३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुरुङ मात्र होइन, पूर्वाधारका सबै अवरोध छिचोलिनुपर्छ

सम्पादकीय

मुलुकभर हालसम्म करिब एक लाख किलोमिटर सडक बनिसक्दा सवारीसाधन गुड्ने सुरुङ कतै छैन । पहाडी भूभागको अप्ठेरामा समेत घुमाउरो र जोखिमपूर्ण सडक निर्माणको अभ्यास छ, जसमा अब भने क्रमभंग हुँदै छ । थानकोट हुँदै काठमाडौं भित्रिने–बाहिरिने सडकमार्गको विकल्पमा प्रयोग हुने सुरुङमार्ग छिचोलिएको छ, जुन अब करिब एक वर्षमा सञ्चालनमा आउनेछ । काठमाडौंलाई तराई/मधेससँग जोड्ने फास्ट ट्र्याकमा पनि सुरुङ बन्दै छन् ।

सुरुङ मात्र होइन, पूर्वाधारका सबै अवरोध छिचोलिनुपर्छ

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन छ । अरू दर्जनौं सुरुङ मार्ग अध्ययनका क्रममा छन् । यातायातको दूरी छोट्याउने सुरुङमार्ग निर्माणको सिलसिला पूर्वाधार निर्माणमा फड्को नै हो ।

चर्को ट्राफिक जाम हुने नागढुंगा क्षेत्रमा यातायात सहज पार्न नागढुंगा–सिस्ने खोला सुरुङमार्ग बनाइँदै गरेको हो । यो सुरुङ निर्माण सुरु भएको ५३ महिनामा सोमबार वारपार छेडिएको छ । यसैको आपत्कालीन सुरुङ भने गत साउन २२ मै छिचोलिएको थियो ।

४२ महिनाभित्र सक्ने लक्ष्यका साथ यो आयोजनाको काम २०७६ कात्तिकमा सुरु गरिएको थियो । कोरोना महामारी, स्थानीय बासिन्दाको पटक–पटकको आन्दोलनजस्ता कारण केही ढिलो अवश्य भएको छ । पछिल्लो समय स्थानीयको आन्दोलनका कारण गत फागुन ६ मा पनि एक महिना काम रोकिएको थियो । त्यसअघि गत साउनमा सुरुङ नजिकै भ्वाङ पर्दा केही समय काम रोकिएको थियो । त्यसबाहेक सुरुङमार्गमा निरन्तर काम हुँदै आएको छ । जापानको निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का लिएको छ । धेरै आयोजनामा निर्माण कम्पनीले जिम्मा लिएर अलपत्र पार्ने, काममा ढिलासुस्ती पार्ने प्रवृत्ति रहेका बेला नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा देखाइएको तदारुकता प्रशंसनीय छ ।

नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा जापान सहयोग नियोग (जाइका) को साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । आयोजना सुरु भएयता तीन अन्डरपास, ६ कल्भर्ट, एउटा ओभरपास निर्माण भइसकेका छन् । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने ढोका बनाइएका छन्, जुन ढोका मुख्य सुरुङभित्र केही भवितव्य घटना भइहाले छिटो निस्कन प्रयोग हुनेछ । बलम्बुतर्फ

फ्लाइओभर निर्माण भइरहेको छ । सडक ढलान गर्ने, अक्सिजन तथा तापक्रम मिलाउने, बत्ती तथा टेलिफोन जडान गर्ने, आकस्मिक उद्धार कक्ष बनाउनेजस्ता कामसमेत पूरा भएपछि सुरुङमार्ग सञ्चालनमा आउनेछ । त्यसपछि बलम्बुबाट साढे आठ किलोमिटर दूरी तय गरेर पुगिने सिस्ने खोलाको यात्रा सुरुङमार्ग हुँदै २.६८८ किलोमिटरमा सीमित हुनेछ । सुरुङ सरदर ३ मिनेटमै पार गर्न सकिनेछ । मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, ग्यास बुलेटले भने सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग जनशक्ति उत्पादनका हिसाबले पनि महत्त्वपूर्ण छ । नेपालमा जलविद्युत् आयोजनाका लागि सुरुङ बनिरहेको भए पनि सडकमा नौलो अभ्यास हो । विद्यार्थीले सुरुङबारे अध्ययन गरे पनि आफ्नै मुलुकभित्र सुरुङ सडक निर्माणको अभ्यास गर्ने अवसर थिएन । नागढुंगा–सिस्ने खोलामा जापानी प्राविधिकसँगै काम गरेका केही नेपाली यस्ता अन्य आयोजनामा नेतृत्व लिन सक्ने गरी सक्षम बनेका छन् । दर्जनौं सुरुङमार्ग बनाउने तयारी भइरहेका बेला यसरी नेपाली जनशक्ति उत्पादन हुनुलाई सुखद मान्नुपर्छ । सुरुङमार्ग निर्माण तथा सञ्चालन रोजगारीको नयाँ अवसर पनि बन्दै छ ।

निर्माणसम्बन्धी थप काम गर्नुपर्ने भएकाले नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालन हुन अझै वर्ष दिन लाग्ने देखिएको छ ।

त्यसमा कुनै अवरोध/जटिलता उत्पन्न भए सञ्चालन सुरु हुने समय धकेलिन सक्छ, त्यसले लागतसमेत बढाउन सक्छ । त्यसैले निर्बाध रूपमा काम हुने वातावरण बनाउन सरोकारवाला निकायले ध्यान दिनुपर्छ । काम नै अवरुद्ध पार्ने गरी आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दासँग सरकारले गत महिना सहमति गरेको थियो । त्यसको इमानदारीपूर्वक कार्यान्वयन गरिनुपर्छ । पूर्वाधार निर्माणको गति तीव्र हुनुपर्छ, निरन्तर हुनुपर्छ ।

प्रकाशित : वैशाख ४, २०८१ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?