कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बङ्गलादेशले गिरिजालाई राष्ट्रिय सम्मान गर्ने

महेश आचार्य

नयां दिल्ली — बंगलादेशले आफ्नो स्वतन्त्रता संग्राममा योगदान पुर्‍याएको भन्दै नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उच्च राष्ट्रिय सम्मान दिने भएको छ । स्वतन्त्रताको ४० औं वर्षगाँठ मनाइरहेको बंगलादेशले दिवंगत कोइरालासहित ६१ जना विदेशी मित्रहरुलाई सम्मान गर्न लागेको हो ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार कोइरालासहित दुई जनालाई बंगलादेश लिबरेशन वार अनर नामक सम्मान प्रदान गरिने छ । बाँकी ५९ भने फ्रेण्डस् अफ लिबरेशन वार अनरबाट सम्मानित हुने छन् । तिनमा धेरैजसो भारतीय छन् ।
सम्मानका लागि शनिबार राजधानी ढाकास्थित बंगवन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा कोइरालाका तर्फबाट सम्मान थाप्न उनकी छोरी सुजाता शुक्रबारै ढाका पुगिसकेकी छन् ।
यसअघि, पाकिस्तानबाट स्वतन्त्र हुन बंगलादेशलाई विशिष्ट सहयोग पुर्‍याएको भन्दै भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई ढाकाले सबैभन्दा उच्चतम स्वाधीनता सम्मान प्रदान गरेको थियो । उक्त सम्मान उनकी बुहारी एवम् भारतीय सत्तारुढ गठवन्धन युपीएकी अध्यक्ष सोनिया गान्धीले गत वर्ष ढाकामा थापेकी थिइन् ।
त्यसपछि दोस्रो चरणमा गत मार्च महिनामा नेपालका राष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालासहित आठ जनालाई बंगलादेश लिबरेशन वार अनर प्रदान गरिएको थियो । कलकत्तामा चिकित्साशास्त्र अध्ययन गर्दै गर्दा बंगलादेशी शरणार्थी शिविरमा सेवा गरेको भन्दै यादवलाई सम्मान प्रदान गरिएको थियो । दोस्रो चरणमै अन्य ७५ जना विदेशीलाई फ्रेण्डस् अफ लिबरेशन वार अनर प्रदान गरिएको थियो ।

प्रकाशित : कार्तिक ३, २०६९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?