कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

आंशिक शिक्षकका समस्या

श्रावण १८, २०८१
आंशिक शिक्षकका समस्या

Highlights

  • एक दिन त करार होला भन्दै आंशिक शिक्षकहरू स्वदेशमै रहेर युवाको भविष्य निर्माणमा खटिइरहेका छन् । उनीहरूको आशा कदापि निराशामा नबदलियोस् । बरु पुनः यस पद्धतिबाट प्रवेश नगराइयोस् र पूर्णकालीन शिक्षक छनोट नियमित गरियोस् । 

त्रिभुवन विश्वविद्यालयले शिक्षक पद पूर्तिमा आंशिक शिक्षकको पनि व्यवस्था गर्ने गरेको छ । आंशिक शिक्षक भनेका ज्यालादारीमा काम गर्ने मजदुरजस्तै हुन् । काम गरेको दिनको ज्याला आउँछ, नगरेको दिन हात खाली । मजदुरलाई त कुनै कम्पनीमा काम गरेको ६ महिनापछि करारमा लानुपर्ने नियम छ भने शिक्षकलाई किन करारमा लानु नपर्ने ? आंशिक शिक्षकको यो माग जायज पनि छ ।

कम्तीमा स्नातकोत्तर र त्योभन्दा बढी योग्यता हाासिल गरेका आंशिक शिक्षक हाल त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् । आंशिक रूपमा गरिरहेको सेवाको यो लामो अवधिमा विभिन्न तालिमसमेत लिएका, सम्मेलनमा भाग लिएका, कार्यशाला र गोष्ठीमा कार्यपत्र प्रस्तुत गरिसकेका शिक्षक पनि छन् । आज करार होला, भोलि होला भनी विश्वविद्यालयमा सेवा गर्दागर्दै उनीहरूको निवृत्त हुने बेला भइसक्यो । ढिलै भए पनि उनीहरूलाई करारमा लगियोस् भन्ने माग हो । सधैंभरि आंशिक शिक्षकका रूपमा सेवा गर्न नसकिने हुँदा मासिक तलब दिई काम लगाइयोस् काम गर्न तयार छौं भन्ने उनीहरूको भनाइ जोकोहीले गलत भन्ने छैन ।

नेपालमा धेरै वर्षअघिदेखि त्रिविका आंशिक शिक्षकलाई करारमा लाने गरिएका नजिर पनि छन् । हालको समयमा अठार वर्षदेखि निरन्तर त्रिविमा प्राध्यापन गर्दै आएका शिक्षकहरू पनि छन् । सबैले स्वीकार गरेको अनुभव पनि हो । उनीहरूले शिक्षण सिकाइका क्षेत्रमा प्रशस्तै अनुभव बटुलेका छन् । योग्यता नै नभएका शिक्षक छन् भने पनि छानबिन गरियोस् ।

एकातिर त्रिविलाई आंशिक शिक्षकहरूकै भर छ भने अर्कातिर सेवा आयोग पास गरेर नआएका कारण त्रिविका क्याम्पसमा अपहेलना र भेदभाव गरिन्छ । कतिपय आंशिक शिक्षकलाई त यिनीहरू सेवा आयोग पास भएर आएका होइनन् भनेर विद्यार्थीलाई समेत उकासेर शिक्षकको अपहेलना तथा गाली बेइज्जतीसमेत गरिएको तितो अनुभव रहेछ । आंशिक शिक्षक कक्षामा पूरा तयारीका साथ जान्छन् किनकि विश्वविद्यालयमा पढाउँदा विद्यार्थीको चित्त बुझाउनुपर्ने हुन्छ ।

नत्र त त्यही जागिर पनि रहन्छ रहन्न भन्ने डर भइरहन्छ । तर स्थायी शिक्षकलाई त्यो डर कदापि छैन । धेरैजसो स्थायी शिक्षक आंशिक शिक्षकलाई पढाउन लगाएर उहाँहरू कि त राजनीतिमा लाग्नुहुन्छ कि बढुवाका लागि आफ्नो योग्यता बढाउन लागि पर्नुहुन्छ । बढुवा भएपछि तलब सुविधा बढ्ने तर झन् पढाउनु नपर्ने जस्तो संस्कार विश्वविद्यालयमा हुर्कंदो छ । एमफिल तथा पीएचडी गर्नका लागि बिदामा बस्ने प्रवृत्ति पनि देखिन्छ । स्थायी शिक्षकहरू बिदामा बसेपछि पढाउने काम आंशिक शिक्षककै भरमा छोड्ने प्रवृत्ति पनि हाबी छ ।

दुःखले पढेर योग्यता हासिल गरिसकेका र स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा लिएका युवा जमातलाई अन्य रोजगारीको अवसर पनि छैन । स्वरोजगारका लागि लगानी गर्न सक्ने क्षमता पनि छैन र उनीहरू त्यही आंशिक शिक्षकका रूपमा भए पनि मिहिनेत गरिरहेका छन् । तर यो महँगीमा उनीहरू कसरी बाँचिरहेका छन् ? बालबच्चा कसरी पढाइरहेका छन् ? घर भाडा कसरी तिरिरहेका छन् ? कसरी स्वास्थ्योपचार गरिरहेका छन् ? तर सरकारका लागि यो कुनै चासोको विषय नै होइन ।

तलब प्राप्त गर्ने पालो पनि आंशिक शिक्षकको नै सबैभन्दा ढिलो हुन्छ । धेरैजसो स्थायी प्राध्यापकले विद्यार्थी आउने कक्षामा आफ्नो रुटिन नराख्ने भएपछि धेरै विद्यार्थीले उनीहरूबाट सिक्नै पाउँदैनन् । स्थायी प्राध्यापकसँग भएको त्यो ज्ञान विद्यार्थीलाई कामै नलाग्ने भएपछि उनीहरूले जति नै योग्यता बढाए पनि के मतलब ? त्रिविका कक्षा लिने मात्र नभएर परीक्षामा गार्ड बस्नु पनि आंशिक शिक्षकहरूकै कार्यभार हो झैं गरिन्छ । त्रिविले यसरी कसैलाई काखा र कसैलाई पाखा नगरोस् ।

‘जति घोक्रो सुकाएर पढाए पनि आंशिक शिक्षकलाई राज्यले सम्बोधन नगर्दा अबको विकल्प भनेको विदेश नै हो’ भनेर निराश हुने आंशिक शिक्षकको संख्या धेरै छ । सकेसम्म पाएसम्म विदेश गएर पीएचडी गर्ने, नसके काम मात्र भए पनि गर्ने उनीहरूको सोच देखिन्छ । कोभिडका बेला विश्वविद्यालयका अनलाइन कक्षामा पढाउने धेरैजसो आंशिक शिक्षक नै थिए । कतिपय स्थायी शिक्षक तथा प्राध्यापकलाई त कम्प्युटर चलाउन पनि आउँदैन । अर्का एक आंशिक शिक्षकको अनुभव यस्तो छ— ‘संसारका धेरै विदेशी विश्वविद्यालयले विभिन्न विषयमा स्नातकोत्तर तथा पीएचडी गर्ने पूर्ण छात्रवृत्तिसमेत दिइरहेका हुन्छन् । छात्रवृत्ति नै नपाए पनि केही शुल्क तिरेर विदेश नगई भएन, किनकि नेपालमा हाम्रो मिहिनेत परिश्रम र घोक्रो सुकाइको कदर भएन । आंशिक शिक्षकले कुनै इज्जत पनि भएन ।’

विश्वविद्यालयका पदाधिकारीले आंशिक शिक्षकको पीडा बुझ्दैनन्, सरकारले पनि यो पीडा बुझ्न चाहँदैन । यस्तो अवस्थाबाट आकलन गर्न सकिन्छ, शिक्षकहरू पनि अब नेपालमा सन्तुष्ट छैनन् । आंशिक शिक्षकले धानेको त्रिविलाई अब बिस्तारै शिक्षकको पनि अभाव हुने देखिन्छ । आंशिक शिक्षक एक दिन त करार होला भन्दै स्वदेशमै रहेर युवाहरूको भविष्य निर्माणमा खटिइरहेका छन् । उनीहरूको आशा कदापि निराशामा नबदलियोस् । बरु पुनः यस पद्धतिबाट प्रवेश नगराइयोस् र पूर्णकालीन शिक्षक छनोट नियमित रूपमा गरियोस् ।

प्रकाशित : श्रावण १८, २०८१ ०६:३४
x
×