कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

स्वतन्त्र नागरिकको अपरिहार्यता

वर्तमान संसारमा स्वतन्त्र सोच्ने नागरिक बन्ने वा कसैबाट अभिप्रेरित–अधीनस्थ व्यक्ति बन्ने रोजाइका दुई विषय छन् । वैकल्पिक–सत्ययुगको दुःस्वप्नबाट उठ्न स्वतन्त्र दिमागले के सोच्छ भन्ने मात्र होइन, कसरी सोच्छ भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ ।
कटक मल्ल

एरिस्टोटलले धेरै वर्षपहिले भनेका थिए– ‘असल संवैधानिक प्रणालीलाई असल नागरिक चाहिन्छ ।’ अर्थात्, सत्तासँग प्रश्न गर्ने नागरिक । यसका विपरीत सदियौंदेखि भ्रामक र छद्मरूपी बौद्धिक प्रयोक्तिको भ्रामक प्रसारण हुँदै आएको छ । जस्तै– बेलायत संसद्को जननी, अमेरिका उत्कृष्ट संविधान र शक्तिशाली लोकतन्त्र, भारत ठूलो लोकतन्त्र र विश्व गुरु आदि । यसरी किन राजनीतिको भ्रमपूर्ण प्रचार हुन्छ ?

स्वतन्त्र नागरिकको अपरिहार्यता

किन वैकल्पिक–सत्य, जातिवादी उदारवाद, हिटलर र चर्चिल बारम्बार पुनःस्थापना भरहन्छन् ? यी अभिव्यक्तिको अन्तर्वस्तु वा नियत के हो ? यी प्रश्न स्वतन्त्र नागरिक र गम्भीर विचारकबीच छलफलका लागि सान्दर्भिक हुन सक्छन् ।

केही स्वतन्त्र सोच भएका अपवाद मानिसबाहेक धेरैले विद्यमान राजनीतिक समस्या समाधानका लागि कुनै एक महामानव आउनेछ भनी सोच्छन् । जब यस्तो व्यक्तिगत सोच सामूहिक बन्छ, त्यसले एक राजनीतिक परम्परा सिर्जना गर्छ, गरेको छ । मुलुक विकासशील होस् वा विकसित । यस्तो परम्परामा जनताले आ–आफ्नो मुलुकका तथाकथित महामानव–नेताको जीवन–कथामा विश्वास गर्छन् । राजनीतिक कथाका नायकहरू सपना बन्छन् वा स्मृतिमा रहिरहन्छन् । जस्तै– अमेरिकामा रुजवेल्ट र केनेडी, बेलायतमा चर्चिल र थ्याचर, स्वीडेनमा ओलओफ पाल्मे, भारतमा गान्धी र नेहरू, नेपालमा महेन्द्र, बीपी र पुष्पलाल हुन सक्छन् ।

संकुचित राजनीतिक टिप्पणीकारले स्मृतिका–नेताको भावनात्मक आविष्कार वा पुनः आविष्कार गर्छन् । जस्तै– इराकमा अमेरिकी आक्रमणको समयमा सद्दामलाई हिटलर भनियो । हाल भोलोदिमिर जेलेन्स्कीलाई विन्स्टन चर्चिल भनिँदै छ । गाजामा इजरायली अत्याचारलाई ‘आत्मरक्षा’ र रसिया–युक्रेन युद्धलाई तानाशाहीविरुद्ध ‘लोकतन्त्रको युद्ध’ भन्ने आख्यान प्रसारण गरिँदै छ । यस्तो छलफलका क्रममा मानिस स्मृतिको पुनः आविष्कार आख्यानको लतमा पर्छन् । नेताहरूले जनलतको फाइदा उठाएको थाहा हुँदैन । अर्थात्, जनता एक प्रकारको त्रास, भ्रम वा शीतनिद्रा (हाइबरनेसन) मा पर्छन्, ब्युँझन गाह्रो हुन्छ । अन्ततः राजनीतिक सपना दुःस्वप्न बन्छ, बनेको छ । राजनीति शान्तिको प्रवर्द्धक हुनुपर्थ्यो तर आफैं युद्धको औजार बनेको छ ।

अमेरिकामा वाटरगेट काण्ड र भियतनाम युद्धपछि जिम्मी कार्टर ‘म कहिल्यै झुट बोल्दिनँ, कहिल्यै भ्रामक बयान गर्दिनँ, तपाईंहरूको विश्वासलाई कहिल्यै धोका दिन्नँ, विवादास्पद मुद्दालाई कहिल्यै बेवास्ता गर्दिनँ’ भन्ने नारासहित सत्तामा आएका थिए । दोस्रो कार्यकालको निर्वाचनमा कार्टर पराजित हुन्छन् । ‘मध्यपूर्व शान्ति’ दीर्घकालीन सन्धि गर्ने एकमात्र अमेरिकी राष्ट्रपति कार्टरलाई यहुदी विरोधी (एन्टीसेमिटिक) भनेर हिजोआज आलोचना गरिन्छ । रेगन र थ्याचरको अवधिमा कार्टरको सत्यता अप्रासंगिक हुन्छ । क्लिन्टन, बुस र ओबामा अमेरिकी साम्राज्य जारी राख्छन् । अमेरिका कहिल्यै महान् थियो वा थिएन ? ट्रम्प अमेरिकालाई फेरि महान् बनाउन सत्तामा आउँछन् । पोस्ट–ट्रुथ समय (उत्तर–सत्ययुग) सुरु हुन्छ । जनमत निर्माण गर्न ‘वस्तुगत तथ्य’ भन्दा ‘भावना र व्यक्तिगत विश्वास’ प्रभावकारी हुन्छ ।

हाल बाइडेनको अमेरिकालाई युक्रेनमा पुटिनले चुनौती दिइरहेका छन् । इजरायलमार्फत गाजामा अमेरिका नैतिक रूपमा पराजित भइरहेको छ (गाजा र युक्रेनमा मानिस मात्र होइन, अन्तर्राष्ट्रिय कानुन र व्यवस्था मर्दै छन्) । भारतमा मोदी अवतार भए उप्रान्त इतिहास पुनर्लेखन सुरु हुन्छ । समग्रमा एक वैकल्पिक–सत्ययुग चलिरहेको छ (यहाँ, म हिन्दु धर्मग्रन्थको सत्ययुगको सन्दर्भ जोडिरहेको छैन) । आत्मकेन्द्रित सोच, अनुकरण गर्ने प्रवृत्ति, कट्टरपन्थ, समकक्षी–दबाब, नायक पूजा, पूर्वाग्रह र भावनात्मक निर्भरता आदिका कारण आलोचनात्मक सोच र जागृत नागरिक स्वतन्त्र विचार–विमर्शको अभाव संसारभरि छ । धेरै राजनीतिज्ञले नागरिक भाषा बिर्सने गरेका छन् ।

संविधान र राजनीतिको भ्रमपूर्ण प्रचार

सन् १८६५ मा बर्मिङ्घममा जोन ब्राइटले एक भाषणमा ‘द मदर अफ पार्लियामेन्ट्स’ वाक्यांश प्रयोग गरेका थिए । यो एक छद्म–प्रयोक्ति पनि थियो । बेलायती संसद् न संसद्को जननी हो न त अपनाउन लायक लोकतान्त्रिक प्रणाली । किनभने बेलायतमा आजसम्म मूलतः नागरिक समान छैनन् । बेलायतीहरू यस्तो असमानतामा मूर्खतापूर्ण गर्व गर्छन् । जस्तै– ब्रिटिस हाउस अफ लर्ड्सका केही वंशाणुगत ‘पिर्स’ हुन्छन् । अन्य पश्चिमी युरोपेली देशको तुलनामा बेलायती संसद्मा समानुपातिक प्रतिनिधित्व छैन र प्रायः अल्पसंख्यक सरकारद्वारा शासन गरिन्छ । ब्रिटिस साम्राज्यवादी अपराधको अतिरिक्त हालको बेलायती कन्जरभेटिभ र लेबर पार्टीबीच धेरै वैचारिक भिन्नता छैन ।

बेलायतमा शिक्षित केही भारतीय र नेपालीले ‘ब्रिटिस संसद् सबै संसद्को जननी हो’ भन्ने औपनिवेशिक आख्यान प्रचार गर्दै आएका छन् । नेपालमा गणतन्त्रलाई भारतबाट लादिएको भन्दै विरोध गर्नेहरू अहिले नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्न भारतसँग सहयोग मागिरहेका छन् । भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ का नाममा राखिएको दक्षिण एसियाली उपमहाद्वीपको ‘भित्तेचित्र’ (म्युरल) ले नेपालको सार्वभौम क्षेत्रका हिन्दुवादीमा चिन्ता देखिँदैन । ‘अखण्ड भारत भित्तेचित्र’ मोदीवादी वैकल्पिक–सत्ययुगको एक नक्कली इतिहास हो ।

एटलान्टिकको अर्कोतर्फ अमेरिकी निर्वाचन प्रणाली जातिवादमा आधारित छ । अमेरिकीले प्रत्येक चार वर्षमा राष्ट्रपतीय निर्वाचनमा मतदान गर्छन् तर सबै मत समान रूपमा गणना हुँदैनन् । सबैभन्दा धेरै लोकप्रिय मत जित्ने उम्मेदवार निर्वाचित नहुन सक्छ । यो प्रणाली जानीजानी स्थापना गरिएको हो । यसलाई ‘इलेक्टोरल कलेज’ प्रणाली भनिन्छ । विगतमा पाँच पटक (सन् १८२४, १८७६, १८८८, २०००, २०१६ मा) लोकप्रिय भोट पाउने उम्मेदवार हारे । संयुक्त राज्य अमेरिकाका कुल ५० राज्यले इलेक्टोरल कलेजमार्फत राष्ट्रपति चुन्न ५३८ प्रतिनिधि निर्वाचित गर्छन् ।

राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल भोटको बहुमत चाहिन्छ । दुई शताब्दीपहिले अमेरिकाका दक्षिणी संघीय राज्य (अलाबामा, अर्कान्सास, डेलावेयर, फ्लोरिडा, जर्जिया, केन्टकी, लुइसियाना, मेरिल्यान्ड, मिसिसिपी, मिसौरी, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, टेनेसी, टेक्सास र भर्जिनिया) गोरा मतदातालाई सशक्त बनाउन डिजाइन गरिएको थियो । ‘अमेरिकी चुनावहरूमा जातीयता छ’ (न्यायाधीश एन्टोनिन स्कालिया) । अमेरिकामा दुई पार्टी प्रणालीमा धेरै वैचारिक भिन्नता छैन । रिपब्लिकन र डेमोक्रेट दुवै युद्ध लड्नका लागि परिचित छन् । सारमा बेलायतजस्तै अमेरिकामा एकदलीय व्यवस्था छ ।

महाभारत र वेदलाई उद्धृत गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारत लोकतन्त्रको जननी हो’ र ‘लोकतन्त्रको विश्वगुरु’ पनि भनेका थिए । मोदीको ‘अमृतकाल’ मा ‘इलेक्टोरल बन्डहरू’ (चुनावी ऋणपत्र) स्टेट बैंक अफ इन्डियाद्वारा जारी गरिएको थियो । राजनीतिक दललाई गोप्य चन्दा दिन सञ्चालित चुनावी ऋणपत्र भारतीय सर्वोच्च अदालतले असंवैधानिक घोषणा गरेको छ । चुनावी ऋणपत्र खरिद गर्ने कम्पनीको विवरण भारतको इतिहासमा कहिल्यै नदेखेको राजनीतिक घोटाला, भ्रष्टाचार र लुटपाट भनिन्छ (लगभग १६,५१८ करोड बिक्री भएको चुनावी ऋणपत्र रकममध्ये भाजपा ८,२५१.८ करोड प्राप्त गरी सबैभन्दा बढी लाभान्वित भएको छ) । भारतको सर्वोच्च अदालतले संघीयता, धर्मनिरपेक्षता, मौलिक अधिकार र लोकतन्त्रलाई ‘आधारभूत संरचना’ परिभाषित गरेको छ । तर भारत न साँचो संघीय राज्य हो न पूर्णलोकतन्त्र । केन्द्र सरकारले पटकपटक निर्वाचित राज्य सरकार विघटन गरेको छ । भाजपाको नेतृत्वमा भारत एक पार्टी प्रणाली बन्ने खतरा छ ।

लोकतन्त्रका लागि राजनीतिक बहुदल आवश्यक हुन्छ । जुन मुलुकमा दललाई राज्यद्वारा वित्तपोषण हुँदैन, त्यहाँ राजनीतिक प्रणाली व्यापारिक वर्गद्वारा नियन्त्रित हुन्छ । नेपालजस्ता मुलुकमा आर्थिक भ्रष्टाचार मात्र होइन, मूलधारका राजनीतिक दलको वैचारिक भ्रष्टाचारले उदासीनता, निन्दा, क्रूरता र आर्थिक भ्रष्टाचार प्रोत्साहन भइरहेछ । सबैभन्दा खतरनाक परिस्थिति सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी वैकल्पिक–सत्य, मनगढन्ते समाचार प्रचारले नेपाल र अन्यत्रको लोकतन्त्र गम्भीर संकटमा छ ।

वैकल्पिक–सत्ययुग

विश्व आर्थिक मञ्चको सन् २०२४ ग्लोबल रिस्क रिपोर्टअनुसार भारत गलत सूचनाको उच्च जोखिममा एक नम्बर स्थानमा छ । संक्रामक रोग, अवैध आर्थिक गतिविधि, असमान धन, आय र श्रम अभावका सबै जोखिममध्ये गलत सूचनालाई विज्ञहरूले नम्बर एक जोखिमका रूपमा चयन गरेका छन् । अर्को जोखिम– ‘संसारका राजनीतिज्ञले सधैं झुट बोलेका छन्, बोलिरहन्छन् । दुर्भाग्यवश, आज धेरै राजनीतिज्ञले वस्तुनिष्ठ सत्यको अवधारणालाई अस्वीकार गरेको देखिन्छ,’ (नेल्सन मण्डेलाको १०० औं जन्मोत्सवमा बाराक ओबामाको वक्तव्य, सन् २०१८) ।

संसारमा धेरै कम मिडियाले युद्धको समयमा स्वतन्त्र समाचार प्रसारण गर्ने हिम्मत गर्छन् । कसैले वा सरकारले ‘लुकाउन चाहेको विषय उजागर गर्नु समाचार हो, अरू सबै विज्ञापन’ (जेम्स बेवन) । स्वतन्त्र प्रेसले वा पत्रकारले पत्रपत्रिका, रेडियो, ब्लगआदि मार्फत् सत्य उजागर गर्छन् । तथ्यको जाँच गर्नु स्वतन्त्र प्रेसको महत्त्वपूर्ण काम हो । अनुसन्धानात्मक सोच भएका उत्कृष्ट पत्रकारलाई के प्रश्न गर्ने, कुन कुरा पछ्याउने र कसरी तथ्य–जाँच गर्ने भन्ने थाहा हुन्छ । प्रेस सुरक्षित र प्रभावकारी रूपमा तथ्य–जाँच गर्न सक्षम भएन भने सत्य दफन हुन्छ, भइरहेको छ । पश्चिमी मिडियाको सेल्फ सेन्सरसिप वा युद्धको सहमति गरिरहेको बर्तमान अवस्थाको तुलनामा नेपालमा उच्च स्तरको वाक् तथा प्रकाशनको स्वतन्त्रता देखिन्छ तर तथ्यपरक प्रेस रिपोर्टिङ कमजोर देखिन्छ ।

जातिवादको उदारवादी मखुन्डो

व्यक्तिगत स्वतन्त्रता, निजी सम्पत्तिको अधिकार र कानुनका अगाडि समानतामा उदारवादको दर्शन हो । युरो–अमेरिकी कन्जरभेटिभ विचार–आधारित उदारवाद र युरोपेली–समाजवाद आधारित उदारवादमा भिन्नता छ । यस विषयमा विन्स्टन चर्चिलको भनाइ मननयोग्य छ । उनी भन्छन्– ‘समाजवादले उद्यमलाई मार्नेछ, उदारवादले उद्यमलाई विशेषाधिकार दिनेछ । समाजवादले व्यक्तिको प्रधानतालाई आक्रमण गर्छ, उदारवादले जनसमूहका लागि न्यूनतम मापदण्ड निर्माण गर्न खोज्छ ।

समाजवादले शासनलाई उच्च पार्छ, उदारवादले मानिसलाई उच्च पार्छ । समाजवादले पुँजीवादमाथि आक्रमण गर्छ, उदारवादले एकाधिकारमाथि आक्रमण गर्छ ।’ चर्चिलको उदार पुँजीपति विचारले सामाजिक स्वतन्त्रता र खुसीको ग्यारेन्टी गर्न सकेन । नक्कली उदारवादका कारण लोकतान्त्रिक सरकारको आधारशिला अत्यधिक शंकास्पद बनाइदिएको छ । विश्वव्यापी स्तरमा सरकारलाई जनताको विश्वास घट्दै गएको छ ।

‘जातिवाद अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रीय विशेषता हो’ भनिन्छ । उदारवादका नाममा राष्ट्रवादलाई जातिवाद, जातीय सर्वोच्चता, सैन्यवाद र धार्मिक फाँसीवादसँग जोडिएको पनि देखिन्छ । सन् १९४५ मा जर्ज ओरवेलले प्यालेस्टाइन एक नश्लवाद मामला हो भनेका थिए । नश्लवादको कारण पश्चिमी संसारले गाजामा इजरायली आक्रमण जारी राख्न दिइरहेको छ । कमजोरलाई कसरी कजाउन सकिन्छ भन्ने छद्म उदारवादी–साम्राज्यवादी शक्तिलाई थाहा हुन्छ । उदारवाद वा नवउदारवाद जे भने पनि यो पश्चिमी जातिवादको मखुन्डो हो । जुन उदारवादको विश्वव्यापी विजयको घोषणा गरिएको छ, त्यो ऐतिहासिक रूपमा जातीय उदारवाद थियो, जसले गोरा र काला मानिसको समान व्यक्तित्व अस्वीकार गर्छ । जातीय विशेषाधिकारको संरचनालाई भत्काउन जातिवादको उदारवादी मखुन्डो उतार्नुपर्छ ।

हिटलर र चर्चिलको बारम्बार पुनःस्थापना

जर्ज डब्लु बुसले ह्वाइट हाउसबाट सन् २००३ मा इराकउपर युद्ध घोषणा गर्दा विन्स्टन चर्चिलको आत्मालाई आह्वान गरेका थिए । किन हिटलर र चर्चिलको बारम्बार पुनःस्थापना भइरहन्छ भन्नेबारे केही दक्षिण एसियाली बौद्धिकहरूले एंग्लो–स्याक्सन संसारमा आफ्नो उपस्थितिको अनुभूति गराएका छन् । तिनीहरूमध्ये फरिद जकरिया एक भारतीय–अमेरिकी पत्रकार/लेखक हुन् । जकरिया सामुएल हन्टिङटनको सच्चा चेला र अमेरिकी साम्राज्यको प्रशंसक हुन् । जकरिया संयुक्त राज्य अमेरिकालाई एक ‘सौम्य साम्राज्य’ (बेनाइन इम्पायर) भनी व्याख्या गर्छन् । गाजामा इजरायली आक्रमण सम्बन्धमा उनी भन्छन्– ‘बाइडेनले इजरायललाई केही कठिन सत्य बताउन आवश्यक छ ।’ तर जकरियाले अमेरिकी वर्चस्व र अन्याय उजागर गर्दैनन् ।

भारतीय राजनीतिज्ञ शशी थरुरले ‘विन्स्टन चर्चिलका हातमा नरसंहारकारी तानाशाहजत्तिकै रगत छ’ भन्ने दाबी गरेका छन् (इनग्लोरियस एम्पायर, सन् २०१८) । पश्चिमी देशको लगातार युद्ध गर्ने मनोवृत्तिको फलस्वरूप ‘चर्चिल पन्थ’ को चयनसमेत भएको छ । अन्तर्राष्ट्रिय वामपन्थीको एक अग्रणी मार्क्सवादी र ट्रोटस्कीवादी तारिक अलीले ‘चर्चिल पन्थ’ बारे गम्भीर बहस आवश्यक छ भन्दै चर्चिल एक युद्ध अपराधी, दुष्ट साम्राज्यवादी, सामूहिक हत्यारा र प्रो–फासिस्ट (विन्स्टन चर्चिलः हिज टाइम्स, हिज क्राइम्स, सन् २०२२) भन्ने तर्क गरेका छन् । अली पाकिस्तानी मूलका–ब्रिटिस राजनीतिक कार्यकर्ता, लेखक, पत्रकार, इतिहासकार, फिल्म निर्माता र सार्वजनिक बौद्धिक हुन् । हाल उनी बेलायती आलोचनाको निशाना बनेका छन् । भियतनाम युद्धको चरम अवस्थामा अलीले हेनरी किसिन्जर र तत्कालीन ब्रिटिस विदेश सचिव माइकल स्टिवर्टसँग बहस गरेर राष्ट्रिय ख्याति कमाए । भियतनाम युद्धको अत्याचारविरुद्ध बर्ट्रेन्ड रसेल र जाँ–पल सार्त्रले अमेरिकाको युद्ध अपराधको ट्रिबुनल स्थापना गरेका थिए । अलीलाई उत्तर भियतनाममा तथ्य संकलन गर्न पठाइएको थियो ।

युद्ध र शान्तिबारे सलमान रुस्दी भन्छन्– ‘महाभारत र रामायणले हामीलाई बताउँछ कि शान्ति रगतको मूल्यमा आउँछ । र, पञ्चतन्त्रले हामीलाई बताउँछ कि शान्ति केवल विश्वासघातबाट प्राप्त हुन्छ । फिल्म ओपेनहाइमरले हिरोसिमा र नागासाकीका मानिसमाथि दुईवटा एटम बम लिटिल ब्वाय र फ्याट म्यान खसालेपछि मात्रै शान्ति आयो भनेर सम्झाउँछ ।’ उनी भन्छन्–‘असल मानिसहरू सधैं जित्दैनन्’ (सन् २०२३) । रुस्दी भारतीय मूलका ब्रिटिस उपन्यासकार हुन् ।

‘फ्रम द रुइन्स अफ द एम्पायर’ (सन् २०१३) र ‘एज अफ एंगर’ (सन् २०१७) का लेखक पंकज मिश्र भन्छन्– ‘यो सम्भव छ कि इजरायल गाजा र वेस्ट बैंकलाई पनि जातीय सफाया गर्न सफल हुनेछ । शक्तिशाली पुरुषले नरसंहार आवश्यक धर्म बनाउन सक्छन् । इजरायली आक्रमणको विजयी निष्कर्ष कल्पना गर्न गाह्रो छैन । सायद, प्यालेस्टिनी एक्लोपनको भावनालाई कम गर्नेछ र शोहको सम्झनालाई मुक्त गर्ने दिशामा बाटो देखाउनेछ (द शोह आफ्टर द गाजा, सन् २०२४) । अर्थात्, गाजाले ‘शोह’ बिर्सन मद्दत गर्नेछ । ‘शोह’ हिब्रु शब्द हो, यसको अर्थ हुन्छ ‘विपत्ति’ । जसले विशेषगरी नाजी जर्मनी र यसका सहयोगीले युरोपमा लगभग ६० लाख यहुदीको हत्यालाई बुझाउँछ ।

वर्तमान संसारमा स्वतन्त्र सोच्ने नागरिक बन्ने वा कसैबाट अभिप्रेरित–अधीनस्थ व्यक्ति बन्ने रोजाइका दुई विषय छन् । वैकल्पिक–सत्ययुगको दुःस्वप्नबाट उठ्न स्वतन्त्र दिमागले के सोच्छ भन्ने मात्र होइन कसरी सोच्छ भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ । माथि उल्लिखित संसदीय जननी, उत्कृष्ट संविधान र शक्तिशाली लोकतन्त्र, ठूलो लोकतन्त्र र विश्व गुरुजस्ता छद्म प्रयोक्ति र आख्यानलाई बिनाआलोचना स्वीकार गर्नु हुँदैन । आलोचनात्मक चुनौती दिनुपर्छ । समाचार के छ भन्दा पनि समाचारको शीर्षक कसरी प्रस्तुत गरिएको छ भन्नेबारे सोच्नुपर्छ । नक्कली र तथ्यपरक समाचारबीच भिन्नता छुट्याउन सक्ने क्षमता पहिलेभन्दा बढी आवश्यक छ । स्वतन्त्र सोच्ने र सत्य बोल्ने क्षमता हुनु नै मानिस हुनु हो । न्यायपूर्ण संसार बनाउन नागरिकको स्वतन्त्र विचार र दृष्टिकोण आवश्यक हुन्छ ।

प्रकाशित : चैत्र ३०, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?