कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

विश्वव्यापी द्वन्द्वबीच नेपालको हित

कैयन् मुलुकमा हालसालै आमचुनाव भएका छन्, कैयन् मुलुक आमचुनावको संघारमा छन् । यस्ता अनेक कारणले विश्व राजनीति तरंगित हुँदा नेपालमा पनि प्रभाव पर्न सक्छ, जसको पहिचान गर्न गम्भीर विमर्श आवश्यक छ ।
भगवती न्यौपाने

विश्व राजनीतिमा तीव्र गतिमा उतारचढाव भइरहेको छ । फ्रान्समा हठात् मध्यावधि चुनाव भयो, इरानमा राष्ट्रपतिको निधनपछि चुनाव गराइयो । अमेरिकाले तिब्बतका सम्बन्धमा थप एउटा कानुन पारित गर्‍यो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले हालै उत्तर कोरिया भ्रमण गरे । यी घटनाक्रमले विश्व राजनीतिमा ज्वारभाटा चलाइरहेका छन् ।

विश्वव्यापी द्वन्द्वबीच नेपालको हित

कैयन् मुलुकमा हालसालै आमचुनाव भएका छन्, कैयन् मुलुक आमचुनावको संघारमा छन् । यस्ता अनेक कारणले विश्व राजनीति तरंगित हुँदा नेपालमा पनि प्रभाव पर्न सक्छ, जसको पहिचान गर्न गम्भीर विमर्श आवश्यक छ ।

विश्व राजनीतिमा हुने हेरफेर एवं उतारचढावले हरेक देशलाई असर गर्छ । खासगरी अमेरिका–चीन सम्बन्धमा आएको उतारचढावले नेपाललाई अस्वाभाविक रूपमा असर गर्न सक्छ । अमेरिकाले चीन सम्बन्धमा आफ्नो रणनीति निरन्तर फेरबदल गर्दै आएको छ । अमेरिकी संसद्ले हालै ‘तिब्बत रिजुलोसन एक्ट’ पारित गर्‍यो । उक्त कानुनले ‘तिब्बत ऐतिहासिक रूपमा चीनको भूमि होइन’ भनेको छ । यसमार्फत अमेरिकाले आफ्नो तिब्बत नीतिमा ठूलै परिवर्तन भएको संकेत दिएको छ ।

अहिले विश्वले भोगिरहेको नयाँ शैली, नयाँ चरित्र र नयाँ प्रवृत्तिको द्वन्द्वको कुनै नाम छैन । कतिपयले यसलाई शीतयुद्ध–२ भनेका छन् । शीतयुद्ध र अहिलेको द्वन्द्वको आधारभूत चरित्र नै फरक छ । अहिलेको द्वन्द्वलाई सार्थक रूपमा चित्रण गर्न सक्ने बहुस्वीकार्य नाम कसैले प्रस्ताव गर्न सकेको छैन । आजको विश्वमा द्वन्द्वका विषयगत र भौगोलिक आयाम दुवै विस्तारित हुँदै गएका छन् । यही सन्दर्भमा तिब्बत प्रकरणको नयाँ संस्करण आएको छ ।

चीन र अमेरिका विश्व महाशक्ति हुन् । उनीहरूको द्वन्द्वले समग्र विश्व प्रभावित हुन्छ । चीन र अमेरिकाबीच कैयन् भूक्षेत्र र विषयमा द्वन्द्व चलिरहेको छ । तर तिब्बत मामिलाको द्वन्द्वले नेपाललाई प्रत्यक्ष असर गर्न सक्छ । किनभने तिब्बतसँग नेपालको सिमाना गाँसिएको छ । चीन–तिब्बतमा अस्थिरता हुँदा त्यसको दुष्प्रभाव नेपालमा पर्ने गरेको इतिहास छ । तिब्बत मामिलामा अमेरिकाले द्वन्द्वको नयाँ अध्याय सुरु गरिसकेको छ, यस अवस्थामा द्वन्द्वको अतीत स्मरण गर्नुपर्ने हुन्छ ।

अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको गत मंसिर १३ मा निधन भयो । किसिन्जर ती मुख्य पात्र थिए, जसले चीन र अमेरिकालाई नजिक ल्याएका थिए । शीतयुद्ध कालमा सोभियत संघविरुद्ध अमेरिकालाई चीनको साथ चाहिएको थियो । अमेरिकालाई साम्राज्यवादी भनेर कडा आलोचना गर्ने चीनलाई शत्रुबाट मित्रमा परिणत गर्न सजिलो थिएन । त्यस कालखण्डमा लगभग असम्भवझैं लाग्ने यो काम फत्ते गर्नमा निर्णायक भूमिका थियो किसिन्जरको । मृत्युभन्दा केही महिनापहिले सामान्य अमेरिकी नागरिकको हैसियतमा बेइजिङ पुगेका किसिन्जरलाई चीनले भव्य स्वागत गरेको थियो । त्यस्तो स्वागत दिइनुका पछाडि अमेरिकासँग सम्बन्ध सुधारमा उनको योगदानलाई चीनले अर्थपूर्ण स्मरण गरेको हो । किसिन्जरको निधनलगत्तै चीन–अमेरिका सम्बन्ध फेरि उही पुरानै तनावमा फर्किनु संयोग मात्र हुन सक्छ ।

किसिन्जरले चीनको घाँटीमा अड्किएको एउटा काँडा पनि निकालिदिएका थिए । त्यसबेला तिब्बतका खम्पाहरूको समूहले अमेरिका र भारतको सहयोगमा नेपालको हिमाली क्षेत्रमा बसेर सशस्त्र गतिविधि चलाइरहेका थिए । सन् १९७१ जुलाईमा पाकिस्तानबाट गुप्त रूपमा पहिलो पटक किसिन्जर चीन पुगे । सम्बन्ध यति नराम्रो थियो कि औपचारिक भ्रमण हुन सक्दैनथ्यो, त्यसैले गुप्त भ्रमण गरिएको थियो । किसिन्जरको गोप्य भ्रमणपछि चीन–अमेरिका सम्बन्धमा सुधार भयो ।

चीन–अमेरिका सम्बन्ध सुधारको पहिलो असर तिब्बत मामिलामा पर्‍यो । किसिन्जरको भ्रमणपछि अमेरिकाले नेपाली भूमिमा बसेर चीनविरुद्ध सशस्त्र गतिविधि गरिरहेको खम्पा समूहलाई सहयोग बन्द गरिदियो । त्यसपछि भारत पनि पछाडि हट्यो । नेपाली सेनाले खम्पाहरूको सशस्त्र गतिविधि निस्तेज बनायो, सेनाको हातबाट खम्पाका कमान्डर वाङ्दी मारिए ।

यो इतिहास स्मरणको अर्थ हो, तिब्बत मामिलामा चीन र अमेरिकाबीच द्वन्द्व हुँदा नेपालले दुःख पाउने गरेको छ, नेपाली भूमिको समेत दुरुपयोग हुने गरेको छ । खम्पा समूहको सशस्त्र अभियानको अन्त्य तथा चीनसँगको सम्बन्ध सुधारपछि पनि अमेरिकाले तिब्बती पृथकतावादी आन्दोलनलाई निरन्तर सहयोग गर्दै आएको छ तर हतियार दिएर होइन ।

किसिन्जरको त्यो पहिलो भ्रमण यता अथवा खम्पा विद्रोह निस्तेज पारिएयता अमेरिकाले आफूलाई तिब्बतको मानवअधिकार र नागरिक स्वतन्त्रताको मुद्दामा मात्र सीमित राख्दै आएको थियो । अब अमेरिकाले आफूलाई त्यतिमा मात्र सीमित नराख्ने सन्देश ‘तिब्बत रिजुलोसन एक्ट’ मार्फत दिएको छ । अमेरिकी नीतिमा आएको यो फेरबदलमा चीनको निकै कडा प्रतिक्रिया आइसकेको छ । आगामी दिनमा यो मामिलामा चीन र अमेरिकाको टक्कर कडै हुने देखिन्छ । यो नयाँ परिवेशलाई नेपालले मिहिन ढंगले विश्लेषण गरेर तटस्थ परराष्ट्र नीतिलाई झन् दह्रो बनाउनैपर्ने हुन्छ ।

चीन र अमेरिकाबीच दक्षिण चीन समुद्रदेखि जिबुटीको सैन्य अखडासम्म विवाद छ । रुस–युक्रेन युद्धमा दुई देशबीच १८० डिग्रीको दृष्टि भिन्नता छ । लगभग सबैजसो अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको आपसी मतभेद छ । त्यस्ता सबै द्वन्द्व र मतभेदले नेपाललाई प्रत्यक्ष असर नपार्न सक्छ तर तिब्बत मामिलाले प्रत्यक्ष असर गर्छ ।

शीत युद्धकालमा सोभियत संघ र अमेरिकाबीच प्रत्यक्ष युद्ध हुने चिन्ता सधैं हुन्थ्यो । वर्तमान विश्व अमेरिका–चीन द्वन्द्वले आक्रान्त छ । यसमा युद्धको सम्भावना दूर क्षितिजसम्म देखिँदैन भने शीतयुद्धकालमा जस्तो तनाव पनि छैन । चीन र अमेरिकाबीच यावत् क्षेत्रमा द्वन्द्व भए पनि सहकार्य व्यापक छ । दुवै देश निरन्तर संवादमा छन् । कूटनीतिक आदानप्रदान प्रभावकारी छ । व्यापार, आर्थिक क्षेत्र तथा विभिन्न विश्व मामिलामा सहकार्य पनि यथेष्ट छ ।

यस्तो सहकार्य तत्कालीन सोभियत संघ र अमेरिकाबीच कल्पनासमेत गर्न सकिँदैनथ्यो । सहकार्य र द्वन्द्व एकसात् गर्ने सन् ९० पछिको नवीन अन्तर्राष्ट्रिय शैलीमा चीन र अमेरिका दुवै पारंगत छन् । द्वन्द्व र सहकार्य एकसात् गरे पनि छद्म युद्ध अहिलेको विश्वको सबैभन्दा डरलाग्दो र घृणित पक्ष हो । कमजोर देशलाई युद्धमा फसाउने र आफू पर्दापछाडि बसेर युद्धरत एउटा पक्षलाई सघाउने विश्वशक्तिहरूको चलन अब नयाँ रहेन । नेपाली समाज र सरकारले यस्तो प्रवृत्तिलाई गहिरोसँग बुझ्न आवश्यक छ ।

तिब्बतका नाममा गरिने द्वन्द्वमा क्षेत्रीय शक्तिका रूपमा रहेको भारत पनि विभिन्न प्रकारले जोडिन्छ नै । तिब्बती नेता दलाई लामा स्वयं भारतमा स्वनिर्वासित जीवन बिताइरहेका छन् । अमेरिकी संसद्ले ‘तिब्बत रिजुलोसन एक्ट’ पारित गरेलगत्तै त्यहाँका सांसद्हरूको एउटा टोलीले भारत आएर दलाई लामासँग भेट्यो । सो टोलीले दलाई लामाले बनाएको ‘निर्वासित तिब्बती संसद्’ को बैठकलाई समेत सम्बोधन गरेको थियो । अमेरिकी सांसद्हरूको टोली फर्किएलगत्तै दलाई लामा ‘उपचार गर्न’ अमेरिका पुगे । अमेरिकामा गरिएको दलाईको भव्य स्वागतले धेरै गहिरो अर्थ दिन्छ । भारतमा दलाई लामा भेट्न पुगेका सांसदहरूको टोलीलाई दिइएको मान्यताले पनि गहिरो अर्थ दिन्छ ।

चीन र अमेरिकाबीचको द्वन्द्व विश्वको राजनीतिक, आर्थिक, सामाजिक, सामुद्रिक यावत् क्षेत्रमा देख्न सकिन्छ । तर तिब्बत र ताइवान अमेरिकाका यस्ता हतियार हुन् जसले चीनको मुटुमै प्रहार गर्छ । त्यसो त अमेरिकाले चीनका उइगुर अतिवादीलाई पनि सघाउँदै आएको छ । उइगुर मुद्दाभन्दा तिब्बत मुद्दा गुणात्मक रूपमै फरक र व्यापक छ ।

ताइवान मामिलाको अन्तर्य र इतिहाससग तिब्बत मामिला मिल्दैन । तिब्बत मामिलालाई ताइवानकै उचाइमा राजनीतिक र सामरिक रूपमा उठाउने अमेरिकी प्रयत्नले समग्र एसिया, विशेषगरी दक्षिण एसियामा व्यापक प्रभाव पर्न सक्छ । चीन नेपालको जमिनको छिमेकी हो भने अमेरिका आकाशे छिमेकी हो ।

द्वन्द्व गर्ने मामिलामा अमेरिकालाई विश्वको कुनै पनि भूगोल टाढा लाग्दैन भन्ने बुझ्न दोस्रो विश्वयुद्धपछि अमेरिका संलग्न विभिन्न युद्धलाई हेरे पुग्छ । आफ्नो छरछिमेकलाई सेरोफेरो बनाएर विश्व राजनीतिमा आएको यस फेरबदललाई नेपालले गहिरोसँग हेरेर, सुनेर र मनन गरेर राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्नुपर्छ ।

-न्यौपाने राष्ट्रिय सभा सदस्य हुन् ।

प्रकाशित : असार २६, २०८१ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×