३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रधानमन्त्रीविरुद्ध खेद प्रकट गरेपछि....

कांग्रेसको संस्थापन पक्षद्वारा दलित भेला बहिष्कार

काठमाडौं — कांग्रेस भ्रातृ संगठन राष्ट्रिय दलित सदनको राजधानीमा शुक्रबार सुरु राष्ट्रिय भेला पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पक्षले बहिष्कार गरेको छ । प्रधानमन्त्री कोइरालाविरुद्ध सदन अध्यक्ष मीन विश्वकर्माले सार्वजनिक रूपमा खेद प्रकट गरेको भन्दै संस्थापनले भेला बहिष्कार गरेको हो ।

प्रधानमन्त्रीविरुद्ध खेद प्रकट गरेपछि....
कांग्रेस भ्रातृ संगठन राष्ट्रिय दलित सदनको राजधानीमा शुक्रबार सुरु राष्ट्रिय भेला पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पक्षले बहिष्कार गरेको छ । उद्‌घाटन कार्यक्रममा सहभागी 'हुन नसकेका' प्रधानमन्त्री कोइरालाविरुद्ध सदन अध्यक्ष मीन विश्वकर्माले सार्वजनिक रूपमा खेद प्रकट गरेको भन्दै संस्थापनले भेला बहिष्कार गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीलाई बनाइएको थियो । उनको स्वागतमा सयौंलाई राखिएको समेत थियो । तर उनी सहभागी नभएपछि पार्टी केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले उद्‌घाटन सत्रमा 'प्रधानमन्त्री बालुवाटारमा फोटो सेसन गरेर बसिराख्नुभएको छ । चियपानमा व्यस्त हुनुहुन्छ । यो कार्यक्रममा आउनु भएन । समग्र दलित समुदायबाट खेद प्रकट गर्दछु' भनेका थिए । त्यसैलाई लिएर संस्थापन पक्षले प्रधानमन्त्रीको व्यस्तता र मर्यादाको ख्याल नगरी सार्वजनिक रूपमा अपमान गरिएको भन्दै बहिष्कारको घोषणा गरेको थियो ।
अध्यक्ष विश्वकर्माले भने आफूले प्रधानमन्त्रीलाई खेद नभई दुःख मात्रै प्रकट गरेको बताए । 'कार्यक्रम सुरु हुनु दुई घन्टाअघिसम्म प्रधानमन्त्रीले आउँछु भन्नुभयो । ल तिमी पनि यतै आऊ, सँगै जाउँला भनेर म बालुवाटार गए । डेढ घन्टा बसिसकेपछि अन्तिममा जान नसक्ने भन्नुभयो,' उनले भने, 'उहाँ नआएपछि मैले प्रधानमन्त्री ल्याउन नसकेकामा दुःख प्रकट गरेको हो ।' कोइरालाले नआएपछि उपसभापति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाइएको थियो ।
संस्थापन पक्षीय नेता एवं केन्द्रीय सदस्य जीवन परियारले सदनको अध्यक्ष र केन्द्रीय सदस्य जस्तो व्यक्तिले प्रधानमन्त्रीको व्यस्तताको समेत ख्याल नगरी सार्वजनिक रूपमा अनुशासनविपरीत अभिव्यक्ति दिएकाले बहिष्कार गरिएको बताए । 'अनुशासनविपरीत सार्वजनिक रूपमा अभिव्यक्ति दिएका विरुद्ध कारबाही गर्न हामीले शनिबारै प्रधानमन्त्री एवं पार्टी सभापतिलाई लिखित आग्रह गर्ने भएका छौं,' परियारले भने । संस्थापनले छाडेपछि भेलामा वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष मात्रै सहभागी छ ।
सदनका अध्यक्ष विश्वकर्माले भने आफू अध्यक्ष भएदेखि नै कुनै पनि बैठकमा भाग नलिएको समूहले बहिष्कार गरेको बताए । 'कहिले मर्यादाक्रम मिलेन भनेर कहिले केही भएन भनेर सुरुदेखि नै बहिष्कार गर्दै आएको समूहले अहिले पनि बहिष्कार गरेको हो । बोलेको कारण मात्रै होइन,' उनले भने ।


प्रकाशित : फाल्गुन २३, २०७० २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?