कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

गणितको ‘हाउगुजी’

श्रावण २१, २०८१

जीवन काफ्ले

जीवन काफ्ले त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।

गणितको ‘हाउगुजी’

Highlights

  • गणित गाह्रो भएर मात्रै धेरै विद्यार्थी फेल भएका होइनन् । यसका अनगन्ती कारण छन् । यो विषय गाह्रो बन्नुका पछाडि विद्यार्थी, अभिभावक, शिक्षकदेखि राज्यसमेतको हात छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेपछि फेरि बहस सुरु भएको छ । यसपटक सदाझैं गणित विषयको नतिजा केही कमजोर देखिएको छ । गणित विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकसमेत अभाव भएको खबर आइरहेको पाठ्यक्रम प्रारूप र यसको कार्यान्वयनबारे गम्भीर समीक्षा जरुरी छ ।

विगतमा राज्यले गणितलाई ओझेलमा पार्ने गरी माध्यमिक तह (कक्षा ११ र १२) को पाठ्यक्रम लागू गरेपछि गणितप्रेमीको सशक्त अभियान तथा दबाबका कारण कक्षा ११ र १२ को प्रारूपमा गणित विषयलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको सट्टामा राखेर केही हदसम्म समाधान निकाल्ने प्रयास भयो । यस वर्ष कक्षा १२ कक्षाको नियमित परीक्षामा ३ लाख ९० हजार हाराहारी विद्यार्थी सहभागी भएकामा ५७ हजार २ सय ७० विद्यार्थीले गणित विषयको परीक्षा दिएका थिए । जसमा ८ हजार ६ सय ८ जनाले नन्ग्रेड (एनजी) ल्याएका छन् । परीक्षामा सहभागीमध्ये १४.८५ प्रतिशतले गणित रोजेकामा १५.०३ प्रतिशतले एनजी ल्याए । अघिल्ला वर्षभन्दा गणितमा नतिजा सुधार भए पनि महत्त्वपूर्ण विषय विद्यार्थीको रोजाइमा नपर्नु, गणित रोजेकाहरूको पनि नतिजा कमजोर देखिनुका अनेक कारण छन् ।

गणित विषयको पाठ्यक्रम स्तर सुहाउँदो नहुनु, विषयगत विशिष्ट, सामान्य र तहगत उद्देश्यअनुरूपका प्रश्नपत्र बन्न नसक्नु, तहगत विशिष्ट उद्देश्यप्राप्तिको मापदण्डका रूपमा स्तर सुहाउँदा प्रश्नपत्र नबनाई हचुवाको भरमा प्रश्नपत्र बनाइनु, पठनपाठनमा संलग्न नभएका कथित शिक्षकद्वारा प्रश्नपत्र बनाइनु, कार्यरत शिक्षकलाई प्रभावकारी शिक्षण विधिको तालिम तथा प्रशिक्षणको व्यवस्था नगरिनु जस्ता मुख्य कारण रहेका छन् ।

सबै विषय पढ्ने विद्यार्थीलाई एउटै गणित लाद्नु राम्रो कुरा होइन । त्यसैले विद्यार्थीले रोज्ने विषयअनुसारको गणित व्यवस्था गर्नुपर्ने देखिन्छ । यसका लागि गणितभित्र कम्तीमा तीनवटा गणितको बास्केट बनाउनुपर्छ । पहिलो, गणित विज्ञान संकायका विद्यार्थीका लागि, दोस्रो व्यवस्थापन र तेस्रो मानविकी तथा अन्य संकायका विद्यार्थीका लागि । आफ्नो विषयअनुसारको गणित रोज्न दिइयो भने गणितप्रति विद्यार्थीको आकर्षण बढ्छ । यसले विद्यार्थीले छनोट गरेका मूल विषयमा समेत सहयोगी भूमिका खेल्छ । आजको समाजले सुन्ने र घोक्ने गणित होइन सुन्ने, देख्ने र प्रयोग गर्ने गणित चाहेको छ ।

पाठ्यक्रममा पनि अनेक समस्या छन् । त्यसैले गणितलाई व्यावहारिक बनाउन विद्यमान पाठ्यक्रम प्रारूपलाई परिमार्जन गर्नु अपरिहार्य छ । गणितको गाह्रो प्रश्न बनाए दक्ष शिक्षक र प्रभावशाली भइन्छ भन्ने मनोवृत्तिले यस वर्षको कक्षा १२ को परीक्षामा भूमिका खेलेका देख्न सकिन्छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू कार्यशालाबाट बन्नुपर्ने भए पनि कार्यदलबाट बनाइन्छ । जुन आफैंमा विडम्बनापूर्ण छ ।

त्यस्तै पाठ्यक्रम कार्यान्वयनमा पनि समस्या छ । शैक्षिक क्रियाकलाप तथा परियोजना कार्यका माध्यमबाट गणितलाई सरल, सहज र जीवनोपयोगी बनाउने मूल मर्मका साथ ल्याइएको आन्तरिक मूल्यांकन विधिको मर्मलाई बेवास्ता गर्दा यस्तो समस्या आएको छ । गणितमा धेरै फेल भएको विषयलाई सनसनीपूर्ण खबर बनाइन्छ । तर पास भएको विषयलाई प्राथमिकतामा राखिँदैन । यो समस्याले विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि गाँजेको छ । केही शिक्षक यसलाई कसरी गाह्रो बनाउन सकिन्छ भनेर भरपूर प्रयासमा लागि रहेका हुन्छन् । कसैमा यो विषयलाई राम्रो आम्दानीको स्रोत बनाउने स्वार्थ देखिन्छ ।

गणित गाह्रो भएर मात्रै धेरै विद्यार्थी फेल भएका होइनन् । यसका अनगन्ती कारण छन् । यो विषय गाह्रो बन्नुका पछाडि विद्यार्थी, अभिभावक, शिक्षकदेखि राज्यसमेतको हात छ । गणित विषयको आफ्नै विशेषता छन् । यो अरू विषयजस्तो होइन । प्रश्नको सही उत्तर दिए राम्रो नम्बर आउँछ । अन्य विषयमा जस्तो थोरै बिग्रिए पनि नम्बर आउँदैन । यसमा शतप्रतिशत सही उत्तर लेख्नुपर्छ । यसकारण पनि गणितमा पास हुने विद्यार्थीको संख्यामा न्यून हुने गरेको छ ।

शैक्षिक दृष्टिले राज्यलाई कहाँ पुर्‍याउने भन्ने कुरामा स्पष्ट भएपछि मात्र गन्तव्यमा पुग्ने रीति, विधि र दिशा स्पष्ट हुँदै जान्छ । त्यसैले शिक्षा क्षेत्रलाई नेपालकै समुज्ज्वल भविष्य निर्माणको प्रकाशपुञ्ज बनाउने हो भने सम्बद्ध निकायले इमादारीपूर्वक स्पष्ट दृष्टिकोण ल्याओस् । हामी पाठ्यक्रम, पाठ्यपुस्तक तथा परीक्षा प्रणालीका विषयमा पाठ्यक्रम विकास केन्द्र र परीक्षा बोर्डसँग छलफल गर्नेछौं । आवश्यकताअनुसार शिक्षामन्त्री र प्रधानमन्त्रीलाई पनि यी विषयमा ध्यानाकर्षण गराई कार्यान्वयनका लागि पहल गर्नेछौं । आशा छ, सरकारले गणितप्रेमी विद्यार्थी, शिक्षक, तथा अभिभावकका भावनाअनुसार पाठ्यक्रम प्रारूपलाई परिमार्जन गर्नमा सकारात्मक कदम चाल्नेछ ।

– काफ्ले नेपाल गणित समाजका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : श्रावण २१, २०८१ ०७:२६
x
×