११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मार्क्सवाद र बहुलवादी खुला समाज

साम्यवादी अवस्था सामाजिक क्रान्ति गरेर ल्याइने होइन, यो स्वतः विकसित हुन्छ । अहिले साम्यवाद अत्यन्त उन्नत स्तरको परिकल्पनाभन्दा अर्थोक होइन ।
वामदेव गौतम

एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनले कम्युनिस्ट आन्दोलनमा पहिलो पटक बहुलवादी खुला समाज निर्माण गर्ने विचार अगाडि सार्‍यो । सोभियत संघमा ७० वर्षसम्म रहेको समाजवादको असफलता र पुँजीवादको पुनःस्थापनापछि नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा निकालिएको आधारभूत निष्कर्ष थियो त्यो ।

मार्क्सवाद र बहुलवादी खुला समाज

सोभियत संघमा समाजवादी व्यवस्था रहँदासम्म बजार आधारित अर्थतन्त्र समाप्त गरिएको थियो । पुँजीवादलाई पुनर्जीवित हुन नदिन पुँजीवादी कारोबार समाप्त गरिएको थियो । जनताका सम्पूर्ण आधारभूत भौतिक आवश्यकता पूरा गरिएको थियो । त्यो समयमा पुँजीवाद पुनर्स्थापनाको सम्भावना छैन भन्ने विचारलाई सैद्धान्तिक र व्यावहारिक रूपमा हर हिसाबले पुष्टि गर्ने कोसिस गरिन्थ्यो । सर्वहारा अधिनायकत्वलाई सुदृढ गरिएको भनिन्थ्यो । सोभियत लालसेनालाई समाजवादको बलियो किल्ला मान्ने चलन यथावत् थियो । तर त्यही समाजवाद र सर्वहारा वर्गको अधिनायकत्व सन् १९९१ मा गर्ल्यामगुर्लुम ढल्यो र सबै क्षेत्रमा पुँजीवाद पुनर्स्थापना भयो । देख्दा मात्र एकै दिनमा समाजवाद ध्वंस भएको जस्तो लागे पनि त्यो सोभियत नमुनाको समाजवादविरुद्ध क्रमशः विकसित हुँदै गएको पुँजीवादकै कारण भएको थियो ।

सर्वहारा अधिनायकत्वको अजय किल्ला मानिने सोभियत लालसेनाको सम्पूर्ण शक्ति समाजवादलाई ढालेर पुँजीवादलाई हरक्षेत्रमा पुनर्स्थापना गर्ने शक्तिमा रूपान्तरित भयो । त्यो लालसेना समाजवादी शासन व्यवस्था भएको पूर्वी युरोप र पूर्वी जर्मनीमा समेत समाजवाद समाप्त गरेर पुँजीवाद स्थापना गर्न परिचालित भयो । सर्वहारा अधिनायकत्वमा क्रमशः विघटनको त्यो अन्तिम रूप थियो । सन् १९१७ को विजयी रुसी सर्वहारा समाजवादी क्रान्ति संसारलाई तरंगित गराउने अपूर्व घटना थियो । सन् १९९१ को सोभियत समाजवादको असफलता र पुँजीवादको पुनर्स्थापना पनि विश्वव्यापी रूपमा तरंग सिर्जना गर्ने घटना थियो । त्यो घटना बाटो हिँड्दा एउटा कमिला कुल्चिएर मरेजत्तिको महत्त्वहीन थिएन । यति गम्भीर विषयको समीक्षा हुनै पर्छ र यसबाट देशदेशका कम्युनिस्ट तथा मार्क्सवादी पार्टीहरूले गहिरिएर अध्ययन, अनुसन्धान र विश्लेषण गर्नैपर्छ । कम्युनिस्ट आन्दोलनमा देखा परेको यो प्रलयकारी घटनाबाट लिइएको गम्भीर शिक्षा हो— बहुलवादी खुला समाजको अवधारणा ।

जहिलेदेखि मानवजाति सचेत रूपमा उत्पादन पद्धतिमा लाग्यो, त्यस बेलादेखि समाज बहुलवादी छ । अहिले पनि समाज प्राकृतिक रुपमै बहुलवादी छ । तर सोभियत संघ र पूर्वी युरोपका समाजवादी मुलुकहरूमा भिन्न मत राख्नेहरूलाई समाप्त गर्ने अनेक कोसिस गरियो । परिणामस्वरूप आज समाजवाद त्यहाँ पराजित भएको छ । रुसमा फरक मत राख्ने नेताहरूलाई देशभित्र मात्र होइन, निर्वासित मुलुकमा समेत जासुस पठाएर मार्नेजस्ता कुकर्म भए । कम्युनिस्ट पार्टीभित्रै गोप्य रूपमा अनेक नेताको हत्या गरियो । आखिरमा सोभियत नमुनाको समाजवादको पनि हत्या गरियो र त्यसको ठाउँमा पुँजीवाद पुनःस्थापना भयो । त्यो घटनाबाट शिक्षा लिएर विकसित गरिएको नयाँ नमुनाको समाजवाद निर्माण गर्ने सिद्धान्त हो— जनताको बहुदलीय जनवाद ।

संस्कृत साहित्यमा बहुचर्चित एउटा उक्ति छ— ‘वादे वादे जायते तत्त्वबोधः ।’ अथवा, भिन्नभिन्न मतहरूबीच छलफलबाटै सही निष्कर्ष निकाल्न सकिन्छ । यो उक्तिले विचारमा रहेको द्वन्द्वात्मकतालाई स्पष्ट र सही रूपमा प्रकट गरेको छ । मार्क्सवादी दर्शनको मूल सिद्धान्त हो— संसारमा आधारभूत तत्त्वका रूपमा भौतिक वस्तु मात्र छ । भौतिक वस्तु कहिल्यै समाप्त हुँदैन, रूप मात्र परिवर्तन हुन्छ । यो निरन्तर परिवर्तन र विकास हुँदै जान्छ । भौतिक वस्तुको विकासको एउटा रूप हो— मानवजाति । यसको पनि निरन्तर परिवर्तन र विकास भइरहेको छ । मार्क्सवादी दर्शनले भन्छ, परिवर्तन परस्पर विरोधी तत्त्वबीच एकता र संघर्षको नियमका आधारमा हुन्छ । यसलाई मार्क्सवादी दर्शनको मुटु मानिन्छ । यो नियम भौतिक वस्तुको निरन्तर परिवर्तन र विकासको अस्तित्वमा आएको हो । नियम बनेपछि भौतिक वस्तु यस्तो परिवर्तन हुन्छ भनिएको होइन, भौतिक वस्तुको अध्ययनपछि त्यसमा अन्तरनिहित नियमलाई वैज्ञानिकहरूले बाहिर ल्याएका मात्र हुन् । यो नियमका अभिन्न अंगका रूपमा अन्य दुई नियम पनि छन् जसको परिवर्तन र विकास पहिले क्रमशः र अन्त्यमा गुणात्मक रूपमा हुने गर्छ । जब विकास हुन्छ, पहिलेभन्दा संख्या र गुणमा समेत विकास भएको देखिन्छ । यिनै नियमहरूलाई मानवजातिको इतिहासमा स्थापित गर्दा बल्ल साँचो इतिहास बाहिर आएको हो । त्यसकै आधारमा मानवजातिको विकासका पाँच चरण आदिम मातृप्रधान समाज, दास–मालिक समाज, सामन्तवादी समाज, पुँजीवादी समाज र समाजवादी समाजको अवस्था संसारले जान्न–बुझ्न सकेको हो ।

मानवजाति विकासका उपर्युक्त पाँच चरणमा हरेक समाजमा विपरीत तत्त्वको एकता र संघर्ष स्पष्ट देख्न सकिन्छ । आदिम मातृप्रधान समाज प्राकृतिक अवस्थाको मानवजातिको चरण थियो । त्यसमा प्रकृति र मानवजातिबीच परस्पर विरोधी एकता र संघर्ष थियो । त्यसपछि मानवजाति कृषि उत्पादनको चरणमा प्रवेश गर्छ । त्यसमा मालिक र दास दुई परस्पर विरोधी वर्गका रूपमा देखा पर्छन् र उनीहरूवीचको संघर्ष विपरीत तत्त्वको संघर्ष र एकताका रूपमा प्रकट हुन्छ । त्यो संघर्षले दासहरूलाई भूदास र मालिकहरूलाई भूमालिकका रूपमा विकसित गर्छ । जब कृषि उत्पादन व्यवसायीकरण हुन्छ, समाज औद्योगिक क्रान्तितर्फ अगाडि बढ्छ । त्यसपछि सामन्तवाद र पुँजीवादविपरीत तत्त्वमा विकसित हुन्छन् । त्यसले सामन्तवादलाई समाप्त गर्छ, पुँजीवाद र सर्वहारा विपरीत तत्त्वका रूपमा देखा पर्छन् । त्यसपछि भूमालिकहरू पुँजीपति वर्गका रुपमा विकसित हुन्छन् भूदासहरू मजदुर वर्गको रूपमा विकसित हुन्छन् ।

परस्पर विरोधी त्यो समाजविपरीत तत्त्वका रूपमा विकसित हुन्छ र संघर्ष अरू तीव्र रूपमा अगाडि बढ्छ । त्यसले समाजवादी समाजको विकास गर्छ र त्यसमा समाजवाद र राष्ट्रिय पुँजीवाद दुई विपरीत तत्त्वका रूपमा देखिन्छन् । जबसम्म समाजवाद रहन्छ, त्यस बेलासम्म विपरीत तत्त्वका रूपमा पुँजीवादको अस्तित्व अपरिहार्य हुन्छ । यहीँनिर सोभियत संघका राजनीतिज्ञ र वैज्ञानिकहरूले अत्यन्त ठूलो गल्ती गर्छन् । उनीहरूले विपरीत तत्त्वका रूपमा रहेको पुँजीवादलाई हरक्षेत्रबाट समाप्त गर्ने कोसिस गर्छन्, परिणामस्वरूप समाजवादको पनि समाप्ति हुन्छ । यस सम्बन्धमा मार्क्स र एंगेल्स स्पष्ट देखिन्छन् । उनीहरूले भनेका छन्— समाजवाद रहँदासम्म भिन्नभिन्न वर्गहरूको अस्तित्व रहनेछ र उनीहरूबीचको मित्रतापूर्ण संघर्ष पनि अनिवार्य हुनेछ । जब समाज चौतर्फी रूपमा विकसित भएर अगाडि बढ्नेछ, राज्यको आवश्यकता समाप्त हुनेछ, समाज स्वचालित रूपमा सञ्चालन हुन सक्नेछ । त्यस अवस्थामा आदिम मातृप्रधान समाजमा मानवजाति र प्रकृतिबीच रहेको मुख्य संघर्ष समाजमा पुनः देखा पर्नेछ । तर त्यो समाज आर्थिक, बौद्धिक, सांस्कृतिक, शारीरिक, गुणात्मक र वैज्ञानिक रूपले पनि पहिलेको भन्दा अत्यधिक विकसित हुनेछ ।

सन् १९१७ को सर्वहारा समाजवादी क्रान्तिभन्दा पहिले रुस साम्राज्यवादी अवस्थामा विकसित भएको मुलुक थियो । समाजवादी क्रान्तिले रुसी सर्वहारा वर्गलाई शासक वर्गमा रूपान्तरण गरेको थियो । वास्तविक रूपमा सत्ता सञ्चालन गर्ने स्थानमा सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै सोभियत कम्युनिस्ट पार्टीका नेताहरू नै पुगेका थिए । सर्वहारा वर्ग मुक्त र राज्यको मालिक भइसकेपछि त्यो त्यही रहँदैन, श्रमजीवी वर्गमा विकसित भएको हुन्छ । समाजमा सबै तह, तप्काका व्यक्तिहरू श्रमजीवी वर्गकै रूपमा विकसित भएका हुन्छन् । श्रमजीवी र शासक वर्गमा रूपान्तरण भइसकेपछि सर्वहारा वर्गको अधिनायकत्व होइन, श्रमजीवी वर्गको राज्यसत्ता स्वाभाविक रूपमा कायम भएको हुन्छ । त्यस्तो परिस्थितिमा पुँजीपति वर्ग राष्ट्रिय पुँजीपति वर्गमा रूपान्तरित भएको हुन्छ । पुँजीवादी समाजमा विकसित भएका अनेकौं समाजोपयोगी संस्कार र संस्कृतिलाई समेत प्रयोग गर्दै अगाडि बढ्नुपर्ने परिस्थिति आउँछ । विश्वव्यापी रूपमा समाजवाद स्थापना नभएको अवस्थामा पुँजीवादी मुलुकहरूसित दौत्य सम्बन्ध कायम गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता पर्छ । उनीहरूसँग अनेकौं प्रकारका सम्बन्ध विकास गर्न आवश्यक पर्छ । इन्कारै गर्न नसकिने व्यापारिक सम्बन्ध अनिवार्य हुन्छ । त्यसले बजार अर्थतन्त्रको आवश्यकतालाई जन्म दिन्छ । समाजवादी व्यवस्थामा योग्यताबमोजिम काम र कामबमोजिम ज्याला अथवा तलबको व्यवस्था हुन्छ । त्यसले आन्तरिक र राष्ट्रिय बजारको आवश्यकतालाई प्रकट गर्दछ । त्यतिखेर सोभियत संघले समाजवादमा अवलम्बन गरिनुपर्ने उत्पादन र वितरणको सही व्यवस्थापनका निम्ति समाजवादी बजार अर्थ व्यवस्था लागू गर्नुपर्दथ्यो ।

सोभियत कम्युनिस्ट पार्टीले यी सबै पक्षलाई नजरअन्दाज गर्‍यो । समाजवादी क्रान्तिपछि जे नहुनु पर्दथ्यो, ती सबै भए । परिणामस्वरूप दोस्रो विश्वयुद्धपछि एकपछि अर्को गर्दै सोभिय संघमा चारैतिर अव्यवस्था देखा पर्‍यो । राष्ट्रिय आम्दानीको ठूलो हिस्सा दोस्रो विश्वयुद्धपछि पनि हतियार र सेनामा खर्च गरियो । आन्तरिक रूपमा कम्युनिस्ट नभए बाँच्न सक्ने स्थिति भएन । आरोप लगाएर मृत्युदण्ड दिने चलन पछिल्लो कालसम्म यथावत् रह्यो । समाजवादी क्रान्तिको सफलतापछिको कालमा पुराना सत्ताधारीहरूलाई खोजीखोजी मृत्युदण्ड दिने काम पनि भयो । आत्मसमर्पण गरेका र जेलमा रहेका पुराना राजपरिवारका सबै सदस्यलाई मृत्युदण्ड दिइयो । लेनिनको मृत्युपछि पनि असहमत व्यक्तिहरूलाई त्यसै गरी हत्या गर्न चलन स्थापित भयो । स्वयं लेनिन त्यसको सिकार हुनुपर्‍यो । व्यक्तिहत्या र आतंकलाई उचित ठान्ने विचार विश्वव्यापी बन्यो ।

भारतमा त्यसको प्रभाव वर्गशत्रु खतम अभियान भन्दै चारु मजुमदार लाइन प्रकट भयो । त्यसकै सिको गर्दै नेपालको झापा संघर्षमा १० व्यक्तिलाई मारेर क्रान्ति सुरु गरेको भनियो । पेरुमा त्यस्तै गरियो । प्रचण्ड नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा १७ हजार नेपालीको प्राण समाप्त भयो । त्यसमा एमालेका ३ सय निहत्था नेता मारिए । नेपाली कांग्रेसका समर्थकदेखि नेतासम्म ४ हजार निहत्था व्यक्ति मारिए । आफ्ना विरोधीहरूको हत्या गरेर क्रान्ति सम्पन्न हुने सिद्धान्तमा आधारित हुँदा दोस्रो विश्वयुद्धमा सोभियत संघका करिब ६ करोड नेता तथा जनता मारिए । अमेरिकाको उक्साहटमा दोस्रो विश्वयुद्धपछि इन्डोनेसियाका लोकप्रिय नेता तथा राष्ट्रपति सुकार्नोको हत्या गरियो र कम्युनिस्ट पार्टीका ६ लाख सदस्यसहित नेताहरूको हत्या गरियो । मलेसियामा ठूलो संख्यामा कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको हत्या गरियो ।

थाइल्यान्डमा पनि उल्लेख्य कम्युनिस्टहरूको हत्या गरियो । दोस्रो विश्वयुद्ध समाप्त भएको केही कालपछि बर्मामा कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा संयुक्त सरकार बनेको थियो । त्यहाँ पनि अमेरिकाकै उक्साहटमा राष्ट्रपतिसहित ठूलो संख्यामा कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको हत्या गरियो । हत्या–प्रतिहत्याको यो शृंखला मानवजातिको विकासका निम्ति अत्यन्त घातकसिद्ध भएको छ । दोस्रो विश्वयुद्धपछि, खासगरी सन् १९६० पछि भएका सबै सर्वहारा वर्गीय संघर्षहरू असफल भएका छन् । नेपालमा भने संसदीय संघर्षमा सामेल भएको नेकपा (एमाले) को मुख्य भूमिका र नेपाली कांग्रेसको समर्थनका कारण माओवादी जनयुद्धलाई शान्तिमा रूपान्तरण गर्न सकियो ।

सोभियत संघको उदयपछि एंगेल्सको राज्य पनि परिवर्तनशील हुन्छ भन्ने भनाइलाई बेवास्ता गरियो । परिवर्तन हुन्छ भन्ने एउटा प्रमाण समाजवादी क्रान्ति सम्पन्न गर्ने एउटा मुख्य शक्ति जारशाही शासनकालमा स्थापित गरिएको रुसी सेनाको ठूलो हिस्साले क्रान्ति सम्पन्न गर्न र त्यसको रक्षा गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको विषयको महत्त्वलाई कहिल्यै आत्मसात् गरिएन । त्यसबाट सकारात्मक निष्कर्ष निकाल्ने कोसिस पनि भएन । त्यस बेला गठन गरिएको लाल सेनाको मुख्य भाग नै जारशाही कालमा विकसित भएको रुसी सेना नै थियो । यी सबै तथ्यको सही मूल्यांकन कहिल्यै गरिएन । यी सबैको परिणाम थियो— सन् १९९१ मा सोभियत समाजवादको असफलता, सोभियत संघको विघटन र पुँजीवादको पुनःस्थापना । राज्य पनि निरन्तर परिवर्तन र विकास हुन्छ भन्ने अर्को ज्वलन्त प्रमाण हो— शान्तिपूर्ण जनक्रान्ति र वैधानिक व्यवस्थाबाट नेपालमा २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा । त्यसपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको छ । तर पनि यो तथ्यलाई अनदेखा गरी फेरि हतियारबन्द संघर्षबाट राज्य कब्जा गर्ने, त्यसलाई ध्वस्त गर्ने र सर्वहारा वर्ग नेतृत्वको एकदलीय समाजवाद निर्माण गर्ने विचारलाई कदापि उचित मान्न सकिन्न ।

सोभियत समाजवादको असफलतापछि चीन, भियतनाम, क्युबा र लाओसले अर्थतन्त्रमा राष्ट्रिय पुँजीवादलाई क्रमशः पुनःस्थापना गरिरहेका छन् । तर राजनीतिमा सर्वहारा अधिनायकत्व लागू छ । अर्थतन्त्रमा पुँजीवाद अवलम्बन गर्दा नयाँ पुँजीपति वर्गको उदय भइरहेको छ । कुनै पनि राष्ट्र एक्लै साम्यवादमा प्रवेश गर्न सक्दैन । त्यस्तो अवस्थामा नयाँ उदाइरहेका राष्ट्रिय पुँजीपतिहरूलाई राजनीतिमा स्थान दिनैपर्ने हुन्छ । राज्यसत्ताको द्वन्द्वात्मकता निर्वाह गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली पुनःस्थापना हुने पक्का छ । राजनीतिलगायत सबै उपरी ढाँचाहरूको आधारभूत तहमा अर्थतन्त्रले काम गरिरहेको हुन्छ । अर्थतन्त्र मिश्रित भएपछि राजनीति पनि मिश्रित हुनु अनिवार्य हुन्छ भनेर सबै मार्क्सवादीले बुझ्ने र तदनुरुप व्यवहारमा परिणत हुने परिस्थिति आउने अवश्यम्भावी छ ।

आजको युग राजनीतिक प्रतिस्पर्धाको युग हो । यसलाई अस्विकार गरेर अगाडि बढ्नै सकिन्न । प्रतिस्पर्धामा जानुको विकल्प छैन । मानव समाजको प्रारम्भिक इकाइ व्यक्ति हुन्छ । त्यसका छुट्टै कतिपय स्वार्थलाई सम्बोधन नगरी अगाडि बढ्न सकिन्न । व्यक्तिगत स्वतन्त्रताले सिर्जनात्मक क्षमतालाई विकास गर्न मद्दत गर्छ । मानवीय आवश्यकताबमोजिम विकसित हुने विचारहरूलाई कैद गरेर अबको युगमा कसैले पनि शक्ति आर्जन गर्न सक्दैन र राज्य विकसित पनि हुन सक्दैन । त्यो बाटोबाट राज्यको रक्षा पनि गर्न सकिन्न । आज संसारभरि रहेका जुनसुकै समाज किन नहोऊन्, एकल विचारवादी बनाउन सकिन्न । आज पनि समाज बहुलवादी छ, भोलि पनि बहुलवादी नै हुनेछ ।

जबसम्म पृथ्वीमा मानिसको अस्तित्व रहनेछ, बहुलवादी नै हुनेछ । यो सार्वभौम सत्य हो । हरेक जीव र निर्जीव ठूला र साना वस्तुको एकअर्कासंग बहुपक्षीय सम्बन्ध छ र नै पृथ्वीमा मानवजातिको अस्तित्व छ । पृथ्वीमा मानिस र अन्य वस्तुको सम्बन्ध एकअर्काको गुरुत्वाकर्षणमा निर्भर छ । यो सौर्य मण्डलको अस्तित्व ४ हजारभन्दा धेरै सौर्य मण्डलमा रहेको गुरुत्वाकर्षण शक्तिसँग सम्बन्धित छ । त्यसो भएर मानिसका विचारहरू पनि अनेक पक्षसँग सम्बन्धित छन् । तिनको वैचारिक स्वतन्त्रता स्वतः स्थापित सत्य हो । मानव समाज आफैं बहुलवादी छ, एकलवादी बनाउन सकिन्न र कहिल्यै सकिने छैन ।

आज अगाडि रहेका समाजवादी मुलुकहरूको असफलता जबर्जस्ती समाजलाई एकलवादी बनाउने प्रयत्नकै परिणाम हो । यो युगमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीबाट मात्र समाजवाद निर्माण गर्न सकिन्छ । त्यसको संरक्षण गर्न पनि सकिनेछ । साम्यवादी अवस्था सामाजिक क्रान्ति गरेर ल्याइने होइन, यो स्वतः विकसित हुन्छ । अहिले साम्यवाद अत्यन्त उन्नत स्तरको परिकल्पनाभन्दा अर्थोक होइन ।

प्रकाशित : माघ २८, २०८० ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?