाई पक्राउ गरिएको छ ।

उनका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित ३ जनालाई बिहीबार साँझ पक्राउ गरिएको हो । उनले चोरीमा संलग्न अरु पनि हुन सक्ने भन्दै खोजी भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिरएको छ । प्रारम्भिक चरणको सोधपुछमा ७ वटा मन्दिरबाट चोरी गरेको उनीहरूले बताएका प्रहरीले जनाएको छ । चोरी र बिक्रीमा संलग्न उनीहरूलाई जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरूबाट शिवको मूर्ति १ थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको १ थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्टी १० थान, फुटाएको घण्टी ६ थान, पानस २ थान, ७ वटा बत्ती भएको पानस २ थान, चरेका थाली २ थान, ढलोटका लोटा १ थान, चरेशका कचौरा २ थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकाशका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीका अनुसार चोरी र बिक्रीमा संलग्न उनीहरूले २ महिनायता बेंसीसहरका विभिन्न मन्दिरमा चोरीमा गरेको खुलेको छ । बेंसीसहरमा चोरी गर्ने र नारायणगढमा लगेर बिक्री गर्ने गरेको खुलेको उनले बताए । ‘चोरी र बिक्रीमा संलग्न गिरोह नै रहेको बुझिन्छ । अरु पनि हुन सक्छन्, हामी खोजी गर्दैछौं,’ उनले भने ।

प्रकाशित : मंसिर १६, २०७९ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×