कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सन् २०१८ मा सिल्क रोड सम्पदा पहिचान गरिने

संसारकै सबैभन्दा लामो मार्ग 'द ग्रेट सिल्क रोड' नामाकरण
गणेश राई

काठमाडौं — सन् २०१८ सम्ममा नेपाल, चीन, भारत र भुटानको ऐतिहासिक सिल्क रोडको सम्भावित सम्पदा मार्गहरुको विश्व सम्पदामा मनोनयन गर्ने कार्ययोजना पारित भएको छ । सिल्क रोडलाई संसारकै सबैभन्दा लामो मार्ग 'द ग्रेट सिल्क रोड' भनिएको छ ।

सन् २०१८ मा सिल्क रोड सम्पदा पहिचान गरिने
सन् २०१८ सम्ममा नेपाल, चीन, भारत र भुटानको ऐतिहासिक सिल्क रोडको सम्भावित सम्पदा मार्गहरुको विश्व सम्पदामा मनोनयन गर्ने कार्ययोजना पारित भएको छ । संस्कृति मन्त्रालय, पुरातत्व विभाग र युनेस्कोले संयुक्त आयोजनामा राजधानीमा बुधबार सम्पन्न दुईदिने 'दक्षिण एसियाली रेसम मार्ग मनोनयन रणनीति' कार्यशालाले उक्त कार्ययोजना पारित गरेको हो ।
'सन् २०१८ सम्ममा सिल्क रोडमा पर्ने प्राचीन मार्ग पहिचान टुंगो लगाउने कार्ययोजना बनेको छ,' कार्यशाला सकिएलगत्तै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, 'कार्यशालाले नेपालको तर्फबाट प्राथमिकताका आधारमा सिल्क रोड कोरिडोर (सहायक मार्ग) पहिचान र आवश्यक प्रक्रिया अघि बढाउन बाटो खोलेको छ ।'
कार्ययोजनाअनुसार सबै देशले सिल्क रोडको प्रमुख मार्ग र सहायक मार्गमा पर्ने सम्पदालाई अनुसन्धान गरी प्रमाणहरु युनेस्को विश्व सम्पदा केन्द्रमा बुझाउनु पर्नेछ । जसअनुसार नेपालका थप सम्पदाहरु विश्व सम्पदामा सूचिकृत हुनेनिश्चित भएको छ ।
सिल्क रोडलाई संसारकै सबैभन्दा लामो मार्ग 'द ग्रेट सिल्क रोड' भनिएको छ । ईशाको १६ औं शताब्दीसम्म लोकपि्रय व्यापारिक मार्ग चिनको सियानबाट सुरु भएको मानिन्छ । जसको लम्बाई करिब १२ हजार ८ सय किलोमिटर हुने जनाइएको छ । यो मार्गको मुख्य भाग चीनको प्राचीन राजधानी सियानबाट सुरु भई इटालीको रोममा पुगेर टुंगिन्छ । यो विश्वको प्राचीन व्यापारिक मार्ग हो । रेशम मार्गको ऐतिहासिक महत्व बुझेर यसको पर्यटन विकासबाट हुनसक्ने आर्थिक पक्ष केलाएर पूर्व, पश्चिमी, उत्तर र दक्षिणी समाज तथा संस्कृतिबीचको सेतु विकास गर्ने लक्ष्य राखिएको छ ।
उक्त रेशम मार्गको करिडोर अर्थात् सहायक मार्ग नेपालमा समेत रहेको प्रमाणहरू फेला परेका छन् । पुरातत्वविज्ञ डिना बाङेलले कलाकार अरनिकोले त्यसका ज्वलन्त उदाहरण रहेको दावी गरिन् । 'मुख्य रुपमा नेपाल सिल्क रोडको बफर जोन हो,' प्राचीन कालमा उत्तरतर्फ टिबेत, चीन र भारतसित सिल्क रुटका माध्यमबाट सम्बन्ध रहेको उल्लेख गर्दै उनले कान्तिपुरसित भनिन्, 'कलाकार अरनिको तिब्बतमा जानु हाम्रो अस्तित्व र मौलिकता दर्शाउछ । यसले सिल्क कोरिडोरमा नेपालको योगदान रहेको बुझाउँछ । त्यसैले पनि अरनिकोले प्रयोग गरेको बाटो व्यापारिक सम्बन्ध रहेको प्रष्टिन्छ ।'
विभिन्न मुलुकको आर्थिक र सांस्कृतिक सभ्यता जोडिएको यस मार्गलाई पुनः प्रयोगमा ल्याउन लामो समयदेखि 'सिल्क रोड' सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला हुँदै आएको छ । त्यसै क्रममा नेपालमा क्षेत्रीय कार्यशालाको आयोजना गरिएको हो । 'यो कार्यशालाले अब हुने सिल्क रोडको ऐतिहासिक, पुरातात्विक अध्ययन तथा अनुसन्धानले नेपालको थप सम्पदाहरु विश्व सम्पदा सूचीमा पार्ने मार्गनिर्देश गरेको छ,' कार्यशालामा संलग्न संस्कृतिविज्ञ प्राध्यापक भीमप्रसाद नेपालले भने, 'अबको तीन वर्षभित्र सबै काम हुनेछ र त्यसको प्रमाणहरु नेपालले युनेस्को विश्व सम्पदा केन्द्रमा मनोनयन गर्ने छ । यो अन्तर्राष्ट्रिय रुपमै गौरवको विषय हो ।' हालसम्म नेपालको कुनै ऐन, कानुनमा विश्व सम्पदा र सिल्क रोडबारे कुनै शब्द उल्लेख नरहेको विज्ञले औंल्याएका छन् । अब दिनमा कानुन निर्माणका आधार तयार हुने जनाइएको छ ।
युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन मनहाटले कार्यशालाबाट निर्माण भएको कार्ययोजना प्रारम्भिक खाकालाई चाँडै पूर्णता दिने प्रतिवद्धता जनाए । 'सिल्क रोड संयोजन कमिटीमा चीन, नेपाल, भारतलगायत बाह्र मुलुक छन्,' उनले भने, 'युनेस्कोले कार्ययोजनाअनुसार अन्य मुलुकहरूसित समन्व गर्ने वातावरण तयार गर्नेछ ।' कार्यशालामा नेपाल, भारत, चीन, भुटान र युनेस्को विश्व सम्पदा केन्द्र पेरिसका प्रतिनिधि, अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए । कार्यशालाले पारित गरेको कार्ययोजनाको खाकामा सन् २०१८ जनवरीसम्ममा सिल्क रोडका प्रमुख र सहायक मार्गहरु पहिचान गरी त्यसमा पर्ने सम्पदाहरुलाई विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्न मनोनयन गर्ने उल्लेख छ ।

प्रकाशित : आश्विन ९, २०७१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?