कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भूकम्प अपडेट : अस्पताल र सडक कोलाहलमय

काठमाडौ — भूकम्प लगत्तै राजधानीका अस्पतालहरुमा एकैसात कोलाहल र रुवांबासी मच्चियो । शिक्षण अस्पतालमा सवा बाह्र बजे हामी पुग्दा पहिलो भूईचालोको धक्का लगत्तै घाइतेहरु अस्पताल ल्याइन थालेका थिए । कसैलाई बाइकमा राखेर, कसैलाई बोकेर र कसैलाई प्रहरीको भ्यानमा राखेर मानिसहरु कुदाकुद गरिरहेका थिए ।

भूकम्प अपडेट : अस्पताल र सडक कोलाहलमय

अस्पतालका सबै बेड, आकस्मिक कक्ष र भूई सबै हेर्दाहेर्दै भरिए । हताहती र गम्भीर घाइतेहरुको संख्या यसरी बढ्यो कि, अस्पतालका स्वास्थ्यकर्मी के गर्ने के नगर्ने बिलखबन्दमा परेका देखिन्थे ।
एकातिर अस्पतालमा भर्ना भएका बिरामी सक्नेजति सबै भूईचालोबाट बच्न भागाभाग गरेर बाहिर आइरहेका थिए । अर्कातिर बाहिरबाट घाइते भएकाहरु भटाभट भित्र हुर्रिँदै थिए ।
अस्पताल परिसर कुदाकुद र भागाभागले भयानक देखिन्थ्यो । भित्र असुरक्ष्ाा र घुईँचो दुबै बढेपछि घाइतेहरुलाई अस्पताल परिसरको चौरमै राख्न थालियो । घाइतेहरु भुईभरी लम्पसार थिए । कसैको अनुहार पुरै थिचिएको थियो । कसैको टाउकोभरी रगत बगिरहको । कसैको हात खुट्टा भाँचिएका थिए । कसैको जिउभरी घाउ नै घाउ देखिन्थ्यो ।
अधिकांश घाइतेहरु पीडाले छटपटाइहरेका थिए । कोही बेहोस थिए त कोही अर्ध बोहोस । कोही अस्पताल ल्याउँदा ल्याउँदै मृत घोसित गरिए ।
अस्पतालमा ल्याइएकी एक महिला घर ढलेकको देखेपछि आत्तिएर होस गुमाउन पुगेकी थिइन् ।
स्वास्थ्य कर्मीले मृत घोषित गरिएकालाई अस्पताल परिसरको छेउमा लस्करै राखिएको थियो । हेर्दा हेर्दै मृतकको लहर ठूलो लहरमा तन्कियो ।
आवश्यक औषधोपचार गर्ने अस्पतालको आकस्मिक उपचार प्रणाली मानिसहरुको चापले पुरै विथोलिएको थियो । कसलाई के गर्ने त्यो ठम्याउन चिकित्सकहरुलाई मुस्किल थियो ।
सयौं मेडिकल विद्यार्थी र परिचारिकाहरु हातमा पट्टी बोकेर बिरामीको रगत पुछिदिने काममा खटिएका देखिन्थे ।
अधिकांश घाइते र मृतकहरु भाग्दाभाग्दै घरमा थिचिएका र च्यापिएका थिए । कति चाहिँ सडकको पर्खालबाट थिचिएका थिए ।
अस्पतालको सारा उपचार प्रणाली विथोलिने गरी भिड बढेको थियो ।
कहाँ कसलाई के गर्ने भन्ने मेसे न घाइते र तिनका आफन्तलाई थियो, न अस्पताल प्रशासन र तिनका स्वास्थ्यकर्मी त्यो अचानक आइलागेको महामारी सम्हाल्न सक्ने स्थितिमा थिए ।
दिनभरिमा शिक्षण अस्पतालमा मात्रै शिक्षण अस्पतालमा ३ सय ६५ घाइते ल्याइए । त्यस मध्ये ६५ को मृत्यु भएको र बाँकीको उपचार भइरहेको अस्पतालले जनायो ।
सडकका पर्खालहरु जहीँतहीँ भत्किएका थिए । पटक पटकको भुईचालोले मानिसहरु अताल्लिएर चौर, उद्यान र भेटेसम्मको फराकिलो ठाउँ खोजेर बसिरहेका थिए ।
सडकमा एम्बुलेन्सको साइरन, प्रहरीको भ्यान र सेनाको उद्दार टोली बोकेका गाडीहरु यत्रतत्र कुदिरहेका थिए । हामी तिनलाई पच्छ्याउँदै बाइकमा गुडिहरेका थियौं ।
टुँडिखेलबाट हेर्दा धरहरा ठडिने आकाश सुन्य देखियो । मानिसहरु कोलाहाल गरेर आसपासमा कुदिरहेका थिए । खुलामञ्च र टुँडिखेल मान्छेले भरिएको हामीले देख्यौं ।
धरहरा सानो ठूटो मात्रै देखिने गरी पुरै भत्किएको रहेछ । धरहरा चढ्न भनेर तीन सय मानिसले टिकट काटेका रहेछन् । त्यहाँ तैनाथ सुरक्षाकर्मीहरु भन्दै थिए, भूईचालोको पहिलो धक्कामै टुक्राटुक्रा गरेर भत्किएको नौ तले धरहराको सबै तलामा मानिसहरु टनाटन थिए ।
'एक्कासी धरहरा खस्यो र मानिसहरु पुरिए' एक प्रत्यक्षदर्शीले भने,'कति मानिस पुरिए केही अत्तोपत्तो छैन ।'
हामी पुग्दा सेना, प्रहरी र सर्वसाधारण मिलेर धरहरामा पुरिएकाहरुलाई झिक्ने काम गरिरहेका थिए ।
तलसम्म खोसि्रएपछि दुई युवाको किचिमिचि भएको शरीर फेला पर्‍यो । तिनलाई सेनाको जिपमा हालेर सुरक्षाकर्मीले साइरन बजाउँदै वीर अस्पतालतिर लगे ।
असन, इन्द्रोक, धरहरा र बसन्तपुरमा पुरिएका घाइते र मृतकको हुलले वीर अस्पताल भिडमभिड थियो । चिकित्सकहरु के गर्ने के नगर्ने भन्ने अलमलमा थिए ।
नारायणहीटिको पर्खाल ढल्दा एक बटुवाको प्राण किचिएर त्यहीँ गएको भेटियो । सुरक्षाका लागि खटिएका सेनाका जवानले उनको मृत शरीर इाटहरु पन्छाएर अलि पर दुबोमा राखिदिएका थिए ।
'बिचराको प्राण हेर्दाहेर्दै गयो' एक सैनिक जवानले भने,'हामीले देख्यौं, तर गर्न केही सकेनौं ।'
ठमेलबाट पर्यटकहरु भागाभाग गरेर लैनचौर र आसपासका सडकमा असरल्ल बसिरहेका देखिन्थे । कहिल्यै कल्पना नगरेको विपत्तीले घेरेपछि चारैतिरबाट ओइरिएका मानिसहरु कहाँ जाने, के गर्ने भन्ने अन्योलमा थिए ।

प्रकाशित : वैशाख १३, २०७२ ०१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?