कोसीको पानी नखानू: सरकार

कहाँको खानु?: स्थानीय

काठमाडौ — सरकारले सुनकोसीको पहिरोले ताल निर्माण भएको ठाउँदेखि कोसी ब्यारेजसम्मको नदी क्षेत्रको पानी र माछा तत्कालका लागि नखान आग्रह गरेको छ।

कोसीको पानी नखानू: सरकार

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले उक्त क्षेत्रको नदीको पानीमा भाडा र लुगासमेत नधुन भनेको छ। नदीमा कैयौं व्यक्तिको शव र जनावरका लास सडेकाले संक्रमणको जोखिम रहेको भन्दै यस्तो आग्रह गरेको हो।
'हामीले सर्वसाधारणसँग सुनकोसी थुनिएर ताल बनेको ठाउँदेखि कोसी ब्यारेजसम्मको नदीको पानी उपयोगबाट जोगिने सल्लाह दिएका छौं,' इपिडिमियोलजीका निर्देशक डा.बाबुराम मरासिनीले कान्तिपुरसँग भने, 'अर्को जानकारी नदिइएसम्म त्यहाँको पानी र माछा नखानुस्, पानीले भाडा नमाझ्नुस् र लुगासमेत नधुनुस्।' इपिडिमियोलजीले उक्त पानीको निरन्तर परीक्षण गरी स्थिति सार्वजनिक गर्ने जनाएको छ।
शवहरू कुहिएर हाड मात्र बाँकी रहन केही समय लाग्ने उल्लेख गर्दै मरासिनीले भने, 'हालका लागि हामीले वषर्ाभरि पानी नखाने सल्लाह दिएका हौं, परीक्षणपछि पुनः हामी अर्को जानकारी दिनेछौं।'
कोसी मार्गमा दोलखा, काभ्रे, रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, उदयपुर, सुनसरी र सप्तरी जिल्ला पर्छन्।
यसैबीच पहिरोका कारण थुनिएको नदी खुलाउन सरकारले एक कार्यटोली गठन गरेको छ। केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आइतबार बसेको आकस्मिक बैठकले जनधनको क्षति र नदीको पानी जमेका कारण तल्लो तटीय क्षेत्रमा परेको जोखिम समेतको अध्ययन गरी एकीकृत योजना बनाउन एक उपसमिति पनि गठन गरेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पुछिघाट (रामेछाप)

सरकारले सुनकोसीको पानी नखानु भन्ने सूचना सर्वसाधारणलाई दिएको छ। तर स्थानीयवासी प्रश्न गर्छन्, 'अन्त पानी छैन, यहाँको नखाएर के गर्नु?'
'पाए त धमिलो पानी खान किन पथ्र्यो र?,' स्थानीय हर्कबहादुर माझीले भने, 'मनै अमिलो पारेर धमिलो पानी खान बाध्य छौं,' सुनकोसीको पानी खानुपर्ने स्थानीयको पीडा सुनीसाध्य छैन्।
वषर्ाको सुनकोसी। त्यसमाथि पहिरोले किचेका शव मिसिएको छ। गन्हाउने लेदो माटो लिएर आउने पानी उबाएर खानु ओडारेका बासिन्दाको बाध्यता हो। गाउँमा पानीको अरू मुहान नहुँदा झन्डै ४० घर भएको ओडारेका बासिन्दा दैनिक यही सुनकोसीको पानी पिउन बाध्य छन्। जतिसुकै धमिलो किन नहोस्, पुछिघाटका बासिन्दाको पनि पानी लिन जाने अर्को ठाउँ छैन। गाग्रीमा उबाएर लगेको पानी थिग्रन समय लाग्छ। लेदो र बालुवा गाग्रीको पुच्छारमा निथारेका भरमा उनीहरू पानी पिउँछन्। 'गाग्री रित्तो हुँदा पिँधमा झन्डै एक माना लेदो हुन्छ,' स्थानीय आइतीमायाले भनिन्।
यो समस्या पुछिघाटका माझीलाई मात्र छैन, नदीकिनारमा बसोबास गर्ने धेरै बस्तीमा कोसीको गन्हाउने पानीले नै जीवन धानिएको छ। 'हाम्रामा झन्डै ४२ धुरी छन्,' पकरवासको पुछिघाटका माझीले भने, 'जस्तो भए पनि जीवन धान्ने अर्को विकल्प छैन। हम्मेसी मरिँदैन, रोग भनेको सामान्य नै हो,' उनले भने, 'अन्त नभएपछि नखाएर पो कहाँ जानु?'
यो पानी खाँदा लाग्ने रोगभन्दा पनि घिन मान्ने धेरै छन्। बाढीसँगै बगाएर ल्याउने सिनो, नदीकिनारमा सर्वसाधारणले गर्ने फोहोर, बजार केन्द्रबाट फालिएको फोहोरले घिनाउने महिला आँखा छोपेर पानी उबाउँछन्। 'यताउता हेर्ने हो भने केही न केही बगाएर ल्याएको देख्नुपर्छ,' पुछिघाटकी विपना माझीले भनिन्, 'घिन मानीमानी पानी लैजान्छौं।'
रामेछापको भटौली, पकरवास, भीरपानी, राकाथुम, भलुवाजोर, रामेछाप, सुकाजोर र रामपुर गाविसमा नदीकिनार बसोबास गर्नेले कोसीको पानी नै जीवन धान्ने आधार बनाएका छन्। अधिकांश माझी गाउँमा पाइपको खानेपानी सेवा पुर्‍याइएको भए पनि अहिले धारा सुकेका छन्। पर्याप्त वषर्ा नहुँदा पहाडी क्षेत्रका मूल धमाधम सुक्न थालेपछि किनारमा बसोबास गर्नेको सहारा त्यही कोसी भएको छ। दूषित पानी पिउँदा मानिसलाई पखाला, ज्वरो, हैजा, आउँ, जन्डिसजस्ता रोग फैलन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. वासुदेव पाण्डेले बताए। रामेछापमा देखिएका महामारीजन्य रोग पानीकै कारण फैलिने गरेको पुष्टि भएकाले शुद्ध पानी पिउन स्थानीयलाई सचेत बनाउनुपर्ने उनले जनाए।






 
 
 
 

प्रकाशित : श्रावण २६, २०७१ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?