कुलेखानीको ठाडो सुरुङ खोल्ने काम सकियो

चैतसम्म म्याद थप्न परामर्शदाताको प्रस्ताव

काठमाडौं — निर्माण लागतका कारण चरम विवादित कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको इन्क्लाइन्ड साफ्ट (ठाडो सुरुङ) को काम सकिएको छ । भत्किएका कारण निर्माणमा समस्या आएको इन्क्लाइन्ड साफ्ट खोल्ने काम मंगलबार बिहान सकिएको हो ।


‘इन्क्लाइन्ड साफ्ट खोल्ने काम मंगलबार सकियो,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने । इन्क्लाइन्ड साफ्ट भत्किएपछि कुलेखानी तेस्रोको निर्माण अवधि ९ महिना थपिएको थियो । प्राधिकरणले कमजोर भूबनोटका कारण इन्क्लाइन्ड साफ्ट भत्किएको दाबी गर्दै आएको छ । तर कमजोर भूबनोट भएको जान्दाजान्दै लापरबाही गरेर तथा आवश्यकताभन्दा बढी विस्फोटक पदार्थ पडकाएर इन्क्लाइन्ड साफ्ट भत्काएको आरोप प्राधिकरणमाथि लाग्दै आएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे पनि त्यसको नतिजा सार्वजनिक भएको छैन ।
परामर्शदाता वाप्कोस लिमिटेडले मंगलबारै म्याद आगामी चैतसम्म थप्न पनि प्रस्ताव गरेको छ । आयोजनाको चौथो पटक थपिएको म्यादअनुसार आगामी असोजमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारको म्याद सकिँदै छ । असोजभित्र आयोजनाको काम नसकिने निश्चित भएपछि परामर्शदाता वाप्कोसले आफ्नो म्याद आगामी चैतसम्म थप्न प्रस्ताव गरेको हो । कार्यकारी निर्देशक काफ्लेले प्रस्तावमा निर्णय भइनसकेको बताए । ‘आवश्यकता हेरेर निर्णय हुन्छ,’ उनले भने ।
१४ मेगावाटको कुलेखानी तेस्रोको सुरु निर्माण लागत २ अर्ब ४३ करोड रुपैयाँ (प्रतिमेगावाट करिब १७ करोड ३६ लाख रुपैयाँ) थियो । हाल लागत बढेर ४ अर्ब २० करोड रुपैयाँ (प्रतिमेगावाट ३० करोड रुपैयाँ) नाघिसकेको छ । कुलेखानीको क्यास्केड प्रोजेक्ट भएकाले यो आयोजनाका लागि जलाशय बनाउनु पर्दैन । त्यसका बाबजुद यो आयोजनाको लागत अत्यधिक बढेपछि विवादित बनेको हो । जानकारहरू बढीमा प्रतिमेगावाट २७/२८ करोड रुपैयाँमा जलाशययुक्त जलविद्युत् आयोजना बनाउन सकिने बताउँछन् ।
कुलेखानी तेस्रोकै हाराहारी क्षमतामा निर्माणाधीन अपर सान्जेनको निर्माण लागत प्रतिमेगावाट १५ करोड १४ लाख रुपैयाँ मात्र छ । कुल १४ दशमलव ८ मेगावाटको यो आयोजनामा संरचनाका हिसाबले जलाशय पनि निर्माण गर्नुपर्छ । यो जलाशय ४२ दशमलव ५ मेगावाटको निर्माणाधीन क्यास्केड सान्जेनमा उपयोग हुने भएकाले अपर सान्जेनको लागत अझ घट्छ । अपर सान्जेनको ऊर्जा उत्पादन क्षमता कुलेखानी तेस्रोभन्दा दोब्बर बढी छ ।
करिब ७० प्रतिशत काम सकिएपछि सुरुको परामर्शदाता वाटर रिसोर्स कन्सल्ट, सिल्ट कन्सल्ट्यान्ट र हाइड्रो इन्जिनियरिङ डेभलपमेन्ट कम्पनीको संयुक्त उपक्रमलाई हटाएर वाप्कोसलाई नियुक्त गर्न ९ महिनाभन्दा बढी समय लगाएको, कामदार र मेसिन आइडल बसेको र भौगोलिक समस्या मुख्य रूपमा यो आयोजनाको लागत बढ्नुको कारण दाबी गरिएको छ ।
२०६४ चैतदेखि काम सुरु भएको यो आयोजना ४४ महिना (२०६८ मंसिर) मा सम्पन्न हुनुपर्ने थियो । तर सो अवधिमा काम नसकिएपछि पहिलो पटक आयोजनाको समय ३० महिना थपियो । दोस्रो पटक थपिएको १७ महिनामा पनि काम पूरा नभएपछि तेस्रो पटक थपिएको ९ महिना गत असार मसान्तमा सकियो । त्यसपछि चौथो पटक ३ महिना थपिएको समय आगामी असोजमा सकिँदै छ । सो अवधिमा पनि काम नसकिने देखेर वाप्कोसले चैतसम्म समय थपिमागेको हो ।  
कुलेखानी तेस्रोको सिभिल ठेकेदार सिनो हाइड्रोले ९० प्रतिशतभन्दा बढी काम सके पनि इलेक्ट्रोमेकानिकल ठेकेदार जेजियाङ जिन्लुङले काममा ढिलाइ गर्दा पछिल्लो पटक समय थप्नुपरेको हो । जेजियाङ जिन्लुङले इलेक्ट्रोमेकानिकल काम नेपाली ठेकेदार हुलास इन्जिनियरिङलाई दिएको छ ।

प्रकाशित : श्रावण २७, २०७२ ००:१४
प्रतिक्रिया
पठाउनुहोस्

जापानमा परमाणु बिजुली उत्पादन सुचारु

टोकियो — विरोधका बाबजुद जापानले पुन: परमाणु ऊर्जाबाट बिजुली बनाउन सुरु गरेको छ । ४ वर्षअघि भूकम्प र सुनामीका कारण फुकुसिमामा परमाणु दुर्घटनापछि ऊर्जा उत्पादन बन्द गरिएको थियो ।


क्युसु इलेक्ट्रिक पावर कम्पनीले दक्षिणी जापानस्थित आफ्नो सेन्दाई संयन्त्रको रियाक्टर नम्बर १ बाट कन्ट्रोल रड हटाएको छ । यहींबाट परमाणु विखण्डन प्रक्रिया सुरु हुनेछ । जापानभरमा विद्युत् कम्पनीले २५ रियाक्टरहरूलाई सुचारु गर्न चासो देखाएका छन् । तर, उनीहरूले नयाँ कडा सुरक्षा नियम पालना गर्नुपर्नेछ ।
क्युसु कम्पनीले नयाँ सुरक्षा उपकरणका लागि १२ करोड डलर खर्च गरेको छ । कम्पनीका अनुसार सेन्दाईको १ नम्बर रियाक्टरबाट सोमबार स्थानीय समयअनुसार साढे १० बजेबाट काम सुरु गरिएको छ । यस रियाक्टरबाट आगामी शुक्रबारदेखि परमाणु बिजुली उत्पादन सुरु हुने र आगामी महिनादेखि यसले पूर्ण क्षमताका साथ काम गर्ने अपेक्षा गरिएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकार परमाणु रियाक्टरलाई सुचारु गर्न चाहेको उल्लेख गर्दै संसारकै सबैभन्दा कडा सुरक्षा मापदण्डलाई पूरा गर्ने बताएका छन् । तर, जापानीहरूले भने परमाणु ऊर्जा पुन: सुरु गर्न लागिएकोमा विरोध जनाउँदै आएका छन् ।
सन् २०११ को मार्च ११ मा फुकुसिमामा आएको भूकम्प र सुनामीका कारण दायची प्लान्टमा नोक्सान भएको थियो । भोलिपल्टै यहाँबाट रेडियोधर्मी पदार्थ चुहिन थालेको थियो । यसलाई सन् १९८६ को चेर्नोबिल संकटपछिकै सबैभन्दा ठूलो परमाणु संकट मानिएको थियो ।
 

प्रकाशित : श्रावण २६, २०७२ २१:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्