महत हँसाउने मेलम्ची

२०७३ सालमा मेलम्ची आउँछ भन्दा हाँसोको फोहोरा
सुरज कुँवर

काठमाडौं — पन्ध्र करोडभन्दा ठूला बजेटका ६८ आयोजनाको सातमहिने प्रगति समीक्षा बैठक अर्थ मन्त्रालयमा चल्दै थियो । पाँच मन्त्रालयका सचिव, सहसचिव र आयोजना प्रमुखहरू अर्थमन्त्री रामशरण महतलाई प्रगति विवरण सुनाउँदै थिए ।


सुरुआतमै चालू आर्थिक वर्षमा विनियोजित ५ सय १७ अर्ब रुपैयाँमध्ये हालसम्म १ सय ९७ अर्ब मात्र खर्च भएको जानकारी अर्थ मन्त्रालयले दियो । त्यसपछि भौतिक पूर्वाधार, सिँचाइ र पर्यटन सचिवले ठूला पूर्वाधार परियोजनामा भएको प्रगति र समस्याबारे प्रकाश पारे । अब पालो आयो सहरी विकास मन्त्रालयको ।
सहरी विकास सचिवले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाबाट सुरु गरे । उनी भन्दै थिए, 'दिनको ४० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ । २०७३ साल वैशाख १ गते बिहानै सूर्योदय नहुँदै काठमाडौंका धारामा पानी आउने छ ।'
बैठकमा उपस्थित सचिव, कर्मचारी, सञ्चारकर्मीसहित ६० भन्दा बढी एकसाथ गल्लल हाँसे । गम्भीर मुद्रामा सुनिरहेका मन्त्री महतले पनि हाँसो थाम्न सकेनन् । उनको हाँसोले सहभागीलाई फेरि हँसायो । 'साँच्चै पूरा हुन्छ ?' उनले ठट्यौलो पारामा सोधे ।
यस वर्ष ७ अर्ब ९४ करोड पुँजीगत बजेट पाएको मन्त्रालयका सचिव थापाले विश्वस्त पार्दै भने, 'चाँडो सके ठेकेदार कम्पनीलाई बोनस दिने व्यवस्था गरेका छौं, पानी आउनेमा हामी विश्वस्त छौं ।'
उनका अनुसार २६ किलोमिटर लामो सुरुङमध्ये बाँकी २१ किलोमिटर निर्माण गरी मेलम्ची खोलाको पानी राजधानी ल्याउने काममा इटालियाली कम्पनी सीएमसीको कार्य सन्तोषजनक छ । यसअघि चिनियाँ कम्पनी 'चाइना फिफटन रेल-वे ब्युरोले सुरुङ खन्ने काम पाएको थियो । त्यसले सन् २००९ यता साढे चार वर्षमा साढे ६ किलोमिटर मात्रै खनेपछि सरकारले ठेक्का तोडेको थियो । गत जेठमा फेरि ठेक्का आह्वान गरिँदा सीएमसीले पाएको हो । चिनियाँ कम्पनीले त्यति खनेको ६० करोड रुपैयाँ भुक्तानी लिइसकेको छ ।
सचिव थापाले मेलम्ची आयोजनामा भइरहेको ढिलाइका कारण सरकारले गर्ने काममा खस्किँदै गएको विश्वसनीयतालाई अब यही आयोजनाले सुधार्ने दाबीसमेत गरे ।
खन्न बाँकी २१ किलोमिटर सुरुङ र इन्टेकका लागि सीएमसीले ७ अर्ब ७१ करोडमा ठेक्का सम्झौता गरेको हो । मेलम्चीबाट राजधानीमा दैनिक १७ करोड लिटर खानेपानी ल्याउने सरकारको लक्ष्य छ । काकाकुल काठमाडौंको तिर्खा मेट्न ०५१ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची आयोजना घोषणा गरेका हुन् ।
समीक्षा बैठकमा सहरी विकासपछि ऊर्जा मन्त्रालयको बोल्ने पालो आयो । ऊर्जा सचिव विश्वप्रकाश पण्डितले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीलाई विद्युतबारे बोल्न अह्राए । कार्की बोल्दै गर्दा झ्याप्प बत्ती गयो । बैठक कोठा अँध्यारो भयो । माइक बन्द भएपछि उनी आवाज चर्को बनाउँदै विद्युत् क्षेत्रमा भइरहेको समस्याबारे बोले । उनको पालो सकिएपछि अर्थमन्त्रीले निर्देशन दिँदै गर्दा बत्ती आयो । यसै मौकामा अर्थ सचिव शान्तराज सुवेदीले व्यंग्य गरे, 'पहिले ऊर्जा मन्त्रीले बोल्दै गर्दा बत्ती गएको थियो, ऊर्जा सचिवले बोलिरहँदा पनि बत्ती गएको थियो, आज कार्यकारी निर्देशकको पालो परेछ ?' फेरि हाँसो दोहोरियो । 'मेरै बोल्ने पालोमा बत्ती जानु नियोजित हो,' कार्कीले फर्काए ।

प्रकाशित : फाल्गुन २४, २०७० ००:०५
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीविरुद्ध खेद प्रकट गरेपछि....

कांग्रेसको संस्थापन पक्षद्वारा दलित भेला बहिष्कार

काठमाडौं — कांग्रेस भ्रातृ संगठन राष्ट्रिय दलित सदनको राजधानीमा शुक्रबार सुरु राष्ट्रिय भेला पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पक्षले बहिष्कार गरेको छ । प्रधानमन्त्री कोइरालाविरुद्ध सदन अध्यक्ष मीन विश्वकर्माले सार्वजनिक रूपमा खेद प्रकट गरेको भन्दै संस्थापनले भेला बहिष्कार गरेको हो ।

कांग्रेस भ्रातृ संगठन राष्ट्रिय दलित सदनको राजधानीमा शुक्रबार सुरु राष्ट्रिय भेला पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पक्षले बहिष्कार गरेको छ । उद्‌घाटन कार्यक्रममा सहभागी 'हुन नसकेका' प्रधानमन्त्री कोइरालाविरुद्ध सदन अध्यक्ष मीन विश्वकर्माले सार्वजनिक रूपमा खेद प्रकट गरेको भन्दै संस्थापनले भेला बहिष्कार गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीलाई बनाइएको थियो । उनको स्वागतमा सयौंलाई राखिएको समेत थियो । तर उनी सहभागी नभएपछि पार्टी केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले उद्‌घाटन सत्रमा 'प्रधानमन्त्री बालुवाटारमा फोटो सेसन गरेर बसिराख्नुभएको छ । चियपानमा व्यस्त हुनुहुन्छ । यो कार्यक्रममा आउनु भएन । समग्र दलित समुदायबाट खेद प्रकट गर्दछु' भनेका थिए । त्यसैलाई लिएर संस्थापन पक्षले प्रधानमन्त्रीको व्यस्तता र मर्यादाको ख्याल नगरी सार्वजनिक रूपमा अपमान गरिएको भन्दै बहिष्कारको घोषणा गरेको थियो ।
अध्यक्ष विश्वकर्माले भने आफूले प्रधानमन्त्रीलाई खेद नभई दुःख मात्रै प्रकट गरेको बताए । 'कार्यक्रम सुरु हुनु दुई घन्टाअघिसम्म प्रधानमन्त्रीले आउँछु भन्नुभयो । ल तिमी पनि यतै आऊ, सँगै जाउँला भनेर म बालुवाटार गए । डेढ घन्टा बसिसकेपछि अन्तिममा जान नसक्ने भन्नुभयो,' उनले भने, 'उहाँ नआएपछि मैले प्रधानमन्त्री ल्याउन नसकेकामा दुःख प्रकट गरेको हो ।' कोइरालाले नआएपछि उपसभापति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाइएको थियो ।
संस्थापन पक्षीय नेता एवं केन्द्रीय सदस्य जीवन परियारले सदनको अध्यक्ष र केन्द्रीय सदस्य जस्तो व्यक्तिले प्रधानमन्त्रीको व्यस्तताको समेत ख्याल नगरी सार्वजनिक रूपमा अनुशासनविपरीत अभिव्यक्ति दिएकाले बहिष्कार गरिएको बताए । 'अनुशासनविपरीत सार्वजनिक रूपमा अभिव्यक्ति दिएका विरुद्ध कारबाही गर्न हामीले शनिबारै प्रधानमन्त्री एवं पार्टी सभापतिलाई लिखित आग्रह गर्ने भएका छौं,' परियारले भने । संस्थापनले छाडेपछि भेलामा वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष मात्रै सहभागी छ ।
सदनका अध्यक्ष विश्वकर्माले भने आफू अध्यक्ष भएदेखि नै कुनै पनि बैठकमा भाग नलिएको समूहले बहिष्कार गरेको बताए । 'कहिले मर्यादाक्रम मिलेन भनेर कहिले केही भएन भनेर सुरुदेखि नै बहिष्कार गर्दै आएको समूहले अहिले पनि बहिष्कार गरेको हो । बोलेको कारण मात्रै होइन,' उनले भने ।


प्रकाशित : फाल्गुन २३, २०७० २०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×