चित्र प्रदर्शनीबाट संकलित रकम बालबालिका शिक्षामा- अन्य - कान्तिपुर समाचार

चित्र प्रदर्शनीबाट संकलित रकम बालबालिका शिक्षामा

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार शिवांगिनी राणाले एकल चित्रकला प्रदर्शनीबाट सङ्कलन भएको रकम बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था र बालबालिकाको शिक्षामा खर्चेकी छन् । 

काठमाडौंको भिल्ला–७२ उत्तर ढोकामा ‘पृथ्वी: मभित्रको संसार’शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीबाट उठेको २ लाख ५० हजार रुपैयाँ उनले बालबालिकाको शिक्षाका लागि खर्च गरेकी हुन् ।

प्रदर्शनीमा राखिएका ३२ वटा चित्रमध्ये १५ वटा बिक्री भएका थिए । आयोजक युनिटी इन हेल्थका अनुसार ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्य समस्या झेलिरहेकाहरूको सहयोगार्थ आयोजित यही पहिलो चित्रकला प्रदर्शनी हो । राणाले आगामी सन् २०२३ को मार्चमा अमेरिकाको न्युयोर्कमा अर्को प्रदर्शनी गर्ने तयारी गरेकी छन् ।


प्रकाशित : आश्विन २, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्

थारू समुदायले मनाए जितिया

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीका थारू समुदायले जितिया पर्व धुमधामका साथ मनाएका छन् । विशेषगरी थारू समुदायका महिलाले यो पर्व मनाउने गर्छन् । पुरुष र महिला दुवै व्रत बस्ने हुँदा यसलाई थारू समुदायको नै ठूलो सांस्कृतिक पर्वका रूपमा लिइन्छ । पर्वको अवसरमा महिलाले झाम्टा नृत्य प्रस्तुत गर्छन् । वर्षभरिको दुःखसुख साटासाट गर्ने र आफ्ना पीर–व्यथालाई गीतमार्फत पोख्ने चलन छ ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा ३ दिन मनाइन्छ । दिदीबहिनीलाई घरमा बोलाएर मीठो खुवाउने र समूह बनाएर विभिन्न खेल खेल्ने प्रचलन रहिआएको छ । जित बहानको कथा सुन्ने र पूजा गर्ने हुनाले यसले सबैलाई अनुशासित र कर्मशील बनाउने धार्मिक विश्वास रहेको कावासोती–१५ का जितनारायण चौधरीले बताए ।

केही वर्षअघिसम्म तिहारमा देउसी, भैलो खेले जस्तै घरघरमा गएर झाम्टा नाच्ने र महालक्ष्मीको गरिमा गाउने प्रचलन अहिले हराएको छ । झाम्टा गीत गाउने प्रचलन संरक्षणका लागि अहिले प्रतियोगिता आयोजना गर्ने र नयाँ पुस्तालाई यसबारे बुझाउनुपर्ने अवस्था आएको कावासोती–४ की फूलकुमारी महतोले बताइन् । ‘अहिले नयाँ पुस्ताले परम्परागत संस्कृति भुल्दै गएका छन् । त्यसैले धर्म–संस्कृतिको बारेमा नयाँ पुस्तालाई बुझाउन प्रतियोगिता तथा प्रशिक्षण गर्ने गरेका छौं ।’

उनले भनिन्, ‘२०५० देखि २०६३ सालसम्म यो समयमा मुलुकको अवस्था र संस्कृति आदानप्रदान नहुँदा लोप हुने अवस्थामा पुगेको थियो । तर, अहिले थारू नाच, होमस्टे स्थापना गरेर हामी मौलिक संस्कृतिको रक्षामा लागिपरेका छौं ।’

प्रकाशित : आश्विन २, २०७९ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×