कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

संसद्को अभिलेखमा हाजिर, छलफलमा गयल

अति जरुरी अवस्थाबाहेक भत्ताको लोभले हाजिर गर्दै संसद् भवनबाट बाहिरिने लज्जास्पद कार्यशैली सांसदहरूले त्याग्नुपर्छ ।
सम्पादकीय

प्रतिनिधिसभा नियमावलीमा सांसदले पालना गर्नुपर्ने आचारसंहिता छ, जहाँ भनिएको छ– बैठक वा आफू सदस्य भएको समितिमा उपस्थित भई यसका कामकारबाहीमा नियमित रूपमा भाग लिने । यो नियम सांसदहरू आफैंले बनाएका हुन् । तर नियम पालनामा अधिकांश सांसद इमानदार देखिएका छैनन् ।

संसद्को अभिलेखमा हाजिर, छलफलमा गयल

कोही सांसद संसद् भवन पुग्छन्, हाजिर गर्छन् अनि बाहिरिइहाल्छन् । कतिपय भने केही बेर बैठकमा बस्छन्, बीचैमा लुसुक्क निस्किन्छन् । नियमित रूपमा संसद् नजाने नेताहरू पनि छन् । कहिलेकाहीं गणपूरक संख्या नपुगेर बैठक नै स्थगन गर्नुपर्ने अवस्था आउँछ । सांसदहरूको यस्तो गैरजिम्मेवार शैलीमाथि वर्षौंदेखि टीकाटिप्पणी र आलोचना हुँदै आए पनि कहिल्यै सुधार नदेखिनु उदेकलाग्दो छ ।

यति बेला संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै छ । एक वर्षभरि हुन सक्ने आम्दानी र खर्चको अनुमानसहित विभिन्न शीर्षकमा रकम विनियोजन गरेर सरकारले गत जेठ १५ मा संसद्मा बजेट पेस गरेको थियो, जुन प्रस्तावित मात्रै हो । त्यसमाथि तर्कपूर्ण बहस, छलफल गराएर संसद्ले संशोधन पनि गराउन सक्छ । बजेटमा निर्धारित लक्ष्य हासिल गर्ने उपायहरू सांसदले सुझाउन सक्छन् । संसद्बाट पारित भएपछि बजेट कार्यान्वयनमा जान्छ । यति महत्त्वपूर्ण विषय छलफलमा रहँदासमेत सांसदहरूको सहभागिता नदेखिनु आश्चर्यजनक छ ।

बजेटसम्बन्धी छलफलमा सांसदको सहभागिता कस्तो छ भनेर बुझ्न मंगलबारको प्रतिनिधिसभा बैठक नै पर्याप्त छ । प्रतिनिधिसभामा मंगलबार आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल चल्यो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको बजेटमाथि छलफल हुँदा अधिकांश कुर्सी खाली थियो । प्रायः सबै दलका शीर्ष नेता अनुपस्थित थिए । बोल्ने पालो कुरेर बसेका बाहेक थोरै सांसद मात्र अन्तिम समयसम्म बसे । धेरैजसो सांसद आफ्नो भनाइ राख्दै र हाजिर लगाउँदै बाहिरिए ।

छलफलको विषयसँग सम्बन्धित संसदीय समितिका सभापतिहरूसमेत बैठक चलिन्जेल बसेनन् । यस्तो परिदृश्य संसद्मा प्रायः सधैं देखिन्छ । जबकि सांसदहरूले सक्रियता देखाउनुपर्ने नै संसद्मा हो । संसद्/संसदीय समिति बैठकमा उपस्थित हुनु सांसदहरूको नियमित काम हो । बैठकमा उपस्थित भएबापत सांसदलाई भत्ता दिने व्यवस्था छ । त्यही भत्ताका लागि कतिपय सांसद हाजिर मात्र जनाएर फर्कन्छन् । तर यो बैठक भत्ताको दुरुपयोग हो, आफूलाई विश्वास गरेर निर्वाचित गराएका मतदाताको अवमूल्यन पनि हो । सिंगो राज्य सञ्चालनका लागि नियम–कानुन बनाउने सांसदहरू नै यसरी कर्तव्यविमुख हुनु लज्जाजनक छ ।

सांसदहरूको कार्यसम्पादन मापन गर्ने प्रमुख आधार कानुन निर्माण हो । अहिलेको प्रतिनिधिसभाको कार्यकाल डेढ वर्ष बित्दै गर्दा अन्तिम रूप दिइएका विधेयकको संख्या आधा दर्जन पनि पुग्दैन । संसद्मा जेजति विधेयक दर्ता छन्, तिनको प्रगति सन्तोषजनक छैन । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल पनि संघीयता कार्यान्वयनसम्बन्धी केही अत्यावश्यक विधेयकलाई निष्कर्ष नपुर्‍याउँदै टुंगिएको थियो ।

शान्ति प्रक्रियासँग जोडिएको संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संसद्मा अल्झिएको अल्झियै छ । तिनलाई अघि बढाउने भूमिका सांसदहरूकै हो । अत्यावश्यक विधेयक सांसदहरूले आफैं तयार गरेर अघि बढाउन सक्छन्, सरकारसँग ‘बिजनेस’ माग्न सक्छन् । यी भूमिकामा सांसदहरूको सक्रिय अग्रसरता देखिन सकेको छैन । संसद्ले विधेयक टुंगो नलाग्दा लगानी सम्मेलन नै प्रभावित हुन सक्ने स्थिति आएपछि गत महिना संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुपरेको थियो । सरकारको कामकारबाही निगरानी गर्ने, सुधारका लागि सुझाव वा निर्देशन दिने संसद्को भूमिका पनि प्रभावकारी हुन सकेको छैन । संसदीय समितिहरूले बेला–बेला निर्देशन दिन्छन् तर ताकेता गरेर सरकारलाई जवाफदेही बनाउन सकेका छैनन् ।

संसद्लाई प्रभावकारी बनाउने सांसदहरूको सक्रिय र रचनात्मक भूमिकाले नै हो । प्रभावकारी संसद्ले कार्यपालिकालाई समेत जवाफदेही बनाउन सक्छ, सुशासन बलियो हुन सक्छ । सांसदहरूलाई संसद् बैठकमा सक्रिय सहभागी हुने वातावरण तयार गरिदिनुपर्ने राजनीतिक दलको नेतृत्वले पनि हो । संसद्मा जतिसुकै बहस–छलफल भए पनि सीमित दलका शीर्ष नेताको निर्णयमा टुंगो लगाउने प्रवृत्ति गलत छ । यसले सांसदहरूलाई निष्क्रिय बनाउँछ । विधेयक प्रमाणीकरण भइसकेपछि मात्र सांसदले ‘कमजोरी’ थाहा पाउने अवस्था यसैका कारण बन्ने गरेको हो ।

सांसद आफैंले पनि आफ्नो भूमिका खोज्नुपर्छ । बैठकका विषयवस्तु राम्ररी बुझेर, पर्याप्त अध्ययन गरेर छलफलमा सक्रिय सहभागी हुनुपर्छ । अति जरुरी अवस्थाबाहेक भत्ताको लोभले हाजिर गर्दै संसद् भवनबाट बाहिरिने लज्जास्पद कार्यशैली सांसदहरूले त्याग्नुपर्छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×