कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नेपाल-अमेरिका सम्बन्धको नयाँ चरण

वाम विचारधारामा विश्वास गर्ने उत्तर शीतयुद्धकालीन पुस्ताले अमेरिकालाई हेर्ने नजरमा परिवर्तन ल्याउनुपर्छ । त्यो भनेको मार्क्सको द्वन्द्वात्मक भौतिकवाद घोकेर बस्ने होइन । अर्थात्, यो पुस्ताले पुँजी निर्माण गरेर कसरी रोजगारी सिर्जना गर्ने भनेर उपाय खोज्ने हो ।  पुँजीको दानवीकरण गर्ने होइन ।
सौरभराज पन्त

अहिले उदाउँदै गरेको उत्तर शीतयुद्धकालीन पुस्ता, जसको नेपालको शासन व्यवस्थामा प्रवेश बढिरहेको छ । यो पुस्ताले बदलिँदो भूराजनीतिक अवस्थामा कस्तो रणनीतिको साथ नेपाल–अमेरिका सम्बन्धको निर्माण गर्नुपर्छ त ? विचार मन्थन जरुरी छ ।

नेपाल-अमेरिका सम्बन्धको नयाँ चरण

करिब दुई वर्षअघि नेपालमा भएको एमसीसीको बहसले नेपाल–अमेरिका सम्बन्धलाई नयाँ कोणबाट व्याख्या, विश्लेषण र कार्यान्वयन गर्नुपर्ने महसुस भएको छ । पहिल्यैदेखि नै भारत र चीनको चरम दबदबा रहेको नेपालको भूराजनीतिक मैदानमा अमेरिकालाई सन्तुलनमा राख्न सकिन्छ त ? नेपालमा उदाउँदै गरेको उत्तर शीतयुद्धकालीन पुस्ताको नेतृत्वले विशेष चासो दिनुपर्छ ।

नेपालको मामिलामा अमेरिकी प्रभाव यति छ कि ग्रामीण स्तरमा सुत्केरीलाई यूएसएडको परियोजनामार्फत अन्डा र गेडागुडी बाँड्नेदेखि नीतिगत तहमा तारे होटलमा नीति निर्माण एवं मूल्यांकन गर्नका लागि नेपालका नीति निर्माताहरूलाई प्रभाव पारिरहेको देखिन्छ । नेपालमा यूएसएडमार्फत अमेरिकाले शिक्षा, स्वास्थ्य, सशक्तीकरण, संघीयता सुदृढीकरण, आर्थिक वृद्धि, ऊर्जा विकास लगायतको विविध क्षेत्रमा काम गर्छ ।

नेपाल–अमेरिका सम्बन्ध भनेको भारतको जस्तो बहुआयामिक वा चीनको जस्तो सँधियार तरिकाको सम्बन्ध होइन । यो पूर्ण स्वार्थकेन्द्रित सम्बन्ध पनि हुन सक्छ । यसो भन्दै गर्दा यो सम्बन्ध ‘विन–विन’ नै हुनुपर्छ, किनभने अमेरिकासँग नेपालले ‘जिरो सम गेम’ सम्बन्ध कायम गर्ने विषय असम्भव हो । हुन त अहिले अमेरिका, नेपाल मामिलामा केवल दाताको हैसियतमा रहेको र हामी केवल ‘दान स्वीकार’ गर्ने हैसियतमा रहेका छौं । जसले गर्दा समान तहको सम्बन्ध निर्माण गर्न कठिनाइ छ । प्रयास जारी राख्नुपर्छ ।

नयाँ तवरको सम्बन्ध

यो सम्बन्ध विस्तारका लागि पहिले भूराजनीतिक आधार तयार पार्नुपर्छ । जसमा मैले भन्दै आएको चीन, अमेरिका र भारतसँगको बदलिँदो अवस्थालाई चित्रणपछि सन्धि वा सम्झौता नै गर्ने हो । जुन सम्झौताले एकअर्काको ‘लक्ष्मण रेखा’ नाघ्ने छैन । दोस्रोमा, आईटीका लागि अमेरिकासँग सहकार्य नै हो । तर, तत्कालै गर्नुपर्ने विषय भनेको अमेरिकाले वार्षिक रूपमा जारी गर्ने वैदेशिक लगानीको प्रतिवेदनमा नेपालको अवस्था सकारात्मक चित्रण गर्नु नै हो । किनभने वैदेशिक लगानीका लागि अमेरिका बादशाह हो ।

अमेरिकाले जारी गरेको प्रतिवेदनलाई लगानीकर्ताले गम्भीर तवरबाट लिन्छन् । प्रतिवेदनमा नेपालको सकारात्मक सन्दर्भ परेपछि लगानीकर्ताहरू केही हदसम्म रुचि राख्लान् । देश बनाउने विषयमा कुनै पनि ‘एक वाक्यको उत्तर’ छैन । पहिला स–साना प्रयास गर्दै जाने हो । असफल भए फेरि सुधार गर्दै प्रयास जारी राख्ने हो । नेपालले मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिकोणबाट अमेरिकी विश्वविद्यालयमार्फत ज्ञान मीमांशा निर्माण गर्न सक्ने देखिन्छ ।

उदाहरणका लागि नेपाली समाज पश्चिमी विकासको क्रमभन्दा फरक रहेको कृषि युग हुँदै सिधै सेवामा प्रवेश गरेको हो । अर्थात्, नेपाल अहिले पनि अर्धग्रामीण, अर्धसहरीकरण, अर्धकृषि युग, अर्धसेवा युगको आधुनिकताको सम्मिश्रणमा बाँचेको छ । यो विषय पश्चिमी विश्वविद्यालयका लागि नयाँ ज्ञानको खुराक हुन सक्छ । साथै, अर्थशास्त्रमा खुला सीमा, दुई विशाल अर्थतन्त्रबीच रहेको नेपाल, ठूलो अनौपचारिक अर्थतन्त्रको हिस्सा रहेको नेपालले अर्थशास्त्रमा पनि नयाँ ज्ञान निर्माण गर्न सक्छ । यो भनेको अहिले भइरहेको गैरसरकारी संस्थाले गर्ने परियोजनाको एक्सन रिसर्चभन्दा अलि फरक हुन सक्छ । हाम्रो मौलिक ज्ञानगंगा र अमेरिकी विश्वविद्यालयको बजारीकरणको तागतले विश्वलाई केही नवीन दिशाबोध गर्न सक्छ ।

वाम विचारधारामा विश्वास गर्ने उत्तर शीतयुद्धकालीन पुस्ताले अमेरिकालाई हेर्ने नजरमा परिवर्तन ल्याउनुपर्छ । त्यो भनेको मार्क्सको द्वन्द्वात्मक भौतिकवाद घोकेर बस्ने होइन । अर्थात्, यो पुस्ताले पुँजी निर्माण गरेर कसरी रोजगारी सिर्जना गर्ने भनेर उपाय खोज्ने हो । पुँजीको दानवीकरण गर्ने होइन । पुँजी निर्माण र रोजगारी सिर्जनामा अमेरिकाको सान फ्रान्सिसको साउथ बे अर्थात् सिलिकन भ्यालीले जुन नवीनता विकास गरेर संसार र मानव सभ्यतालाई बाटो देखायो ।

हो, त्यो लहरको हामी पनि कसरी सहयात्री बन्ने हो भनेर बहस गर्ने हो । त्यसैका लागि नेपाल–अमेरिका सम्बन्ध सृदृढ हुनुपर्छ भनेको हो । अर्थात्, पुस्तौंपुस्तादेखि बेलायती बाबु र अहिले अमेरिकन बाबु बन्नुपर्छ नत्र रोजी–रोटी र अस्तित्व नै रहँदैन भन्ने सोचले गर्दा पश्चिमासँग डिल गर्न सकिँदैन भन्ने कुण्ठा हामीले आफ्नो अवचेतन मनमा राख्नु हुन्न । पूर्वीय हिमवत् खण्डको दार्शनिक दृष्टिकोण र पश्चिमी प्रविधिबीच संयोजन गर्न उत्तर शीतयुद्धकालीन पुस्ताले हिम्मत देखाउन सक्नुपर्छ ।

मेसिन लर्निङ र एआईमा केही काम नेपालभित्र भएका छन् । यसलाई विस्तार गर्नुपर्छ । एआई विकासमा अमेरिका, चीन, बेलायत लगायतका देश अगाडि छन् । भाषा, शासकीय व्यवस्था एवं खुलापनले नेपालीलाई लन्डन र सिलिकन भ्याली नै सजिलो भएको छ । तर तातोपानी र केरुङमा व्यापार गर्ने पुराना व्यापारिक घराना र वाम पार्टीका विदेश विभागमार्फत हामीले सेन्जेन र तियाङजिङमा प्रवेश विस्तार गर्नुपर्छ । फेरि पनि चीन–अमेरिकाको टकराव नेपालमा अकाट्य छ । दुवैको लगानी ल्याएर टकरावमा परियो भने व्यवस्थापन गर्न सजिलो छ । किनभने धेरैथोरै धन आर्जन गरेका हुन्छौं । नभए कठिन छ ।

पहिल्यैदेखि नै नेपाल–अमेरिका सम्बन्धमा अमेरिकी विकास नियोग यूएसएड नै सम्बन्धको प्रमुख ‘चालक’ रहेको र विश्व विख्यात अमेरिकी कम्पनीहरू नेपालको सरहद प्रवेश गरी नसकेको अवस्था छ । नेपाली कांग्रेस वा नेकपा एमालेभित्रका नयाँ अनुहार एवं विचारले नयाँ व्यक्तिहरूले नेपाल–अमेरिका सम्बन्धमा नयाँ नेपाली ‘चालक’ हरू कसरी थप्ने भन्ने बहस गर्न जरुरी छ । यी पार्टीहरूमा उमेरले, विचारले र नयाँ अनुहारहरूले एउटा ककस (संसदीय) र फोरम (गैरसंसदीय) नै निर्माण गरेर नेपालको अर्थराजनीतिक एवं परराष्ट्रका विषयमा विचार मन्थन एवं कार्यान्वयन गर्न दबाब दिने हैसियतको बनाउनुपर्छ ।

बुझ्ने भाषामा भन्नुपर्दा भारतको टाटा र रिलायन्स कम्पनी नेपालमा कसरी ल्याउने र नेपालका चिसो स्थानमा अमेरिकी प्रविधि कम्पनीहरूको डाटा सेन्टर कसरी खोल्ने भन्ने हो । साथै, नेपालमा विदेशी कम्पनीहरू मात्र ल्याएर भएन, यी कम्पनीको राजनीतिक र वैचारिक प्रतिस्पर्धा पनि सन्तुलन गर्नुपर्‍यो । राजनीति गर्ने सोच बनाएका युवाहरूको अध्ययन अति आवश्यक छ । अध्ययनलाई तिखार्न बहसमा आउनुपर्छ र त्यसका लागि फोरम निर्माण गर्नुपर्छ । संसदीय स्तरमा ककस र गैरसंसदीय हैसियतमा फोरम अति आवश्यक छ ।

अन्त्यमा

अमेरिकासँगको सम्बन्धको नयाँ आधारस्तम्भ भनेकै नेपालमा अमेरिकी लगानी हो । इतिहासले हामीलाई राम्रैसँग पाठ सिकाइसकेको छ । कुनै जमानामा बन्दुक बोकेर ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’ भनेर नारा लगाउने पार्टी आज देशमा लगानी सम्मेलन गरेर अमेरिकी वा भारतीय प्रतिनिधिसामु नेपालमा लगानी गरिदिनुपर्‍यो भनेर याचिका गरेको दृश्यले हाँसो, विरक्ति, रोदन र पीडाबोध गराएको छ । समय अविजित र यशस्वी छ । हामी २०५२ सालभन्दा अगाडि गएर करिब ७ प्रतिशतको वृद्धिदरमा रमाउन सक्दैनौं । केवल सम्झेर रुन मात्र सक्छौं । त्यसैले अब फेरि यो वैदेशिक लगानी निषेधको राजनीति गरेर हामीले गल्ती दोहोर्‍याउनु हुन्न ।

प्रकाशित : जेष्ठ ३०, २०८१ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×