कालोबजारी नियन्त्रणमा सचेत हुन उपभोक्तालाई विज्ञहरूको सुझाव- अन्य - कान्तिपुर समाचार

कालोबजारी नियन्त्रणमा सचेत हुन उपभोक्तालाई विज्ञहरूको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — दैनिक उपभोग्य बजारमा हुने अनियमितता, ठगी र अगाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने विज्ञ एवम् सरोकारवालाहरूले सुझाव दिएका छन् ।

उपभोक्ता जागरण अभियानको प्रथम साधारण सभाका वक्ताहरूले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने बताए ।

दसैं, तिहार, छठलगायत चाडपर्वमा मात्रै नभएर अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेको भन्दै अनुगमनकारी नियकाय र उपभोक्ताकर्मीले उपभोक्ताका हितका लागि एकताबद्ध अभियान सञ्चालन गरिनुपर्ने उनीहरूको सुझाव छ ।

कार्यक्रममा पूर्वसचिव कृष्णहरि बास्कोटाले बजारमा विकृति र विसङ्गति बढेकाले उपभोक्ता अधिकारवादी र नियमन तथा अनुगमनकारी निकाय सक्रिय ढङ्गले लाग्नुपर्ने खाँचो औंल्याए । उनले बजारमा बढ्दो अनियमितता र कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत र जागरुक बन्नुपर्ने बताए ।

पूर्वसचिव बास्कोटाले भने,'बजारमा दण्डहीनताको अवस्था बढेको छ । यसको मारमा उपभोक्ता छन् । त्यसैले उपभोक्ता अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ यसमा आम उपभोक्ता पनि सचेत र जागरुक हुन जरुरी छ ।' उनले उपभोक्ताले बजारमा वस्तु तथा सामग्री खरिद गर्दा उत्पादन मीति, मूल्य सूचीलगायत विषयमा सचेत हुनुपर्ने बताए ।

पूर्वसचिव डा हरी दाहालले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि उपभोक्ता अधिकारकर्मी र नियमनकारी नियकाले सचेतना अभिवृद्धि गर्दै अनुगमन कार्यलाई वर्षभर सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।

वाणिज्य विभागका निर्देशक भेषबहादुर कुँवरले उपभोक्ताको अधिकारका लागि विभागले स्रोत साधन र जनशक्तिले भ्याएसम्म बजार अनुगमन र गुणस्तर अभिवृद्धिमा लागिपरेको भन्दै यो अभियानमा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ताले सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हक हित संरक्षण र जागरणका निम्ति सरोकारवाला निकाय एवम् संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

कृषि बाली व्यवसाय प्रवर्द्धन संस्था नेपालका अध्यक्ष मोहनबहादुर थापा, सामाजिक अभियानता रमेशकुमार पौडेललगायतले उपभोक्तालाई जागरण गर्ने र बिक्रेतालाई सचेत गर्ने कार्यमा उपभोक्ताकर्मीहरू लाग्नुपर्नेमा जोड दिएका थिए ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफै सचेत नभएसम्म बजार स्वस्थ नहुने भन्दै उपभोक्तामा जागरण फैलाउन अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए ।

उपभोक्ता जागरण अभियानको नयाँ कार्यसमिति

साधरणसभाबाट कृष्णप्रसाद भण्डारीको नेतृत्वमा मञ्चको नयाँ कार्यसमिति समेत चयन भएको छ । मञ्चको उपाध्यक्षहरूमा सुशीला कुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे, रोहितकुमार दाहाल र महासचिवमा चिन्तामणि पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सहसचिवमा बद्री विशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाईं तथा सदस्यमा लक्ष्मण थापा र रामबाबु दाहाल रहेका छन् ।

साधारणसभाले महासचिव चिन्तामणि पराजुली र कोषाध्यक्ष केशवप्रसाद चौलागाईंको प्रतिवेदन पारित गरेको थियो ।

प्रकाशित : आश्विन २५, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा पहिरोका कारण विभिन्न जिल्लामा १६ को मृत्यु, १७ बेपत्ता

रासस

काठमाडौँ — पछिल्लो २४ घण्टामा पहिरोका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि  मंगलबारसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ । 

दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन् । आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा रामेछाप जिलाको मन्थली विमानस्थलमा सबैभन्दा बढी (४० दशमलव चार मिमि) पानी परेको जनाइएको छ । वैशाखयता दुई हजार दुई विपद्जन्य घटनामा २७६ को मृत्यु र ३३ बेपत्ता भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यसपालि पहिरोका कारण बढी मानिसले ज्यान गुमाएका छन् ।

विपद्मा सेनाको उद्धार कार्य

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले जनजीवन प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा स्रोत साधन प्रयोग गरी विभिन्न व्यक्तिको उद्धार गरिएको छ ।

नेपाली सेनाले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लान सफल भएको जनाएको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही क्षेत्रको डुडुवा गाँउपालिका¬–१ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँको राप्ती नदी र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयवासीको उद्धारका साथै खाना र पानीको व्यवस्थापन गरिएको सेनाले जनाएको छ ।

यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८, थपुवा इलाका बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा परेको करिब ५० मिटर बाँध बोरामा माटो भरेर बाँध बनाइएको आज सेनाले एक सूचना जारी गरी जनाएको छ ।

कैलाली जिल्लाको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयवासीको उद्धार गर्नुका साथै राहत सामग्रीसमेत वितरण गरिएको जनाइएको छ । कैलालीको डुबान प्रभावित इलाकामा स्थानीय तथा तिनका अत्यावश्यक सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बाढीका कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरूलाई सकुशल उद्धार गरिएको छ ।

जुम्ला जिल्लामा पहिरोमा परी घाइते भएकी एक महिला र एक पुरुष तथा कालीकोटका दुई पुरुषलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन २५, २०७९ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×