कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

लाइसेन्समा लापरबाही

सबैभन्दा पहिले आजसम्म प्रक्रियामा किर्ते गरेर नक्कली लाइसेन्स वितरण गर्न भूमिका खेल्ने सबैलाई कारबाहीको दायरामा ल्याइहाल्न ढिलाइ गर्नु हुँदैन । त्यसपछि प्रक्रियागत र प्राविधिक सुधारका लागि सम्भव भएका सबै उपाय अवलम्बन गर्न जरुरी छ ।
सम्पादकीय

२०७२ मंसिरयता जारी भएका १ लाख २ हजार ७ सय ११ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) शंकास्पद भेटिएका छन् । यातायात व्यवस्था विभागले समिति नै बनाएर गरेको अनुसन्धानबाट शंकास्पद देखिएका त्यस परिमाणको लाइसेन्समध्ये ३ सय ५० वटाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्दा सबै नक्कली फेला परेका छन् ।

लाइसेन्समा लापरबाही

साथै, सम्बन्धित यातायात कार्यालयका कर्मचारी र दलालको संलग्नतामा नक्कली लाइसेन्स बनाउने काम भइरहेको देखिएको छ । कतिपय पक्राउ पनि परेका छन् । यसबाट ‘लाइसेन्स संसार’ मा रहेको ठूलो गडबडी प्रस्ट भएको छ । अनुसन्धान प्रक्रियालाई अझै व्यापक र तीव्र बनाउन तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।

विभागले निश्चित गरेका प्रक्रिया पूरा नगरी दलालले सिर्जना गरेका ‘प्रक्रिया’ अपनाएर लिइएका लाइसेन्स शंकाको घेरामा परेका हुन् । हालसम्म ५६ लाख लाइसेन्स जारी भएको विभागको भनाइ छ । जबकि २०७२ मंसिरयता जारी भएकै शंकास्पद लाइसेन्सको संख्या अत्यासलाग्दो छ । त्यसैले चालकको गोजीमा रहेको लाइसेन्स, त्यसलाई बनाउने प्रक्रिया र वितरण गर्ने प्रणाली सबैमाथि तत्काल निर्मलीकरण आवश्यक रहेको देखिन्छ ।

दलालमार्फत प्राप्त हुने आर्थिक लाभका कारण सम्बन्धित कार्यालयका कर्मचारीको मिलेमतोमा नक्कली लाइसेन्स बनाइने गरेको पाइन्छ । दलालमार्फत लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा वास्तविक लाइसेन्सधारीको विवरणमा दखल पुर्‍याउने र किर्ते गर्ने गरेको पनि अनुसन्धानमा देखिएको छ । यसबाट विधि पूरा गरेर लाइसेन्स लिएकाहरूलाई पनि समस्यामा पारेको छ । सामान्यतया प्रक्रियागत रूपले लिन अयोग्य रहेका व्यक्तिहरूले नक्कली लाइसेन्स लिने हुन् ।

यसरी, आवश्यक सीपबिना नै लाइसेन्स प्राप्त गर्ने र प्रयोग गर्ने हुँदा सम्बन्धित व्यक्ति र अन्य बेसरोकारका व्यक्तिको समेत जीवनमाथि जोखिम बढेको छ । किनकि, सीपबिना नै सवारी चलाउँदा हुन सक्ने दुर्घटनाबाट चालकबाहेकका व्यक्ति पनि पीडित हुन सक्छन् । दलालमार्फत लाइसेन्स लिँदा हुने अनावश्यक खर्च अर्को पक्ष हो । खर्च हुने, जीवन पनि जोखिममा रहने र कानुनी कारबाहीको सम्भावनापनि कायम रहने हुँदा लाइसेन्स लिन अग्रसर सबैले व्यक्तिगत सचेतता अपनाउन जरुरी छ ।

नक्कली लाइसेन्स बनाउन अग्रसर हुनुमा व्यक्ति विशेषका आफ्ना विशिष्ट कारण हुन सक्छन् । तर विभागले तोकेको प्रक्रियाअनुसार अगाडि बढ्न झन्झटिलो हुने तथा लाइसेन्स प्राप्त गर्न पनि ढिला हुने जस्ता कारण देखाएर मानिसहरू ‘दलालको मार्ग’ हिँड्न रुचाउने गरेका छन् । लाइसेन्स बनाउन मात्रै होइन, प्रायः सबै सरकारी सेवा प्रणालीप्रति मान्छेको बुझाइ उस्तै छ । सँगसँगै, मान्छेको जीवनशैली फेरिएको छ । कुनै पनि प्रक्रियालाई घोरिएर बुझ्न तथा त्यसमा अल्झिन धेरैलाई फुर्सद छैन । यसकै फाइदा दलालले उठाउने गरेका छन् । उनीहरूले अतिरिक्त शुल्क लिएर हातमा नक्कली लाइसेन्स थमाइदिने गरेका छन् । अहिलेको समस्याको सुरुवात बिन्दु यही हो ।

यो समस्या रोकथामका लागि प्रक्रियागत र प्राविधिक सुधार आवश्यक छ । मापदण्ड पूरा गरेका दक्ष व्यक्तिले सहजै लाइसेन्स लिन सक्ने प्रक्रियाको अवलम्बन गर्न आवश्यक छ । अहिले जसरी दक्ष व्यक्तिले पनि विभागले तय गरेको प्रक्रिया पूरा गर्न झन्झट मान्ने गरेका छन्, त्यसप्रति विभाग स्वयं गम्भीर हुनुपर्छ । झन्झट नमानिने खालको प्रक्रियाको सुरुवात उसले गर्नुपर्छ । साथै, सूचनालाई व्यवस्थित गर्नुपर्छ । सम्बन्धितको पहुँचमा सूचना पुग्ने सुनिश्चित गर्नुपर्छ । सूचनाको अभावमा कतिपयले आफू दलालबाट ठगिएको थाहा पनि पाउने गरेका हुँदैनन् । उनीहरूलाई ‘दलाल मार्ग’ नै वास्तविक लागिरहेको हुन्छ । जब थाहा पाउँछन्, ढिला भइसकेको हुन्छ । साथै, सम्बन्धित कार्यालयमा आधिकारिक सहयोगी राख्न पनि सकिन्छ ।

आजकाल त सरकारी सेवा लिनुपर्ने कार्यालय वरपर दलालको साम्राज्य हुन्छ, उनीहरूले सेवाग्राहीदेखि सम्बन्धित कर्मचारीलाई प्रभावमा लिएर सहजै काम गरिदिन्छन् । आधिकारिक सहयोगी राख्ने हो भने सेवाग्राहीलाई दलालसम्म पुग्नु पर्दैनथ्यो ।लाइसेन्स प्राप्त गर्ने प्रक्रियामध्येको ट्रायलमा हुने सेटिङ रोक्न ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक) प्रविधि तत्काल लागू गर्न पनि आवश्यक छ । अहिले ट्रायल पास वा फेल भएको निर्धारण गर्न मानवीय दृष्टि प्रयोग हुँदै आएको छ । जसले गर्दा फेल भएकालाई समेत सेटिङ गरेर पास हुन सजिलो भएको छ । जसले विकृतिको ठाउँ उपलब्ध गराएको छ । तर, एडीटीटी प्रविधिमा क्यामेराले ट्र्याक मोनिटर गर्दै तत्कालै पास र फेल छुट्याइदिन्छ । यसो हुँदा दलालले फेल भएकाहरूलाई पनि पास गराइदिने आश्वासनमा रकम असुल्ने र नक्कली लाइसेन्स थमाइदिने बाटो बन्द हुन्छ । त्यसपछि त्यहाँ सेटिङको ठाउँ बन्द हुन्छ ।

विभागले आफ्नो डाटा भण्डारण प्रणालीलाई थप बलियो र चलखेल गर्न नसकिने खालको बनाउन आवश्यक छ । सम्बन्धित कार्यालयका कर्मचारीलाई प्रदान गरिने ‘युजर आईडी’ र ‘पासवर्ड’ को दुरुपयोग गर्दै नक्कली लाइसेन्स बन्ने गरेको देखिन्छ । त्यसैले त्यसको दुरुपयोग रोक्नका लागि आवश्यक सतर्कता अपनाउन आवश्यक छ । सुधारका लागि यी लगायतका अनेक उपाय पहिल्याउन सकिन्छ । तर सबैभन्दा पहिले आजसम्म प्रक्रियामा किर्ते गरेर नक्कली लाइसेन्स वितरण गर्न भूमिका खेल्ने सबैलाई कारबाहीको दायरामा ल्याइहाल्न ढिलाइ गर्नु हुँदैन । त्यसपछि प्रक्रियागत र प्राविधिक सुधारका लागि सम्भव भएका सबै उपाय अवलम्बन गर्न जरुरी छ ।

प्रकाशित : असार २६, २०८१ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×