१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

संसारमा जहाँ लडाइँ हुन्छ, नेपाली किन मारिन्छन् ?

सम्पादकीय

कहिले बर्मा र मलायामा नेपाली मारिए, कहिले फोकल्यान्डमा । कहिले श्रीलंकामा मारिए, कहिले कश्मीरमा । इराक, अफगानिस्तान, इजरायल र युक्रेनमा पनि । २०८ वर्षअघि भएको सुगौली सन्धियता नेपाल कुनै देशसँग युद्धमा छैन तर संसारमा जोसुकैबीच युद्ध हुँदा पनि नेपाली मारिने क्रम जारी छ ।

संसारमा जहाँ लडाइँ हुन्छ, नेपाली किन मारिन्छन् ?

पहिलो र दोस्रो युद्धमा करिब तीन लाख नेपाली सहभागी भए, जसमध्ये ६५ हजार कहिल्यै फर्किएनन् । पछिल्लो घटनाक्रममा पनि दुई महिनाअघि दक्षिणी इजरायलमा १० नागरिक गुमाएको नेपालले रुस–युक्रेन युद्धमा ६ नेपाली गुमाएको पुष्टि भएको छ । असंलग्न परराष्ट्र नीति अंगीकार गरेको सार्वभौम नेपालका नागरिक संसारका सबैजसो युद्धको चपेटामा पर्नु साँच्चै विडम्बना छ ।

नेपालदेखि करिब ५ हजार किलोमिटर टाढा रुस र युक्रेनबीच झन्डै दुई वर्षदेखि भीषण युद्ध चलिरहेको छ । युद्धसँग नेपालको प्रत्यक्ष कुनै साइनो छैन तर त्यहाँ नेपाली नागरिकको पनि मृत्यु भएको खबर आइरहेको छ । रुसी सेनाका तर्फबाट युद्धमा होमिँदा ६ नेपालीको ज्यान गएको छ भने रुसका तर्फबाट युद्धमा खटिएका बर्दिया र काभ्रेका दुई युवालाई युक्रेनी सेनाले बन्दी बनाएको छ । अरू कति नेपाली सम्पर्कविहीन भएका खबर पनि आएका छन् । यी दर्दनाक खबर आइरहँदा विभिन्न बाटोबाट रुसतर्फ नेपालीहरू गइरहेको जानकारी पनि आइरहेका छन् । यसले समाजलाई साँच्चै चिन्तित बनाएको छ ।

आठ वर्ष लामो तनावबीच २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको दुई वर्ष पुग्दै छ । सोचेअनुसार युद्धअनुकूल नहुँदा रुसले सैनिक संख्या बढाउन नयाँ–नयाँ नीति ल्याइरहेको छ । रुसी सेनामा एक वर्ष काम गरे त्यहाँको नागरिकता सहजै लिन पाउने र परिवारका सदस्य पनि लग्न मिल्ने नीति ल्याइएको छ । ‘आकर्षक’ आम्दानी र नागरिकता प्राप्तिको सहज बाटो देखेर नेपाली युवा पनि रुसी सेनामा भर्ती हुन गएको देखिन्छ । रुसको यस्तो नीतिलाई रुसी र नेपाली मानव तस्करले ‘स्किम’ का रूपमा प्रचार गरिरहेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मात्र सैनिक संख्या १ लाख ७० हजारले वृद्धि गर्ने घोषणा गरेका छन्, जसका कारण नेपाली युवालाई रुस पुर्‍याएर भर्ती गराउने धन्दा अझै मौलाउने सम्भावना बढेको छ ।

रुसमा पढिरहेका कतिपय युवा पनि युद्धतर्फ सोझिएका छन्, दलालको फन्दामा परेर सोझै वा अन्य मुलुकबाट रुस पुगेका नेपाली युवा सेनामा भर्ती हुने गरेका छन् । तर, यस्ता नेपालीको संख्या कति छ भन्ने आधिकारिक जानकारी रुसले दिएको छैन । नेपाल सरकारले आफ्ना नागरिकलाई त्रिभुवन विमानस्थल हुँदै रुस जान रोक लगाएको छ तर भारत (नयाँदिल्ली) वा तेस्रो मुलुक हुँदै रुस पुग्ने क्रम रोकिएको छैन । त्यसमध्ये कोही जानीबुझी नै भर्ती भएका होलान् भने कतिपयलाई झुक्याएर युद्धमा खटाइएको छ । यसको उदाहरण सप्तरीका सन्तोष यादव हुन् । रुसी सेनाको सहयोगीका रूपमा काम गर्ने भनेर आफूहरूलाई ‘रेड जोन’ को ‘फ्रन्टलाइन’ मा पठाइएको गुनासो उनले गरेका छन् । यादव करार सम्झौता रद्द गरेर फर्कन चाहन्छन् तर रुसी सेनालाई शुल्क तिर्नुपर्ने सर्तले उनलाई बाँधेको छ ।

स्वैच्छिक होस् वा परिबन्दमा परेर, रुसी सेनामा नेपाली युवाको भर्ती गैरकानुनी हो । भारत र बेलायत सरकारसँग सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिबाहेक नेपालले आफ्ना नागरिक कुनै तेस्रो देशको सेनामा भर्ती गर्ने सम्झौता गरेको छैन । सन् १९४७ कै त्रिपक्षीय सम्झौतासमेत पुनरावलोकनको आवाज उठिरहेको छ । यसैबीच भारतले आफ्नो सैन्य संरचना फेरबदल गर्दै अग्निपथ ल्याएपछि त्यहाँको सेनामा नेपालीको भर्तीसमेत रोकिएको छ ।

यस्तो अवस्थामा थप नयाँ मुलुकमा सैन्य भर्तीका लागि सन्धि– सम्झौता हुने सम्भावना छैन, गर्नु पनि हुँदैन । त्यसैले रुस वा अन्य मुलुकको सेनामा नेपालीको भर्ती अवैध हो । रुसले पनि नेपाली युवालाई भर्ती गरेको विषयमा नेपाल सरकारलाई औपचारिक जानकारी दिएको छैन । नेपाली नागरिकलाई त्यहाँको सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई तत्काल स्वदेश फर्काउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले रुसलाई कूटनीतिक नोट पठाएको छ । तर यो नोट पठाउँदैमा नेपाल सरकारको जिम्मेवारी पूरा भएको छैन, किनकि युद्ध र भर्ती जारी छ । त्यसैले नेपालले रुससँग प्रत्यक्ष कूटनीतिक पहल गर्नुपर्छ । काठमाडौं र मस्कोमा एकापसका दूतावास भएकाले पनि यी संयन्त्रलाई तत्काल सक्रिय बनाउनुपर्छ ।

युक्रेनमा बन्धक बनाइएका नेपाली युवकको रिहाइका लागि पनि कूटनीतिक सक्रियताको खाँचो छ । त्यस्तै, युद्धमा जसको मृत्यु भइसकेको छ, उनीहरूको शव स्वदेश ल्याउन र परिवारजनलाई राहत दिलाउन सरकारले पहल गर्न आवश्यक छ । तर यी तत्कालको समस्या सम्बोधनका लागि चालिने कदम मात्रै हुन् र यो पर्याप्त पनि छैन ।

नेपाली युवा किन आफ्नो ज्यान नै जोखिम पार्दै अर्को मुलुकका लागि युद्धमा होमिन बाध्य भइरहेका छन् भन्ने विषयमा राज्यले आत्ममन्थन गर्नुपर्छ । त्यसको दीर्घकालीन समाधान खोज्नुपर्छ । मुलुकमा भ्रष्टाचार अन्त गरी सुशासन कायम भए, उद्योग–व्यवसायका लागि अनुकूल वातावरण बनाइदिए, स्वदेशी–विदेशी लगानी प्रोत्साहनमार्फत रोजगारीका प्रशस्त अवसर सिर्जना गरिदिए, विकास निर्माणलाई तीव्रता दिए धेरै युवाले स्वदेशमै आफ्नो भविष्य देख्न सक्छन् । जीविकाका लागि परिवार, घर र देशै छाडेर कोही कसैका लागि लड्ने अवस्था अन्त हुन जरुरी छ ।

प्रकाशित : मंसिर २२, २०८० ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?