कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

आफ्ना-आफ्नै राम !

दैवीशक्ति भएको व्यक्तिमा आफ्नो क्षमता, पात्रता एवं गल्ती गर्नै नसक्ने सामर्थ्यमा अटल विश्वास हुन्छ । त्यस्ता व्यक्ति आफ्ना ठम्याइलाई अन्तिम सत्य मान्छन् । आफ्नो टेकबाट डेग हल्लिन मान्दैनन् ।
सीके लाल

उपयुक्त अवसर चयन गरेर आफ्नो स्वार्थअनुसार विवादास्पद अभिव्यक्ति दिने कुरामा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई अरू कुनै राजनीतिकर्मीले सक्दैनन् । गत बुधबारसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी तेस्रो कार्यकालका लागि जुन ९ का दिन शपथग्रहण गर्ने लगभग तय भइसकेको थियो । त्यसपछि जुन ७ मा अध्यक्ष ओली एमाले चितवनको नयाँ कार्यसमितिको शपथग्रहण कार्यक्रममा सहभागी हुन पुग्छन् ।

आफ्ना-आफ्नै राम !

त्यो कार्यक्रम पूर्वनिर्धारित रहेको पनि हुन सक्छ । चितवनमा उनले झन्डै ४ वर्षपछि दोहोर्‍याएको दाबी भने सोझै पुनर्निर्वाचित प्रधानमन्त्री मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न नयाँदिल्ली भ्रमणमा खट्टो थप्न लक्षित थियो । चितवनको आन्तरिक राजनीतिक मञ्चबाट उनले भारतीय जनता पार्टीका आधारभूत सांस्कृतिक मान्यतामध्ये सबभन्दा महत्त्वपूर्ण रहेको राम जन्मभूमि आस्थालाई ठाडै चुनौती दिएका थिए । भगवान् रामको जन्म ‘राम लला’ का रूपमा उत्तर प्रदेश राज्यको सरयू तटमा अवस्थित अयोध्यामा भएको हो भन्ने वैष्णवहरूको दृढ विश्वासलाई भाजपाले स्थापनाकालदेखि नै चुनावी मुद्दा बनाउँदै आएको छ ।

ओलीले भने रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको कुरा पुनः दोहोर्‍याए, तर्क तेर्साए र प्रकारान्तरले भाजपाको आस्थामा प्रहार गरे । प्रधानमन्त्री दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा नयाँदिल्लीस्थित आवासीय राजदूतलाई फिर्ता बोलाउन हतारको निर्णय पनि एमाले अध्यक्षकै दबाबमा गरिएको हुन सक्ने कुरा लख काट्न गाह्रो छैन । प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जानुपूर्व राजदूत फिर्ता बोलाउने निर्णय गर्दा ध्यान नपुगेको स्वीकार गरेर सत्ताधारी गठबन्धनका निर्णायक दलको दबाबलाई छोप्न खोजे पनि आफ्नो पत्रपर्ण भूमिकालाई लुकाउन सकेनन् । सत्ताको लगाम आफ्नो हातमा राख्न सफल ओली ‘भारतविरोधी’ छविलाई दृढ तुल्याउन कृतसंकल्प देखिन्छन् ।

तथ्य, तर्क र प्रमाण देखाएर धार्मिक विश्वासलाई चुनौती दिन सकिँदैन भन्ने कुरा ओलीलाई थाहा नभएको होइन । उनी नियोजित रूपमै विवादास्पद वक्तव्यमार्फत आफ्नो राजनीतिक अभीष्ट सिद्ध गर्न खप्पिस छन् । चार वर्ष अगाडि उनको यस्तै अभिव्यक्ति विवादित बनेपछि परराष्ट्र मन्त्रालयले सार्वजनिक विज्ञप्ति जारी गरेर पदासीन प्रधानमन्त्रीको बचाउ गर्नुपरेको थियो । यस पटक अनौपचारिक तवरले भए पनि नयाँदिल्लीमा आफ्ना सत्तासीन गठबन्धन दलका नेताको वक्तव्यबारे प्रस्टीकरण दिने जिम्मेवारी प्रधानमन्त्री दाहालको काँधमा बोक्न लगाइएको थियो ।

अहिले त झन् ओलीको भँडास भाजपाका रणनीतिकारका लागि आलो घाउमा नुनचुक दलेसरह ठहरिएको हुन सक्छ । आसन्न चुनावलाई लक्षित गरेर अयोध्याको निर्माणाधीन मन्दिरमा हतारहतार २२ जनवरी २०२४ मा तामझामका साथ प्राण–प्रतिष्ठा गरिएको देवालयले अयोध्याका साथै उत्तर प्रदेश राज्यमा समेत भाजपाको राजनीतिक प्रतिष्ठालाई जोगाउन सकेन । लाग्छ ‘जो राम को लाए है, हम उनको लाएंगे’ नारामा अन्तर्निहित दम्भ एवं बालक रामलाई प्रधानमन्त्री मोदीले औंला समातेर मन्दिरतिर डोर्‍याइरहेको इस्तिहारलाई रामभक्त मतदाताका साथै भगवान् रामले समेत रुचाएनन् । अयोध्यादेखि चित्रकूट हुँदै रामेश्वरमसम्म रामसँग जोडिएका अधिकांश तीर्थस्थल समावेश रहेका संसदीय निर्वाचन क्षेत्रमा भाजपाका उम्मेदवारले हार बेहोर्नुपरेको छ । हुन त सबैका राम उही त के, उस्तै छन् भन्ने पनि होइन । अवधी भाषाको ‘राम चरितमानस’ तुलसीदास आफैं लेख्छन्, ‘जाकी रही भावना जैसी, प्रभु मूरत देखी तिन तैसी’ ।

कुनै बेला ‘वर्गशत्रु’ सफाया अभियानमा सामेल ओली सायद आफ्ना रामलाई नक्सलपन्थी चस्माबाट हेर्छन् । शुद्ध तार्किकता एवं तथाकथित वैज्ञानिक राजनीतिको सोच परम्परामा भगवान् रामको पहिचान र जन्मस्थान पनि समसामयिक मापदण्डअनुसार सावित गर्नुपर्ने हुन्छ । त्रेतायुगको घोडा प्रतिघण्टा कति किलोमिटर हिँडेको होला ? रघुकुलका राजकुमारहरूको गुरुकुल कहाँ थियो ? अवधदेखि मिथिलासम्मको लामो बाटो जन्ती जानेहरूले कसरी तय गरेका होलान् ? प्रश्नहरू अतार्किक होइनन् । तर इहलौकिक कुराको कसीमा देवावतारलाई परख गर्न सकिन्छ भन्ने कुरा कुनै ब्राह्मण वामपन्थीलाई मात्र फुर्न सक्छ । अवतारको अस्तित्वलाई अस्वीकार गर्ने हो भने बाहुनवाद हल्लिन्छ । तर्क नगर्ने हो भने वामपन्थको आवरण खस्छ । ओलीका लागि दुवै पहिचान उत्तिकै जरुरी हो । त्यसैले उनले बाहुनवादी वामपन्थलाई आफ्नो आधारभूत सिद्धान्त बनाएका छन् । हुन त राम पनि एउटा मात्र कहाँ छन् र !

योद्धाहरूबीच हुने युद्धका स्थापित मान्यताविरुद्ध गएर छलको बलमा वानरहरूका राजा बालीको प्राण हरण गर्ने, असुर राजाधिराज रावणको वध गर्ने एवं मिथिलामा शिवधनुष खण्डित गरेर दुलाहा सरकार बनेका अवतरित राम महर्षि वाल्मीकि परम्परामा रामायण कथाको सिर्जना गर्ने विभिन्न भाषाका कविहरूको अन्तःकरणका रचना हुन् । गुरु नानक देवका लागि भौतिक देह धारण गर्नु नपर्ने ‘अजूनी साहिब’ छन् राम । कबीरका लागि राम फगत नाम छन् । वैदिक विधिपूर्वक पाणीग्रहण गरेर अयोध्या लगे पनि राजकुमारी वैदेहीलाई त्रेतायुगका मूल्य र मान्यताअनुसार पनि कहिल्यै सुखी राख्न नसकेका दशरथ–पुत्र राम मिथिलाका लागि ‘सीयावर रामचन्द्र’ छन्, मर्यादापुरुषोत्तम त कतैबाट पनि होइनन् । जनकपुरमा जानकी मन्दिर निर्माण गराउने महारानी वृषभानु कुमारीको टीकमगढका लागि ‘राम राजा’ शासक छन्, जो दिनभर बुन्देलखण्डको अयोध्यामा राजकाज गरेर राति विश्राम र शयनका लागि मात्र सरयू तटको अयोध्या जान्छन् र अर्को दिन पुनः ओरछा दरबारको भान्साघरमा फर्किन्छन् ।

सन् १३५० मा स्थापित अयुत्या महानगर सायाम साम्राज्यको दोस्रो राजधानी थियो । थाइल्यान्डमा त्यस सहरको भग्नावशेषलाई अहिले पनि ‘राम राजवंश’ को पवित्रस्थल मान्नेहरू छन् । रामको जन्मस्थल हरियाणा, पञ्जाब र पाकिस्तान हुँदै अफगानिस्तानसम्मका कुनै गाउँ–ठाउँमा हुन सक्ने तर्कहरूलाई अब्दुल रहिम कुरैशीले आफ्नो ‘फ्याक्ट्स अफ अयोध्या एपिसोड : मिथ अफ राम जन्मभूमि’ शीर्षकको पुस्तकमा प्रस्तुत गरेका छन् । ओलीका ‘पुरातन नक्सलपन्थी’ राम माडीको अयोध्यापुरीमा जन्मेको हुन सक्ने दाबीलाई ठाडै खारेज गर्न उपयुक्त हुने छैन ।

भारतीय प्रधानमन्त्री मोदीले राम जन्मभूमिको विवादित स्थललाई इस्लाम–द्वेष बढाउने राजनीतिक अस्त्रका रूपमा प्रयोग गरेका थिए । ओली त्यही प्रारूप पैंचो लिएर नेपालमा भारतविरोधी भावना जागृत राख्न चार वर्षदेखि निरन्तर प्रयत्नशील छन् । त्यस्तो विभाजनकारी प्रस्तावनाहरूको उपयोगिता भने सामान्यजनको मनस्थितिमा भर पर्छ । भारतको ‘गोबरपट्टी’ भनिने राज्यहरूमा समेत राम जन्मभूमिको महत्त्व घट्दै गइरहेको छ । मिथक, इतिहास, कथा वा सार्वजनिक चर्चामा कतै नरहेको नेपालको राम जन्मभूमिको उपयोगिता भारतसँग कटुता बढाउन पनि खासै उपयोगी ठहरिन सक्ने सम्भावना देखिँदैन । ओलीको विदूषक छविलाई उजिल्याउन भने उनका अयोध्यापुरी सम्बन्धित तर्कहरूले मद्दत गर्न सक्नेछ ।

भक्तजनका लीला

भगवान्जस्तै उनका भक्तहरूलाई पनि लीलामा रमाउन छुट छ । सिकागो विश्वविद्यालयका प्राध्यापक एके रामानुजनको ‘थ्री हन्ड्रेड रामायण्स् : फाइभ एक्जाम्पल्स एन्ड थ्री थट्स अन ट्रान्सलेसन’ निबन्धले केही वर्ष अगाडि दिल्ली विश्वविद्यालयमा बौद्धिक विवादको हुन्डरी निम्त्याएको थियो । जैन, बौद्ध, तमिल र कन्नड जस्ता भिन्दाभिन्दै परम्पराका ३०० रामायणका कथाबीच समानताका साथै विविधता रहेको प्रस्तुतिलाई अनुदारवादी शिक्षाविद्हरूको दबाबले अन्ततः विश्वविद्यालयले पाठ्यक्रमबाट हटाउनुपरेको थियो । हुन त ‘हिन्दु’ छाताभित्रका विभिन्न धर्महरूमा इसनिन्दा (ब्लेस्फमी) जस्तो अवधारणा नै छैन ।

रूप बदलेर विभिन्न चमत्कार देखाउने विष्णुको कपटको आलोचना हुन्छ । भोले भण्डारी कहलिन्छन्, देवाधिदेव महादेव । श्रापित ब्रह्माको पूजासमेत सबै ठाउँमा हुँदैन । त्रिमूर्तिमध्ये हर र हरी रूपका समर्थकहरू संघर्ष गरे पनि एक हुन्छन् । वेद र पुराण नमान्ने र पुनर्जन्ममा विश्वास नगर्ने नास्तिक चार्वाकलाई ऋषितुल्य ठहर्‍याइएको छ । महत्त्वाकांक्षी शासकका लागि भने ‘रामावतार’ मिथकले साह्रै लोभ्याउने रहेछ । संस्कृतका आदि कवि भनिने रामायणका रचयिता महर्षि वाल्मीकिबारे भनिएको छ— ‘उल्टा नाम जपत जग जाना, वाल्मीकि भए ब्रह्म समाना’ । हुन सक्छ, रामजन्मका बारेमा ओलीको दाबीका पछाडि पनि कुनै लीला अन्तर्निहित रहेको होस् ।

सबै शक्तिशाली ‘राजा’ कसरी अन्ततः ‘राम’ भएरै समाप्त हुन्छन् भन्नेबारे रोचक कथा छ । अवधका राजा राम एक पटक आफ्ना सिंहासनमा विराजमान थिए । भूलोकमा आफ्नो भूमिका समाप्त हुने देखेर चिन्तित रहेकाले हुन सक्छ, उनले चलाउँदै गरेको औंठी औंलाबाट भुइँमा खसेर एउटा दरारभित्र बेपत्ता हुन्छ । आफ्ना प्रभुको मुद्रिका खोज्न सूक्ष्मरूप धारण गरी परमभक्त हनुमान पाताललोक पुग्छन् । पातालवासीका लागि उदेकलाग्दो बन्न पुगेका लघुरूपको बाँदरलाई त्यहाँका मुखियाले आफ्नो भ्रमणको उद्देश्य बताउन आदेश दिन्छन् ।

राजा रामको औंठी लिन आएको अभिव्यक्ति सुनेर उनका अगाडि प्रत्येक उस्ताउस्तै मुद्रिकामा राम कुँदिएको थाल देखाएर भनिन्छ— ‘छान्न सक्छौ भने लिएर जाऊ आफ्नो रामको औंठी, तर अन्य अनेकौं रामजस्तै तिम्रो रामको पनि अन्त निकट भएकाले नै उनको मुद्रिका खसेर पाताललोकमा आइपुगेको हो । फर्केर पृथ्वीमा पुग्दा तिम्रा राम पनि लोप भइसकेको पाउनेछौ ।’ लगभग त्यस्तै यथार्थलाई बगावतका वामपन्थी शायर हबिब जालिब अलि ठाडो भाषामा भन्छन्— ‘तुम से पहले वो जो इक शख्स यहाँ तख्त–नशीं था, उस को भी अपने खुदा होने पे इतना ही यकीं था ।’

सिंहासनमा विराजमान प्रत्येक व्यक्तिमा आफूभित्र ईश्वरीय शक्ति रहेको भ्रामक विश्वास उब्जिने रहेछ । बालरूपका रामलाई औंला समातेर भव्य मन्दिरभित्र डोर्‍याएको दम्भले भारतीय प्रधानमन्त्री मोदीलाई पनि देवत्व भ्रमाशक्तिले गाँजेको थियो । चुनाव प्रचारका क्रममा उनले हाकाहाकी दाबी गरे— ‘मेरी आमा बाँचुन्जेल म जैविक रूपमा जन्मिएको हो भन्ने विश्वास गर्थें । उनी बितेपछि मेरा अनुभवको आलोकमा विश्वस्त भएको छु कि मलाई भगवान्ले नै पठाएका हुन् ।’ आफ्ना सम्पूर्ण क्रियाकलापको जिम्मेवारी परलौकिक शक्तिमा थोपरिदिएपछि इहलौकिक कुनै पनि प्रश्नको उत्तर दिनु पर्दैन ।

विमोहक भ्रमाशक्ति

युद्ध भिन्न माध्यममार्फत राजनीतिकै निरन्तरता हो भन्ने बहु–उद्धृत सूत्रवाक्यको विपरीत अभिव्यक्ति पनि उत्तिकै सत्य हो— राजनीति पनि अलि फरक तरिकाले गरिने युद्ध नै हो । त्यसैले योद्धाहरू जित्ने आँटका साथ युद्ध मैदानमा उत्रिए जस्तै राजनीतिकर्मी पनि विजयी हुने आत्मविश्वास लिएर शक्ति हासिल गर्ने प्रतिस्पर्धामा उभिने गर्छन् । युद्धले सबभन्दा पहिले शान्तिकालका मूल्य र मानतालाई निलम्बित गर्छ । सामान्यतया अहिंसा परम धर्म हो । युद्धको धर्म नै हिंसा हुने भएकाले रामको नगरीलाई ‘अयुद्ध’ बाट अयोध्या भएको तर्क गरिन्छ ।

वध अर्थात् ‘धर्म हिंसा’ समेत अमान्य भएकाले अवधमा राम बस्छन्— अवधि भाषामा ‘अवध तहाँ, जहाँ राम निवास’ । राजनीतिक प्रतिस्पर्धामा समेत जीवनका सामान्य मूल्य र मान्यता कायम राख्न कठिन हुन्छ । पटकपटक सामाजिक एवं सांस्कृतिक मूल्य उल्लंघन गरेर राजनीतिक सफलता प्राप्त गर्दै गएको व्यक्तिमा कालान्तरमा आफ्नो अपरिहार्यताको मनोवृत्ति विकसित हुनु अस्वाभाविक होइन । युद्धको विजेतामा बरु आफ्नो वीर शत्रुप्रति सम्मान भाव देखिन सक्छ, तर राजनीतिक प्रतिस्पर्धीबीच एकअर्कालाई आदर गर्ने राजनीतिक संस्कार विकसित हुन धेरै समय लाग्ने रहेछ ।

युद्धका विजेताले सैन्य, अर्थ र धर्मका शक्तिहरूको समर्थन पनि पायो भने वंशानुगत शासक जन्मिन्छन् । एउटै राजनीतिकर्मीको वर्चस्व लामो कालसम्म रह्यो भने निर्वाचित तानाशाहीका प्रक्रिया परिचालित हुन थाल्छ । लगालग तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसकेका मोदीको आशय ठम्याएर शासकीय संस्था एवं संरचनाहरूले निर्णय गर्न थालेपछि उनमा दैवी शक्तिको भ्रमाशक्ति उत्पन्न हुनु अस्वाभाविक थिएन । प्रजातान्त्रिक राजनीतिमा त कमसेकम मतमार्फत वैधानिकताको नवीकरण गर्नुपर्ने हुन्छ ।

धर्माधिकारीहरूले त आफ्नो पवित्रता र शक्ति घोषणा गरिदिए पुग्छ । तिनका भक्त आफ्ना भगवान्लाई टाउकामा बोक्न सहर्ष तयार हुन्छन् । सन् १९८० को दशकताका रजनीश फगत भगवान थिए, उनले स्वयंलाई ओशो घोषणा गरिसकेका थिएनन् । उनका धेरै श्रद्धालुमध्ये एउटाको तर्क हुने गर्थ्यो— ‘ईश्वरीय शक्ति नभए एउटा पूर्वप्राध्यापकसँग १०० वटा रोल्स रोयस मोटर कहाँबाट आउँछ ?’ आस्थालाई तर्कमा रूपान्तरित गर्न सक्ने क्षमताले अन्धभक्त उत्पादन गर्छ र अन्धभक्तहरूको जमात पाएपछि ईश्वरीय विकार (गड कम्प्लेक्स) झन् सुदृढ हुँदै जाने रहेछ ।

दैविक शक्ति भएको व्यक्तिमा आफ्नो क्षमता, पात्रता एवं गल्ती गर्नै नसक्ने सामर्थ्यमा अटल विश्वास हुन्छ । त्यस्ता व्यक्तिहरू आफ्ना ठम्याइलाई अन्तिम सत्य मान्छन् । आफ्नो टेकबाट डेग हल्लिन मान्दैनन् । शक्ति त्यस्ता व्यक्तिको टाउकामा पुग्नासाथ तिनको मस्तिष्कको काम गर्ने तरिकालाई आधारभूत रूपमा परिवर्तित गरिदिन्छ एवं तिनमा ‘अर्का’ प्रति समभाव उत्पन्न गराउने भावनात्मक प्रक्रियाहरू सुस्तरी मन्द हुँदै गएर कालान्तरमा बन्द हुन पुग्छ । धर्मगुरुको दैवी भ्रमाशक्ति कम गर्ने उपाय छैन ।

भक्तहरूले तर्क सुन्दैनन् । सैनिक तानाशाहलाई सामान्यतः अर्को महत्त्वाकांक्षी सैनिक तानाशाहले नै विस्थापित गर्छन् । प्रजातान्त्रिक राजनीतिभित्र निर्वाचित तानाशाह हुन चाहने शासकमा ईश्वरीय विकार विकसित हुन नदिन शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलन जस्ता संवैधानिक व्यवस्था संस्थागत गरिएका हुन्छन् । कहिलेकाहीं त्यस्ता कुनै प्रावधानले पनि शक्ति शिरमाथि उभिएर बोल्न थालेको व्यक्तिलाई रोक्न सकिन्न । त्यसपछि सामान्यजन आ–आफ्ना ‘राम’ पुकारा गर्न थाल्छन् ।

कुनै बेला मर्यादापालक ‘राम’ संवैधानिक प्रावधानको व्याख्याका रूपमा सर्वोच्च अदालतबाट आउँछन् । कमजोरको सुस्केरालाई आवाज दिने मिडिया पनि अयोध्याका जनप्रिय राजकुमार ‘राम’ ठहरिन सक्छ । भारतीय प्रधानमन्त्री मोदीका आराध्य ‘राम’ प्रतिशोधी, क्रोधित र हिंसात्मक ‘परशुराम’ जस्ता देखिन्छन् । नेपालका पत्रपर्ण प्रधानमन्त्री दाहालका तात्कालिक ‘राम’ भारतविरोधी राष्ट्रवादमा मात्र आफ्नो भविष्य देख्ने ओली छन् । भारत र नेपाल जस्ता नवप्रजातान्त्रिक देशमा राजनीतिकर्मीहरूले आ–आफ्ना रामको खोजी रामा पासी, राम मुसहर, रमुआ अन्सारी एवं रामानन्द दलितमध्येबाट सुरु गर्नुपर्ने हुन्छ । कठिन काम हो, तर युद्ध जस्तै तपस्या पनि सजिलो कहिल्यै हुँदैन ।

प्रकाशित : जेष्ठ ३०, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×