कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

अर्थतन्त्रको भुमरीमा नागरिक

जेष्ठ १, २०८१

दुर्गा कँडेल छत्कुली

दुर्गा कँडेल छत्कुली राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छिन् ।

अर्थतन्त्रको भुमरीमा नागरिक

Highlights

  • विभिन्न समस्याबाट हाम्रो अर्थतन्त्र गुज्रिइरहेको छ । अब सुधारको बाटोतर्फ लाग्न सकिएन भने क्षणिक रूपमा अवस्था सामान्य देखिए पनि दीर्घकालमा ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ । ऊर्जाशील मानव सम्पत्तिलाई बाहिर पठाएर देशलाई वृद्धाश्रमजस्तै बनाउने अवस्था अन्त्य गर्न ढिला भइसकेको छ ।

सानो छँदा धेरै पटक सुनेको उखान थियो– घर डढेपछि खरानीको के दुःख ! त्यतिबेला यसको अर्थ बुझ्दैनथेँ । समाजमा भिन्न स्वभाव, परिवेश र प्रवृत्तिका मानिस हुन्छन् । उनीहरू सबैका बारेमा बाल मनस्थितिले बुझ्ने कुरा पनि भएन । समय बित्दै गयो । बाल मस्तिष्क वयस्क हुँदै परिपक्व बन्न थाल्यो ।

विभिन्न किसिमका परिस्थिति, भिन्न मानिस र तिनका व्यवहारसँगको साक्षात्कारले मानिसलाई केही परिपक्व बनाउँदो रहेछ । आजको समयमा आइपुग्दा पुनः एक पटक सोही उखान मानसपटलमा गुन्जिन पुग्यो । यो उखानले बुझाउने विषयको ज्ञान निकै गहन र बृहत् छ ।

प्रसंगलाई विषयान्तर गर्दा दैनिक २२ सयदेखि २५ सय युवा जनशक्ति देशबाट बाहिरिएका छन् । युवा दिनानुदिन बाहिरिँदै गर्दा शिक्षण संस्थामा विद्यार्थीको संख्या घट्दो छ, ब्याचलर र डिग्रीका कतिपय कलेज बन्द हुने अवस्थामा पुगेका छन् । घरहरू बुढाबुढी बस्ने वृद्धाश्रम बन्दै छन् । गाउँमा मर्दा मलामी र बिहेमा जन्ती जाने मान्छेको अभाव छ । आज गाउँदेखि सहरसम्म बुबाआमाको मृत्युपछि छोराछोरी विदेशदेखि आउनुपर्ने हुँदा मृत शरीर बाकसमा राख्नुपर्ने अवस्थासम्म छ ।

अझ कमाउने आसमा विदेशिएकाहरू रातो बाकसमा फर्किनुको पीडा परिवारलाई मात्र थाहा छ । पढ्नका लागि होस् वा आयआर्जनका लागि, जुन प्रयोजनका लागि विदेश गए पनि उनीहरू न पढाइ सकेर देश फर्किनेवाला छन् न त आयआर्जन गरी घर फर्किने सोचमा छन् । युरोप, अमेरिका, अस्ट्रेलिया, यूकेजस्ता देशमा जाने कतिपय युवामा नेपालको सम्पत्ति बिक्री गरी उतै घरबास बसाउने, व्यापार–व्यवसाय गर्ने प्रवृत्ति बढ्दो छ । जो वर्किङ भिसामा साउदी, मलेसिया, कतार गएका हुन्छन्, उनीहरूले पठाउने रकम रेमिट्यान्सका रूपमा देशमा भित्रिन्छ । त्यही रेमिट्यान्सले देशको अर्थतन्त्र सहजतातर्फ लागिरहेको जानकारहरू बताइरहेका छन् ।

देश अस्थिर राजनीतिको चपेटामा वर्षौंदेखि रुमलिरह्यो । नुनदेखि सुनसम्म र फूलदेखि फलफूलसम्म आयात गरिन्छ । मानिसहरूमा श्रम गर्ने बानी हराइसकेको छ । एक जनाको आम्दानीले परिवार धान्नुपर्ने र खर्च गर्ने प्रवृत्ति पनि बढ्दो छ । महँगीका कारण सामान्य आम्दानीले जीविकोपार्जन कठिन बनिरहेको छ । शिक्षा, स्वास्थ्य यति महँगो भएको छ कि रोग लाग्यो भने खर्च अभावमा मृत्युवरण गर्नुपर्ने अवस्था छ ।

राजस्व संकलनभन्दा चालु खर्च बढी भएको अवस्थाले समयमा कर्मचारीले तलब पाउन सकेका छैनन् । वैदेशिक ऋण दिन प्रतिदिन बढ्दो छ । व्यापार व्यवसाय चलायमान हुन सकेको छैन । बैंक, वित्तीय संस्थामा निक्षेप थुप्रिएको छ । कर्जाको ब्याजदर एक अंकमा रहँदासमेत लगानी बढ्न तथा कर्जाको माग हुन सकिरहेको छैन । यी सूचक हेर्दा देशको अवस्थामा कहीँकतै सुधार भएको छैन । तर, जिम्मेवार तहमा रहनेहरू अर्थतन्त्र सहजतातर्फ गएको, लयमा फर्किएको, विदेशी विनिमय सञ्चिति १२ महिनालाई पुग्ने रहेको, व्यापार घाटा कम भएको जस्ता चिप्ला शब्द बोलिरहेका छन् । तर, अर्थतन्त्रमा केही फरक सूचक पनि देखिएका छन् ।

निष्क्रिय कर्जा बढ्नु : विश्व अर्थतन्त्रमा आएको मन्दीसँगै नेपालको अर्थतन्त्र पनि सुस्ताएको अवस्था छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको छ । सहकारीमा समस्या थपिएको छ । रेमिट्यान्स केही बढेकाले बैंकमा तरलता जम्मा भएको छ, तर कर्जाको माग बढ्न सकेको छैन । जसका कारण सीडी रेसियो घट्दो क्रममा छ । निष्क्रिय कर्जाको वृद्धिले भोलिका दिन बैंक तथा वित्तीय संस्थाको अवस्था के हुने, कसरी सञ्चालन हुने गम्भीर प्रश्न खडा भइसकेको छ । ऋणीहरूमा एकातिर ऋण तिर्न सक्ने स्थिति छैन भने कतिपय ऋण तिर्ने मनस्थितिमा छैनन् । कारोबार कम भएका कारण बैंकले आफ्ना शाखा बन्द गर्ने स्वीकृति नेपाल राष्ट्र बैंकसँग माग गरेको भन्ने समाचार आइरहँदा छोटो समयमा अर्बौं निक्षेप बैंकबाट बाहिरिएको छ ।

पुँजीगत खर्च नहुनु : सरकारले समयमै पुँजीगत खर्च नगर्नाले ढुकुटीमा रहेको रकम चलायमान हुन सकेन । यसले समग्र अर्थतन्त्रको व्यावसायिक चक्रमा प्रभाव पारेको छ । असारे प्रवृत्ति हिजोदेखिकै प्रचलनका रूपमा विकसित हुँदै जानु दुःखद पक्ष हो ।

वैदेशिक प्रतिबद्धता प्राप्त नहुनु : विदेशी दातृ संस्थाले लगानीका लागि जनाएका प्रतिबद्धता रकम आउन नसक्दा नेपालजस्ता विकासोन्मुख देशमा त्यसको प्रभाव नकारात्मक पर्छ । प्रतिफलको सुनिश्चितता नहुने हुँदा पनि लगानीकर्ताले यसमा चासो नदिएका हुन सक्छन् ।

रेमिट्यान्सकै भर : युवा जनशक्ति विदेशिने क्रम बढ्दो छ । देशको श्रम शक्ति विदेश पठाएर आएको पैसा घर डढाएर खरानीको दुःख छैन भनेजस्तै हो । युवापिँढी बाहिरिँदै गर्दा कस्मेटिक, ल्यापटप, खाद्यान्नसमेतको बिक्री घटेको तथ्यांकले देखाउँछ । मानिसहरू नै घटेपछि आयात गर्ने सामान पनि घट्न थाल्यो, जसले गर्दा भुक्तानी सन्तुलनमा सुधार देखिएको छ ।

समयमा भुक्तानी नपाउनु : सरकारी शिक्षक हुन् वा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, महिना बितिसक्दा पनि तलब आउने निश्चित हुँदैन । सरकारलाई चालु खर्च धान्न धौधौको अवस्था सिर्जना हुँदा कर्मचारीको तलब समयमा वितरण हुन सकिरहेको छैन ।

यस्ता विभिन्न समस्याबाट हाम्रो अर्थतन्त्र गुज्रिइरहेको छ । अब सुधारको बाटोतर्फ लाग्न सकिएन भने क्षणिक रूपमा अवस्था सामान्य देखिए पनि दीर्घकालमा ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ । ऊर्जाशील मानव सम्पत्तिलाई बाहिर पठाएर देशलाई वृद्धाश्रमजस्तै बनाउने अवस्था अन्त्य गर्न ढिला भइसकेको छ ।

– कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन् ।

प्रकाशित : जेष्ठ १, २०८१ ०८:४०
x
×