कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेसका दुई अतिवादी प्रवृत्ति : आत्मनिन्दा र आत्मश्लाघा

आत्मनिन्दा प्रवृत्ति - अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले ग्रस्त छ ।
आत्मश्लाघा प्रवृत्ति- पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ । मूलतः पार्टीमा सबै ठिकठाक छ भन्ने ठहर गर्छ ।
गगन थापा

हामीसँग गौरवमय इतिहास त छँदैछ, २०८० सालमा आइपुग्दा ८ लाख ६९ हजार क्रियाशील सदस्य, समुदायको जरैसम्म समावेशी सांगठनिक संरचना, सबैभन्दा प्रतिवद्ध सदस्य र कार्यकर्ताको ठूलो पङ्क्ति पनि छ ।

कांग्रेसका दुई अतिवादी प्रवृत्ति : आत्मनिन्दा र आत्मश्लाघा

सदस्य, संगठन, संरचना सबै किसिमले सवैभन्दा ठूलो पार्टी बनेको छ । त्यसमाथि आफैंले बनाएको संविधान, आफैंले परिकल्पना गरेको राजनीतिक प्रणालीमा निर्वाचनबाट पहिलो पार्टी बनेर सबै तहको सरकारमा नेतृत्वदायी भूमिकामा रहेको यो क्षणमा पार्टीभित्र ठूलो उत्साह र विजयभाव मात्र हुनुपर्ने हो, तर कताकता केही अलमल र संशय पनि देखिन्छ । किन यस्तो भइरहेको छ? यसलाई हामीले अनदेखा गर्न मिल्दैन । हामीले कठोर भएर आत्ममूल्याङ्कन गर्न जरुरी छ । मूलत: पार्टीको मुख्य जिम्मेवारीमा बसेका हामीले आत्मसमीक्षा गर्नुपर्ने केही मूलभूत विषय यहाँ उठाउन चाहन्छुः

  • पार्टी सदस्यलाई निरन्तर गतिशील र एकताबद्ध बनाइराख्न नियमित सांगठनिक गतिविधिसँगै प्रष्ट ध्येय पनि चाहिँदो रहेछ । माथि चर्चा गरे झैं वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापना गर्दैगर्दा हाम्रा अग्रजहरुले 'प्रजातन्त्रको स्थापना' लाई यसको ध्येय बनाउनु भयो भने २०७० मा हाम्रो ध्येय संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्ने थियो । २०६२ साल अघि हिंसात्मक द्वन्द्वका कारण कांग्रेसको नियमित सांगठनिक गतिविधि गर्ने अवस्था थिएन् । तर त्यस्तो अवस्थामा पनि ‘शान्ति स्थापना र संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाइछाड्ने’ हाम्रो ध्येयले पार्टीभित्र र बाहिर सबैलाई जोड्न सकेको थियो । हामीले चाहेको राजनीतिक प्रणाली सहितको संवैधानिक व्यवस्थाभित्र सबै तहमा सरकार सञ्चालन गरिरहेको अहिलेको अवस्थामा हाम्रो ध्येय के हुने यसको स्पष्ट पहिचान गरी त्यसमार्फत् सबैलाई संगठित र पुनर्जागृत गर्न आवश्यक छ ।
  • तात्कालिक सरकारले पटक पटक असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरेपछि एउटा विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नु परेको थियो । त्यसकै निरन्तरता स्वरुप पार्टीले ‘लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्‍यो ।’ निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी त बन्यो तर यो अनुभवले हामीलाई सिकाएको छ- निर्वाचन पूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने रहेछ ।
  • तिनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रुख’ चिन्ह नै नहुँदा कांग्रेसजनले आज पर्यन्त आफ्नो गुनासो व्यक्त गरिरहेको हामीले देखेका छौं । संघ र प्रदेशको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन् । ४८ वटा प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका २ प्रदेश सभा क्षेत्रमध्ये एउटामा मात्रै हाम्रा उम्मेदवार थिए; अर्थात ४८ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन् । समग्रमा ६२ प्रदेश सभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रो निर्वाचन चिन्ह ‘रुख’मा मत राख्न पाएनन् । त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेशसभामा त कांग्रेसले रुखमा मत राख्न पाए, तर प्रतिनिधिसभामा पाएनन् । यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै, अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्था सृजना भयो ।
  • पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठनभित्र आकांक्षीको व्यवस्थापन त कठिन भयो नै पार्टीभित्रको ऊर्जामा समेत गिरावट आयो । जसले गर्दा निर्वाचनमा संख्यात्मक रुपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था भयो । २०७४ बाट २०७९ को आम चुनावसम्म आइपुग्दा प्रतिनिधिसभा चुनावमा हाम्रो लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले ह्रास आएको छ । यो गुमेको मतलाई पार्टीमा पुन: जोड्दै नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने चुनौती छ ।
  • सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या छ । पार्टीसँग समन्वय गरेर सरकारले काम गर्ने परिपाटी बन्न सकेको छैन । सरकार र पार्टीबीच समन्वय, सहयोग र सहजीकरण सही ढङ्गले नहुँदा एक-अर्कालाई बुझ्ने कुरामा नै समस्या भएको छ र सरकारले गरेका कामको पार्टीबाट यथोचित प्रचार हुन सकेको छैन ।
  • यतिबेला संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भएता पनि पार्टी सरकारमा भएको महशुस र आफ्नोपन नै कांग्रेस सदस्यले गर्न नसकिएको गुनासो छ । यस्तो अवस्थामा पार्टीभित्र एकखालको अलमल छ- हामीले सरकारको प्रतिरक्षा गर्ने की प्रश्न ! यो समस्या अहिले उब्जेको समस्या पक्कै होइन । २०५१ सालमा सम्पन्न महासमितिको बैठकमा महामन्त्री महेन्द्रनारायण निधीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ- “सरकार र पार्टीबिचको समन्वय गर्ने कुरा जतिसुकै सैद्धान्तिक तवरबाट हामीले गरेपनि त्यसमा सधैं कमी नै देखियो । अब यसलाई व्यवस्थित गर्नुपरेको छ ताकि भोली यो अवस्था नआओस् ।” आज करिब ३० वर्ष पछि पनि हामीले त्यही विषयमा छलफल गर्नुपरेको छ र यो हाम्रा लागि झन् पेचिलो बन्दै गएको छ ।
  • बिपी कोइरालाले भन्नुभएको थियो, “पार्टीको संगठन ठीक पार्ने हो भने हामी सबैमा पूर्ण रूपमा विधानको पालना गर्ने बानी हुनुपर्दछ । पार्टीका दैनिक जीवनका कार्य सुचारु रूपले सम्पन्न भइरहेको हुनुपर्दछ ।” पार्टीको हरेक विषयको निर्णय, व्यवस्थापन, कार्यान्वयन र निरूपण गर्ने आधार पार्टी विधान नै हुनुपर्दछ । हाम्रो पार्टी विधानले सबै तह र तप्कालाई स्पष्ट समयबद्ध जिम्मेवारी दिएको छ, तर अहिले पार्टी सञ्चालन गर्दा हरेक तह र तप्कामा विधानको पूर्ण पालना हुनसकेको छैन ।
  • पार्टीको तल्लो तहसम्म कतिपय ठाँउमा बैठक बस्न सकेको छैन, कतै सांगठनिक गतिविधि नियमित छैन, कतै सदस्यतामा समस्या छ त कतै पदाधिकारी मै समस्या छ । बहुमत भएकोले फरकमत राख्नेलाई बेवास्ता गर्ने, पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले अन्तत: संगठनलाई नै कमजोर बनाएको छ । विधानसम्मत थिति र विधिमा पार्टी संचालन कसरी गर्ने भन्ने विषय आजको हाम्रो ठूलो चुनौतीको रूपमा रहेको छ ।
  • पार्टीमा स्थापनाकाल र प्रतिबन्धित कालमा संघर्ष गरेको पुस्तादेखि आजको नयाँ पुस्तासम्म क्रियाशील छ । आकांक्षा धेरैको छ, तर अवसर कम छ । संघर्ष गरेको तर कुनै अवसर नपाएका साथीहरूको संख्या ठूलो छ । त्यसमाथि काम गरेर आफूलाई प्रमाणित गर्न आएको नयाँ सदस्य जिम्मेवारी सहित काम गर्न चाहान्छ । यसको व्यवस्थापन आफैंमा चुनौतीपूर्ण त छँदैछ, तर भएको अवसरको वितरणलाई पनि न्यायसंगत बनाउनुपर्ने अर्को चुनौती छ । पार्टीमा कतै पद छ जिम्मेवारी छैन, कतै समिति छ काम छैन अनि कतै चाहिँ जिम्मेवारीमा दोहोरोपन छ । कतिपय क्षमतावान साथीहरूलाई पद र जिम्मेवारी दिन नसक्दा पार्टीले उपलब्ध क्षमताको सदुपयोग गर्न सकेको छैन । यसको उपयुक्त र न्यायपूर्ण हल खोज्नुपर्नेछ।
  • पार्टीभित्र जरैसम्म फैलिँदै गएको आन्तरिक शक्ति संघर्ष, आफैभित्रको अस्वस्थ प्रतिस्पर्धा र एक आपसमा निषेध गर्ने प्रवृत्तिले पार्टीका अधिकांश सदस्यहरूको ऊर्जा खेर गइरहेको छ । यो अवस्थालाई बदलेर पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र आन्तरिक अनुशासन कायम गर्नुपर्नेछ।
  • पार्टी अनुशासन र जवाफदेहीताको कुरा चुनावका बेला मात्रै बढी उठ्छ । अनुशासनलाई अनुकूलतामा व्याख्या गर्ने परिपाटीले सिर्जना गरेको असन्तुष्टिलाई सम्बोधन गर्न आवश्यक छ । तोकिएको समयमा तोकिएको जिम्मेवारी पुरा नगर्नु पनि अनुशासन उल्लङ्घन हो, भन्ने मान्यतालाई अंगिकार गर्न सकिएको छैन् । यो अवस्थामा सबै तह र तप्कामा जिम्मेवारी र जवाफदेहीताको भाव कसरी सिर्जना गर्ने भन्ने चुनौती छ ।
  • पार्टीभित्र अवसरको न्यायोचित वितरण हुन नसकेको, समावेशी ढङ्गले समान रुपमा अवसरमा पहुँच हुन नसकेको, समावेशी समानुपातिकतर्फ समेत जसले पाउनुपर्ने हो त्यो तप्कालाई नै न्याय हुन नसकेको व्यापक गुनासो छ । अवसरको न्यायोचित वितरणलाई सुनिश्चित गर्न नीति र नियत, के मा कसरी बदलाव ल्याउने भन्नेमा ध्यान दिनुपर्नेछ ।
  • पार्टीभित्र अनुभवदेखि दक्षताले पूर्ण सदस्य, समर्थक र शुभेच्छुकको संख्या उल्लेख्य छ, तर पार्टीको औपचारिक संरचनाले त्यो व्यक्तिगत क्षमताको सदुपयोग गर्ने ठाउँ दिन सकिराखेको छैन । यो अबस्था बदलेर क्षमता अनुसारको काम र अवसर प्रदान गर्ने विधि, विधान र संरचनालाई फराकिलो बनाउनु पर्ने आवश्यकता छ ।
  • पार्टीभित्र एकातर्फ इतिहासप्रति गौरव गर्ने अर्कोतर्फ आफ्नै पार्टीको नेतृत्वमा आफैले लडेर ल्याएको परिवर्तनलाई समेत प्रतिरक्षा गर्ने जाँगर नदेखाइरहेको विचित्रको अवस्थालाई बदल्नुपर्नेछ ।
  • एकातर्फ पार्टीले गरेका राम्रा काम र उपलब्धिको सही सम्प्रेषण हुन नसक्दा पार्टीका बारेमा भ्रम छर्नेहरूलाई मलजल पुगेको छ भने अर्कोतर्फ हाम्रो इतिहास, संघर्ष, बलिदान र नेतृत्वलाई अवमूल्यन गर्दै अफवाह फैलाउँदा समेत त्यसको सही ढङ्गले प्रतिवाद गर्न चुकेको अवस्था छ । यस्तोमा हाम्रा निर्णय,नीति र कार्यक्रम,पार्टीले गरेका राम्रा काम र पहलकदमीलाई प्रचार गर्दै हाम्रा विरुद्धका अफवाह र भ्रमलाई कसरी चिर्ने भन्ने विषय हाम्रो प्राथमिकतामा पर्नुपर्दछ ।

यसरी एकातर्फ हामीसँग गौरवशाली विरासत, चलायमान संगठन र थुप्रै सबल पक्ष छन् भने अर्कोतर्फ हाम्रा केही सीमा र चुनौती छन् । यो पृष्ठभूमिमा नेपाली कांग्रेसको विभिन्न तहका पार्टीका साथीहरूको विचार र विश्लेषणलाई मनन गर्दा हामीमा प्रमुख रुपमा दुई किसिमका प्रवृत्ति देखिन्छ । पहिलो, आत्मनिन्दा र दोस्रो आत्मश्लाघा ।

पहिलो, जे भइरहेको छ ठिक भइरहेको छैन भन्ने ठहर गर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रस्त छ ।

अर्को, भर्खरै सम्पन्न निर्वाचनहरुमा विजय हासिल गरेर सबैभन्दा ठूलो पार्टी भएका छौं, हामी अभेद्य छौं, हाम्रा चुनौती मसिना छन् भन्ने अतिरेक आत्मश्लघाले ग्रस्त देखिन्छ । ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः पार्टीमा सबै ठिकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ ।

हाम्रो पार्टीभित्र यी दुवै अतिवादी प्रवृत्ति पार्टी संगठनका निम्ति अत्यन्तै घातक छन् । त्यसैले अब हामीले आत्मश्लाघा वा आत्मनिन्दा होइन, इमान्दारितापूर्वक आत्मसमीक्षा, आत्मनिरीक्षण र आत्मसंकल्प गर्नुपर्दछ ।

(कांग्रेस महामन्त्री गगन थापाले ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा पेस गरेको प्रस्तावको सम्पादित अंश)

प्रकाशित : फाल्गुन ८, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?