Highlights
- नेपालीहरू पनि अध्ययन, व्यवसाय र रोजगारीका विभिन्न अवसरको खोजीमा विश्वभर छन् । तर, आप्रवासीविरोधी हिंसा र राज्य संरक्षित युद्धका कारण उनीहरू विभिन्न देशमा संकटमा छन् ।
आन्तरिक र बाह्य बसाइँसराइ संसारभरका मानिसको साझा चरित्र हो । मानव सभ्यताकै अनवरत अभ्यास हो । कुनै स्थानमा कोही पहिले पुगे होलान्, कोही पछि । पहिले पुग्नेहरू त्यहाँका रैथाने भए, पछि पुग्नेहरू आप्रवासी । हजारौं वर्षको इतिहासलाई एउटै आँखीझ्यालबाट हेर्ने हो भने यो नियमित र सामान्य घटनाका रूपमा देखिन्छ ।
त्यसैले कुनै पनि देशमा आप्रवासीलाई लिएर व्यक्त हुने नकारात्मक धारणा, घृणा वा आक्रमण मानव सभ्यताको त्यही स्वाभाविक प्रवाहको मान्यताविपरीत छ । तर कहिले अमेरिका, कहिले बेलायतमा, कहिले भारतमा र कहिले हाम्रै देशमा पनि फरक देखिने मान्छे र समुदायप्रति हुने भेदभाव र हिंसा आपत्तिजनक छ ।
उत्तर–पश्चिम इंग्ल्यान्डको साउथपोर्टमा गत जुलाई २९ मा एक युवकले छुरा प्रहार गरेर तीन बालिकाको हत्या गरेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्यो । ती युवक शरणार्थी र मुस्लिम भएको भन्दै दक्षिणपन्थीले फैलाएको हल्लाका आधारमा आप्रवासी र मुस्लिम समुदायविरुद्ध आक्रमण सुरु भएको थियो । लन्डन, लिभरपुललगायत दर्जनौं सहरमा हिंसा अनियन्त्रित छ । दुःखद पक्ष के छ भने, बालिका हत्या गर्ने युवक जुनसुकै जात, धर्म र समुदायको भए पनि आपराधिक मनस्थितिको व्यक्ति हो, तर यसैको बहानामा समग्र अल्पसंख्यक तथा आप्रवासीमाथि निसाना साध्ने काम भयो । त्यसैले बेलायतमा जारी अल्पसंख्यक लक्षित हिंसात्मक गतिविधि पूर्वाग्रहप्रेरित लहरको भयानक उदाहरण हो ।
आप्रवासी, अल्पसंख्यक, अश्वेतमाथि हुने विभेदका सन्दर्भमा फरकफरक देशमा फरकफरक स्वरूपका घटना भइरहेका हुन्छन् । आर्थिक र शैक्षिक रूपमा समृद्ध मानिने देशहरूमै हुने घटनाले यो प्रवृत्ति गहिरो र समस्यामूलक प्रवृत्तिका रूपमा स्थापित छ भन्ने प्रस्ट पार्छ । अमेरिकामा प्रहरी नियन्त्रणमा रहेका अफ्रिकन मूलका नागरिक जर्ज फ्लोयड प्रहरी नियन्त्रणमा मारिए । सन् २०२० मेमा भएको सो घटनामा प्रहरीले फ्लोयडको घाँटी धेरैबेरसम्म घुँडाले थिचेका थिए । आफ्नो मृत्यु हुनुअघि फ्लोयडले गरेको याचना ‘आई कान्ट ब्रिद’ विश्वव्यापी नारा बनेको थियो । र, जातिवादकेन्द्रित हिंसात्मक घटनाको विरोधमा ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्ने नारा अभियानकै रूपमा स्थापित भएको थियो । अमेरिकी समाजमा अश्वेत समुदायका व्यक्तिमाथि सार्वजनिक स्थानमै पनि विभेद भएका यस्ता घटना बेलाबखतमा चर्चामा आइरहन्छन् ।
छिमेकी मुलुक भारतमा त जात र धर्मका नाममा हिंसा फैलिने गरेको छ । सन् २०२३ मा मणिपुरमा बहुसंख्यक मैतेई समुदाय र अल्पसंख्यक कुकीबीचको द्वन्द्वको घाउमा अझै खाटा बसेको छैन । त्यस क्रममा अनेकौं बीभत्स दृश्यले धेरैको मन बिथोलेको थियो । त्यसअघि राजधानी दिल्लीमा, उत्तरप्रदेशको मुजफ्फरनगर, गुजरात, मुम्बई र अयोध्या हुँदै फैलिएका दंगामा भएको जनधनको विवरण अथाह छ । अल्पसंख्यकमाथि भएको दमन, त्रास र विभेदकै कारण लोकतान्त्रिक मुलुक भारतको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक बनेको छ ।
अल्पसंख्यकमाथि हुने दमन र हिंसाको राजनीति पनि विडम्बनापूर्ण छ । यसका पछाडि संगठित यस्तो संयन्त्र हुन्छ जसले समुदायमा अल्पसंख्यकलाई भन्दा बहुसंख्यक नै खतरामा छन् भन्ने मनोविज्ञान सिर्जना गर्दछ । आफ्नो पहिचान र अस्तित्व संकटमा परेको ठानेर बहुसंख्यक समुदाय अल्पसंख्यकमाथि असहिष्णु र हिंस्रक बन्ने गरेको छ । छिमेकी पाकिस्तान र बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि हुने तथा भारतमा मुस्लिम समुदायमाथि हुने विभेद, दमन र हिंसाको मनोविज्ञान एउटै हो । जो बहुमतमा छ, उसैले अल्पसंख्यकबाट खतरा रहेको भाष्य निर्माण गर्ने र अल्पसंख्यकलाई लेखेट्ने प्रवृत्ति विश्वभरि छ । यस्तो सन्दर्भ दुर्भाग्यवश कहिलेकाहीं नेपालमै पनि धार्मिक र जातीय असहिष्णुताका रूपमा बेलाबखत प्रकट हुन्छ ।
फरक रङ, फरक भाषा, फरक धर्मको व्यक्तिलाई पनि सार्वभौम मानिसका रूपमा नभई विभाजित गरेर बुझ्ने र व्यवहार गर्ने प्रवृत्ति धर्मको बृहत् मान्यताअनुकूल छैन, मानवअधिकारको विश्वव्यापी सिद्धान्तअनुसार पनि छैन । तथ्य के हो भने कुनै देश वा समाजमा बहुमतमा रहेको समुदायको व्यक्ति अर्को देश वा समाजमा पुग्दा अल्पसंख्यक हुन सक्छ । त्यसैले आफ्नो समुदायको व्यक्तिलाई फरक समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आफ्नो समुदायमा सहिष्णुता कायय गर्नु अपरिहार्य छ, यो जिम्मेवारीमा आजको समाज चुक्दै गएको छ ।
समूहमा बसाइँ सर्ने मान्छेको मूल प्रवृत्ति हो । तर, मान्छेले व्यवस्थित जीवनशैली अपनाउन थालेपछि फरकफरक भूगोलका मानिसहरूले अध्ययन, व्यवसाय, रोजगारी तथा व्यक्तित्व विकासका अवसर जस्ता विषयलाई केन्द्रमा राखेर व्यक्ति एक्लै वा पारिवारिक रूपमा एक ठाउँबाट अर्को ठाउँ र एक देशबाट अर्को देश जाने अभ्यास बनेको छ । त्यसैले आप्रवासनका एजेन्डा, नीति र मुद्दा महत्त्वपूर्ण बनेका छन् । तर, बहुसंख्यकलाई प्रभावित गरेर शासन गर्न चाहने समुदायले आप्रवासनलाई अप्राकृतिक रूप दिने, बहुसंख्यक समुदायमै डर सिर्जना गर्ने, आफूलाई उद्धारकका रूपमा प्रस्तुत गर्ने र राजनीतिक लाभ लिने चलाखी गरिरहेका हुन्छन् । जसका कारण कैयौं संवेदनशील समाजले द्वन्द्व भोग्नुपरेको छ । यस प्रवृत्तिको विपरीत हरेक देश र समाजमा अल्पसंख्यकको सुरक्षाका लागि राजनीतिक दल, नागरिक समाजको पहल अपरिहार्य छ ।
नेपालीहरू पनि अध्ययन, व्यवसाय र रोजगारीका विभिन्न अवसरको खोजीमा विश्वभर छन् । तर, आप्रवासीविरोधी हिंसा र राज्य संरक्षित युद्धका कारण उनीहरू विभिन्न देशमा संकटमा छन् । बेलायत, बंगलादेश, इजरायल, रुस–युक्रेनलगायत जुनसुकै देशमा भएका वा हुन सक्ने आन्तरिक उथलपुथल, प्रदर्शन, हिंसा वा युद्धमा नेपालीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित र प्रताडित हुने गरेका छन् । इजरायली भूमिबाट प्यालेस्टाइनी लडाकु समूह हमासको कब्जामा परेका विपिन जोशीको अवस्था हालसम्म अज्ञात छ । रुस–युक्रेन युद्धमा हालसम्म ३६ नेपाली मारिएको पुष्टि नै भइसकेको छ । तर यस क्रममा नेपाली राज्य संयन्त्रको सार्थक पहल र समन्वय अनुभूत हुन सकेन । यस्ता कमजोरीमा सुधार आवश्यक छ ।
प्रकाशित : श्रावण २५, २०८१ ०६:२९