२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

उत्तरी नाकाले ब्युँताएको अवसर

नाका खुल्नु जति महत्त्वपूर्ण हो, त्योभन्दा बढी महत्त्वपूर्ण बहुआयामिक लाभ लिन सक्नु हो ।
सम्पादकीय

कोरोना महामारी सुरु भएलगत्तै चीनले बन्द गरेका उत्तरतर्फका व्यापारिक नाकामध्ये सातवटा शनिबारदेखि सञ्चालनमा आएका छन् । चल्तीका दुई नाका रसुवागढी र तातोपानी पहिले नै खुलेका छन् । थप सात नाका क्रमशः खुलाउँदै जाने चिनियाँ पक्षको भनाइ छ । कोरोना महामारी मत्थर भइसकेपछि पनि दुई देशबीच विभिन्न चरणमा वार्ता–संवाद र सहमति गरेर नाका खुलाउने वातावरण तयार पारिएको हो ।

उत्तरी नाकाले ब्युँताएको अवसर

ढिलै भए पनि नाका खुल्नु स्वागतयोग्य छ । नाका सञ्चालनले सीमावर्ती क्षेत्रका बासिन्दालाई राहत दिलाएको छ, व्यापारीमा उत्साह जगाएको छ । राज्यले पनि यी व्यापारिक नाकाबाट अधिकतम लाभ लिनेतर्फ ध्यान दिनुपर्छ ।

कोरोना महामारी फैलँदै गर्दा संक्रमण रोकथामका लागि चीनले नाकामा आउजाउ ठप्प पार्नु स्वाभाविक थियो । तर महामारी मत्थरपछि पनि अस्वाभाविक लाग्ने गरी नाका बन्द लम्बिइरहेको थियो । नाका बन्दले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने, नाका भएर व्यापार गर्नेहरू प्रभावित हुँदै आएका थिए । कतिपय स्थानीयले रोजगारी गुमाए, व्यापारी विस्थापित भए । चिनियाँ सामान घुमाउरो बाटो हुँदै भारतबाट भित्र्याउँदा नेपाली बजार महँगिएको थियो । नेपालबाट चीनतर्फ निर्यात पनि घट्यो ।

सीमावर्ती क्षेत्रका बासिन्दा र व्यापारीहरूले नाका खुलाउने पहलका लागि सरकारसँग आग्रह गर्दै आएका थिए । पछिल्लो समय दुई देशबीच हुने प्रायः वार्ता–छलफलमा नेपालले नाका खुलाउनुपर्ने विषय उठाउँदै आएको थियो । राजधानी काठमाडौंबाट नजिकै पर्ने चल्तीको रसुवागढी नाका कोरोना महामारी सुरु भएपछि आंशिक खुल्ने, बन्द हुने क्रम चल्दै आएकामा पूर्ण रूपमा सञ्चालनमा आएको एक वर्ष मात्र भएको छ । अर्को तातोपानी नाका पनि चरणबद्ध रूपमा खुलाउँदै सर्वसाधारणका लागि समेत आउजाउ गर्न दिइएको नौ महिना मात्र भएको छ । २०७२ को भूकम्पअघिकै जसरी नाका सञ्चालन भने अझै हुन सकेको छैन । चिनियाँ पक्षले नेपाली सर्वसाधारणलाई करिब ९ किलोमिटर पारिको खासा बजारसम्म पुग्न अझै दिएको छैन ।

पछिल्लो पटक शनिबार ताप्लेजुङको टिपताला, संखुवासभाको किमाथांका, दोलखाका लप्ची र फलेक, गोरखाको थाप्ला, मुस्ताङको कोरला र डोल्पाको मोरिम्ला नाका खुलाइएका हुन् । अरू मुगु (दुई), गोरखा, सोलुखुम्बु, हुम्ला, बझाङ र दार्चुलाका नाका क्रमैसँग भदौ १५ भित्र खुलाइसक्ने तयारी छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको गत चैतमा भएको चीन भ्रमणका क्रममा १४ वटै परम्परागत व्यापारिक नाका खुलाउने समझदारी भएको थियो । कतिपय नाका हिउँद याममा अत्यधिक चिसो हुने र हिउँ पनि पर्ने भएकाले चल्न सक्दैनन् । कमसेकम आउँदो हिउँदका लागि सीमावर्ती क्षेत्रका बासिन्दाले सामान जोहो गरून् भनेर पनि बाँकी नाका खुलाउन निर्धारित मितिभन्दा ढिला गरिनु हुँदैन ।

नाका खुलेसँगै त्यस क्षेत्रमा व्यापारिक चहलपहल स्वभावैले बढ्छ । हवाई मार्गबाट घुम्न आउने चिनियाँ पर्यटक बढिरहेका बेला स्थल नाकासमेत सहज रूपमा सञ्चालन हुन सक्यो भने आगमन झनै बढ्न सक्छ । नेपाल–चीन नाका भएर तीर्थयात्रीसमेत ओहोरदोहोर गर्न सक्ने भएकाले दुवै देशलाई लाभ पुग्न सक्छ । दुवैतर्फको सरकारले सीमा वारपारका लागि सहज प्रबन्ध मिलाइदिन सक्नुपर्छ । नाकाहरूबाट लाभ लिन सडक यातायातको सहजता सबैभन्दा महत्त्वपूर्ण छ । उत्तरी नाका जोड्ने सडकहरू कतै बनाइँदै छ, कतै स्तरोन्नतिको क्रममा छ, कतै पहल मात्र हुँदै छ तर सबै काम सुस्त छ । राम्रो सडकले यात्रा अवधि छोट्याइदियो भने चिनियाँ सामान सहुलियत मूल्यमा नेपाली बजार आइपुग्छ, नेपाली उत्पादन पनि सस्तो ढुवानी खर्चमा चिनियाँ बजार पुग्न सक्छ । बढी व्यापारिक कारोबार हुन सक्ने तातोपानी नाकासम्मको सडक स्तरोन्नति नगरिँदा नेपालले अपेक्षित लाभ लिन सकेको छैन ।

नेपालले भारतपछि सबैभन्दा बढी व्यापारिक कारोबार चीनसँग गर्छ । तर चीनबाट आयात हुने सामानको तुलनामा नेपालबाट उता लगिने सामानको हिस्सा अत्यन्तै न्यून छ । यसरी नाकाहरू खुलिरहँदा सरकारले चीनसँगको व्यापार घाटा कम गर्ने गरी निर्यात बढाउने वातावरण तयार पारिदिनुपर्छ । चीनमा गलैंचा, हातेकागज, हस्तकलाका सामग्री, जडीबुटी, तरकारी लगायतका नेपाली उत्पादन निर्यात हुने गरेका छन् ।

नेपालबाट निर्यात हुन सक्ने थप वस्तु पहिचान एवं बजार खोजीमा सरकारले सहजीकरण गरिदिनुपर्छ । नाकाहरूबाट सुन तस्करीजस्ता अवैध कारोबार समेत हुन सक्ने जोखिम भएकाले राज्यको निगरानी पनि बलियो हुनुपर्छ । नाका खुल्नु जति महत्त्वपूर्ण हो, त्योभन्दा बढी महत्त्वपूर्ण बहुआयामिक लाभ लिन सक्नु हो ।

प्रकाशित : जेष्ठ १४, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x