२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जलवायु परिवर्तन र इकोफेमिनिज्म

जलवायु परिवर्तनलाई लैंगिक समानता, महिलावादलगायत बहुआयामिक दृष्टिकोणबाट हेर्ने गरिएको छ । इकोफेमिनिज्मले मानवलाई प्रकृतिबाट र पुरुषलाई महिलाबाट अलग गर्ने द्वैतवादी सोचलाई स्वीकार गर्दैन ।

गत अप्रिल ७ अर्थात् चैत २७ का दिन ‘आईक्यू एअर’ ले मापन गरेको प्रत्यक्ष अपडेटअनुसार नेपाल विश्वका सहरहरूमध्ये सबैभन्दा प्रदूषित सहरमा सूचीकृत भयो । जुन केही दशकयता जलवायुमा आएको परिवर्तनको परिणाम हो । यसको भागीदार केही हदसम्म नेपाल आफैं छ भने केही हदसम्म अरू देश । परिणामले मानव स्वास्थ्य, पर्यावरण र सम्पूर्ण जीवित प्रजातिमा पर्ने असर त विकराल नै छ । 

जलवायु परिवर्तन र इकोफेमिनिज्म

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार १ सयको मृत्यु हुने गरेको छ, जसमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षभन्दा माथिका वृद्धवृद्धा छन् । यसले औसत नेपालीको आयु ४.१ वर्षले घटाइरहेको छ । नेपालमा हुने मृत्युका कारणमध्ये वायु प्रदूषण प्रमुख रहेको तथ्यांकले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको संक्षिप्त नीतिमा स्टकहोम +५० सम्मेलनको सारांशलाई उल्लेख गर्दै जलवायु परिवर्तनले मानसिक स्वास्थ्य र मानव कल्याणमा गम्भीर असर पार्ने इंगित गरिएको छ । जलवायु परिवर्तन र बढ्दो तापक्रमले हावामा पाइने एलर्जी र प्रदूषकको स्तर बढेसँगै विशेष गरी डिप्रेसन, चिन्ता, शोक, आत्महत्या र भावनात्मक संकट बढिरहेको र अझ बढ्दै जाने कुरा संकेत गरेको छ । यसबाहेक जलवायु परिवर्तनले पार्ने आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक असरबारे विशेषतः नेपालमा त्यति चर्चा हुने गरेको पाइँदैन ।

जलवायु परिवर्तनलाई लैंगिक समानता, महिलावादलगायत बहुआयामिक दृष्टिकोणबाट हेर्ने गरिएको सर्वविदितै छ । जलवायु परिवर्तनको असर र यसले पार्ने प्रभावबाट सबै जीवित प्राणी अछुतो छैनन् । यसर्थ यस लेखमा जलवायु परिवर्तन र इकोफेमिनिज्मको सन्दर्भलाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

इकोफेमिनिज्मको अवधारणा फ्रान्सेली लेखक फ्रान्कोइस डी’ एउबोनले आफ्नो पुस्तक ‘ले फेमिनिज्म उ ला मोर्ट’ मा पहिलो पटक उल्लेख गरेकी थिइन् । इकोफेमिनिज्मलाई पर्यावरणीय नारीवाद पनि भनिन्छ, जसले लैंगिक समानताको आधारभूत नारीवादी सिद्धान्तहरू प्रयोग गर्दै, गैरपितृसत्तात्मक वा गैररेखात्मक संरचनाहरूको पुनमूल्यांकन र जैविक प्रक्रिया, यसको अन्तर्सन्बन्ध र फाइदाहरूबारे चर्चा गर्छ । यो सिद्धान्तले पितृसत्तात्मक समाजले अल्पसंख्यक मानिस र प्रकृति दुवैमाथि प्रभुत्व जमाउने प्रवृत्तिलाई जोड दिन्छ । यस सिद्धान्तले महिला र प्रकृतिलाई पर्यायवाची पक्षका रूपमा हेरेको पाइन्छ र अरू नारीवादी सिद्धान्तजस्तै शोषक र शोषितबीचको अन्तर्सम्बन्ध र अभ्यासलाई उजागर गरेको छ ।

इकोफेमिनिस्ट सिद्धान्तले हरित राजनीतिको नारीवादी परिप्रेक्ष्यलाई पनि जोड दिन्छ । यसले एक समतावादी र सहयोगी समाजको परिकल्पना गर्दै कुनै एक समूहको मात्र प्रभुत्व नभई सबैको समानतालाई जोड दिन्छ । इकोफेमिनिज्मको अवधारणालाई आज पनि विभिन्न दृष्टिकोणले हेरिन्छ । जस्तैः उदार इकोफेमिनिज्म, आध्यात्मिक/सांस्कृतिक इकोफेमिनिज्म, सामाजिक/समाजवादी इकोफेमिनिज्म आदि । नारीवाद र वातावरणवादलाई एकसाथ ल्याउँदै इकोफेमिनिज्मले महिलाको वर्चस्व र वातावरणको ह्रास पितृसत्ता र पुँजीवादको परिणाम हो भनी तर्क गर्छ । हामीले यसलाई पुलिंगीले स्त्रीलिंगी र अन्य सीमान्तकृत समूहमाथि सधैं शोषण गर्ने र गर्दै आएको इतिहासलाई इंगित गरेको भनेर बुझ्न सकिन्छ ।

प्रोफेसर र इकोफेमिनिस्ट लेखिका ग्रेटा गार्डले आफ्नो निबन्धमा संसारमा सबैभन्दा बढी खाद्यवस्तुको उत्पादन महिलाले गर्ने तर त्यसको उपभोग उनीहरूले नै कम गर्ने उल्लेख गरेकी छन् । जसको अर्थ प्रकृति र महिला उत्पादक र दाताका रूपमा रहेका छन् भने पुरुषहरू उपभोक्ता/प्रयोगकर्ता अधिक हुने गरेको बुझिन्छ । यतिमात्र नभएर महिलाहरू उत्पादक हुँदाहुँदै पनि अत्यधिक खपतचाहिँ पुरुषले गर्ने गरेका छन् ।

स्वीडेनमा भएको एक अध्ययनले पशु र पशुजन्य परिकारको खपत र सवारीसाधनको प्रयोग महिलाको तुलनामा पुरुषले बढी गर्ने देखाएको छ । यसरी त्यहाँका पुरुषले महिलाको तुलनामा औसत १६ प्रतिशतभन्दा बढी हरितगृह ग्यास उत्पादन गर्ने गरेको पाइएको थियो । उक्त अध्ययनले महिलाहरूले स्वास्थ्य सेवा, सामान र कपडाजस्ता कम उत्सर्जन गर्ने उत्पादनमा पैसा खर्च गर्ने गरेको देखाएको थियो । पुरुषहरूले आफ्नो कमाइको ७० प्रतिशत रकम कारको इन्धनलगायत हरितगृह ग्यास–सघन वस्तुहरूमा खर्च गर्ने गरेको अध्ययनमा उल्लेख थियो ।

त्यस्तै, १५ वटा युरोपियन देशमा गरिएको अनुसन्धानले पनि महिला कार्यकारी निर्देशक भएका कम्पनीमा कार्बनडाइअक्साइड उत्सर्जनको अनुपात न्यून रहेको पत्ता लगाएको छ । उक्त अनुसन्धानले हरितगृह ग्यास उत्सर्जन कम गर्न लैंगिक विविधताको महत्त्वलाई जोड दिँदै लैंगिक समानता र वातावरणीय दिगोपनको महत्त्वमाथि प्रकाश पारेको छ । इकोफेमिनिज्मले मानवलाई प्रकृतिबाट र पुरुषहरूलाई महिलाबाट अलग गर्ने द्वैतवादी सोचलाई स्वीकार गर्दैन । द्वैतवादले महिला र प्रकृति दुवैको शोषण र प्रभुत्वमा योगदान पुर्‍याउने कुरामाथि तर्क गर्छ । अर्थात्, यसले समतावादी समाजको अवधारणाका बारेमा वकालत गर्छ ।

केही सांस्कृतिक इकोफेमिनिस्टहरू महिलाको प्रजनन क्षमता हुने भएकाले उनीहरूको जैविक सम्बन्ध प्रकृतिसँग हुने बताउँछन्, जुन सम्बन्ध प्रकृति र पुरुषबीच भन्दा फरक र नजिकको हुने गर्छ । केही सांस्कृतिक इकोफेमिनिस्टहरू भने प्रकृतिसँग महिलाको निकटता सामाजिक र मनोवैज्ञानिक संरचनासँग जोडिएकाले उनीहरूको ज्ञान र नैतिक तर्क वातावरणीय समस्या समाधान गर्न उपयुक्त हुने बताउँछन् ।

यस सिद्धान्तले अहिलेको जल्दोबल्दो समस्या र चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महिलालाई जागरुक र सशक्त गराउन सके हरितगृह ग्यास उत्सर्जनमा कमी आउने देखिन्छ । जसमा सम्बन्धित सरोकारवालाको ध्यान जानु पनि आवश्यक देखिन्छ । जसरी नेपाल सरकारले २०४५ सम्ममा हरित ग्यास उत्सर्जनलाई शून्य अर्थात् नेट जिरोमा झार्ने लक्ष्य र प्रतिबद्धता व्यक्त गरेको छ, उक्त प्रतिबद्धता पूरा गर्न सबैभन्दा राम्रो सम्भाव्यता खोज्नु र कार्यान्वयन गर्नुको विकल्प छैन ।

इकोफेमिनिस्ट सिद्धान्तले महिला र प्रकृतिबीचको अन्तर्सम्बन्ध प्रगाढ हुने बताउँछ । नेपालको सन्दर्भमा वन, खोलानाला, कृषिसँगको नाता र सम्पर्क महिलाको धरै हुने हुनाले जलवायु परिवर्तनका बारेमा जनचेतना फैलाउनु जरुरी छ । यसको असर न्यूनीकरण गर्न महिलाकेन्द्रित कार्यक्रम तय गर्दा प्रभावकारी हुने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित : वैशाख ३, २०८१ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?